प्रहरीको जागिर चुनौतीपूर्ण र अपजसी हुन्छ : मदनकृष्ण श्रेष्ठ
सारांश
- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रहरी सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताएका छन्।
- उनले प्रहरीको कार्यप्रकृतिलाई निकै 'अपजसी' र कठिन जागिरको रूपमा चित्रण गर्दै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरीको भूमिका महत्वपूर्ण हुने बताए।
- श्रेष्ठले नेपालमा सडक अनुशासन र ट्राफिक व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय स्तरको चालक संस्कार आवश्यक रहेको औँल्याउँदै यसमा जनचेतना र सहकार्यको खाँचो औँल्याए।
काठमाडौँ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रहरी सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताएका छन्।
शुक्रबार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रहरीको भूमिका र सडक अनुशासनका विविध पक्षमा आफ्नो धारणा राखेका हुन्।
प्रहरीको कार्यप्रकृतिबारे चर्चा गर्दै श्रेष्ठले यसलाई निकै ‘अपजसी’ र कठिन जागिरको रूपमा चित्रण गरे। प्रहरीको कार्यभारबारे बोल्दै उनले भने, ‘प्रहरीको जागिर निकै चुनौतीपूर्ण र अपजसी हुन्छ। बिहानदेखि ट्राफिक व्यवस्थापन गर्नुपर्छ, आवश्यक पर्दा कडाइ पनि गर्नुपर्छ, फेरि प्रहरी सबैको मित्र भन्ने भावनासहित मुस्कुराएर सेवा पनि गर्नुपर्छ। यो साँच्चै कठिन जिम्मेवारी हो।’
आफ्नो देशको प्रहरीको उपस्थितिले मात्रै नागरिकले सुरक्षित महसुस गर्ने उनको तर्क छ। वि.सं. २०३२ सालमा भारतको लखनउ भ्रमण गर्दा स्थानीयबाट ठगिनुपरेको व्यक्तिगत अनुभव सुनाउँदै उनले पराई मुलुकमा सुरक्षाको प्रत्याभूति पाउन कठिन हुने तर स्वदेशमा प्रहरी भएकै कारण नागरिक ढुक्कसँग बस्न सकेको उल्लेख गरे।
उक्त अनुभव स्मरण गर्दै उनले थपे, ‘प्रहरी भएकै कारण हामी आफ्नै देशमा सुरक्षित महसुस गर्छौँ। विदेश जाँदा ठगी र विभिन्न समस्याको सामना गर्नुपर्छ। मलाई सम्झना छ, धेरै वर्षअघि लखनउ जाँदा रिक्सा चालकदेखि पसलसम्म धेरै ठाउँमा ठगिएको अनुभव भएको थियो। त्यसले आफ्नै देशमा प्रहरीको उपस्थितिको महत्त्व अझ बढी महसुस गरायो।’
सडक अनुशासन र ट्राफिक व्यवस्थापनका विषयमा बोल्दै श्रेष्ठले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको चालक संस्कार आवश्यक रहेको औँल्याए। विदेशमा चालकहरूले अरूलाई प्राथमिकता दिने संस्कार रहेको उल्लेख गर्दै उनले नेपालमा पनि लेन अनुशासन, गतिको पालना र लाइटको सही प्रयोगबारे थप शिक्षा दिनुपर्नेमा जोड दिए।
ट्राफिक संस्कारबारे बोल्दै उनले भने, ‘ट्राफिक व्यवस्थापनका सन्दर्भमा पहिले तिमी भन्ने संस्कार विकास गर्न आवश्यक छ। विदेशमा सवारी चालकले बत्ती बालेर अर्को सवारीलाई पहिले जान सङ्केत गर्छन्, तर हाम्रोमा प्रायः आफू पहिले जान खोज्ने प्रवृत्ति देखिन्छ। यस्तो ट्राफिक संस्कार बिस्तारै सिकाउँदै लैजानुपर्छ।’
प्रहरीले चालेका सकारात्मक कदमहरूलाई जनताले पूर्ण रूपमा साथ दिएको उनको ठम्याइ छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउने र अनावश्यक हर्न बजाउने प्रवृत्ति घट्नुलाई उनले उदाहरणका रूपमा प्रस्तुत गरे। ट्राफिक सुधारका लागि प्रहरीसँगै नागरिकको सचेतना र सहकार्य उत्तिकै आवश्यक रहेको उनले बताए।
सडक अनुशासन र यस्ता सुधारका कार्यहरूमा जनचेतना फैलाउन कलाकारहरूको पनि महत्त्वपूर्ण भूमिका रहने भन्दै श्रेष्ठले आगामी दिनमा पनि चेतनामूलक कार्यहरूमा आफ्नो सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश शर्मालाई सर्वोच्च अदालतमा स्वागत
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण