शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

संविधान कार्यान्वयनका लागि काँग्रेसले जित्नुपर्छः नेता थापा

बुधबार, २७ वैशाख २०७४, १८ : २१
बुधबार, २७ वैशाख २०७४
काठमाडौँ, वैशाख २७ – नेपाली काँग्रेसका नेता गगनकुमार थापाले संविधानको सफल कार्यान्वयन लागि स्थानीय तहको निर्वाचनमा काँग्रेसले जित्नैपर्ने बताए । काँग्रेसको प्रचारप्रसार उपसमितिले आज नेपाल प्रेस युनियनको कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता थापाले संविधान कार्यान्वयनको दायित्व पनि आफ्नो पार्टीसँग भएकाले काँग्रेस विजयी हुनुपर्ने तर्क गरे । संविधान कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि अहिलेको सत्ता गठबन्धन बनेको प्रसङ्ग उल्लेख गर्दै नेता थापाले भने, ‘स्थानीय तहको निर्वाचनलाई सफल पार्न सत्ता साझेदार दलसँग कतिपय स्थानमा चुनावी गठबन्धन गरिएको हो ।’ अहिलेकै सत्ता गठबन्धन अनुसार सहज रुपमा जेठ पहिलो साता काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने जानकारी गराउँदै नेता थापाले उक्त सरकारले संविधानको समयसीमाभित्र प्रदेश र सङ्घको निर्वाचन गर्ने धारणा व्यक्त गरे। स्थानीय तहको निर्वाचनमा अतिवाद र मध्यमार्गीबीचमा प्रतिस्पर्धा हुने उनको भनाइ थियो । केही दलले अदृश्य रुपमा जातिवाद र धर्मका नाममा मुलुकमा विखण्डनको भावना ल्याउन खोजेको भन्दै उनले त्यसलाई परास्त गर्न पनि काँग्रेसका उम्मेदवारले जित्नुपर्ने धारणा व्यक्त गरे । काँग्रेसको पहलमा पहिलो चरणको निर्वाचनमा सङ्घीय समाजवादी फोरम नेपालले निर्वाचनमा भाग लिएको अवगत गराउँदै उहाँले जेठ पहिलो साताभित्र संविधान संशोधन गरी राष्ट्रिय जनता पार्टी नेपाललाई पनि दोस्रो चरणको निर्वाचनमा ल्याउने विश्वास दिलाउनुभयो । विभिन्न स्थानमा पार्टीको प्रचारप्रसारका क्रममा पार्टीका उम्मेदवारमाथि आक्रमण तथा गाडी जलाइएको र झडप भएकाप्रति काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले पार्टीको संयमता र धैर्यतालाई कमजोरी नठान्न पनि चेतावनी दिनुभयो । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न काँग्रेस प्रतिबद्ध रहेको बताउँदै उहाँले अन्य दललाई पनि संयमता अपनाउन आग्रह गर्नुभयो । निर्वाचनमा काँग्रेसप्रति जनताको ठूलो उत्साह र सहभागिता देखिएको दाबी गर्दै नेता थापाले भन्नुभयो, “निर्वाचनपछि सबल र स्रोत साधन सम्पन्न स्थानीय सरकार बन्नेछन् ।” रासस ९श्रव्य सामग्री उपलब्ध छ०

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप