आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री दुई विकल्पमा सरकार छाड्न तयार, जान्नुहोस् के छन् ती विकल्प

बुधबार, ०३ जेठ २०७४, १३ : ०८
बुधबार, ०३ जेठ २०७४

जेठ ३, काठमाडौं– काँग्रेस–माओवादीबीच गत साउनमा सत्ता गठबन्धन हुँदा स्थानीय तहको चुनावपछि सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति बनेको थियो । प्रधानमन्त्री प्रचण्ड आफैले पनि पहिलो चरणको चुनावलगत्तै नेतृत्व हस्तान्तरण गर्ने बताएका थिए । पहिलो चरणको चुनावी मतपरिणाम आउने क्रम जारी रहँदा भित्र–भित्र सरकार परिवर्तनका विषयमा पनि शीर्ष नेताबीच आन्तरिक छलफल शुरु भएको छ ।

त्यसो भए प्रधानमन्त्री प्रचण्डले कहिलेसम्म राजीनामा दिन्छन् र काँग्रेस सभापति शेरबहादुर देउवा कहिले प्रधानमन्त्रीमा निर्वाचित हुन्छन ? पहिलो चरणको चुनावको मतगणना जारी रहँदा राजनीतिकवृतमा यो विषयले प्रवेश पाएको छ । प्रधानमन्त्री प्रचण्डले चाहीँ राजीनामाको मिति ठ्याक्कै नतोकिएको बताए । ‘ठ्याक्कै यसै दिन भन्ने भएको छैन । म बाटो खुला गर्छु, शेरबहादुरजीले जुन विकल्प दिनुहुन्छ, त्यहीँ विकल्पमा जान्छु ।’ रातोपाटीसँगको टेलिफोन कुराकानीमा प्रधानमन्त्रीले भने, ‘चुनाव सम्पन्न गरेर मैले मेरो कार्यभार पूरा गरेको छु । अव सहमति अनुसार नै सत्ता हस्तान्तरण गर्छु । मलाई कुनै लोभ छैन ।’

प्रधानमन्त्री प्रचण्डले शेरबहादुर देउवाको विकल्प अनुसार बाटो छाड्न तयार रहेको बताएर केही संकेत गरेका थिए । त्यसपछि हामीले ती विकल्प के हुन सक्छन भनेर प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार चन्द्रप्रसाद खनाल बलदेवसँग कुरा गरेका थियौँ ।  बलदेवका अनुसार, प्रचण्डकै नेतृत्वमा दोस्रो चरणको चुनाव गराउन देउवा तयार भए प्रधानमन्त्री यसका लागि पनि तयार छन् । बलदेव आफु चाहीँ काँग्रेसले यो विकल्प र सुविधा दिने सम्भावना कम देख्छन् ।

बलदेवका अनुसार, प्रधानमन्त्री देउवाले भने अनुसार कुनै पनि दिन राजीनामा दिएर नेतृत्व हस्तान्तराका लागि बाटो खोल्न तयार छन् । बलदेव आफु राजनीतिक यहीँ विकल्पमा अगाडि बढ्ने देख्छन् । ‘तपाईंहरु छाड्नुस भन्दा वित्तिकै प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्छ ।’ बलदेवले रातोपाटीसँग भने, ‘हामी काँग्रेसले दिने विकल्पमा अगाडि जान्छौँ ।’

काँग्रेस र माओवादीबीच काम प्रचण्ड नेतृत्वकै सरकारले बजेट ल्याउने सहमति भएको छ । तर, यस्तो बजेट काम चलाउ सरकारको हुने दुवै पार्टीका नेताहरुले बताएका छन् ।

यस्तो सहमतिलाई आधार मान्ने हो भने १६–१७ गतेतिर काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सक्छन् । त्यहीँ मितिमा नयाँ प्रधानमन्त्रीको निर्वाचन हुने गरी प्रधानमन्त्री प्रचण्डले राजीनामा गर्न सक्छन् । यस्तो भयो भने ८–९ गतेतिर प्रधानमन्त्री प्रचण्डको राजीनामा आउन सक्छ ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई राजीनामा पत्र बुझाएपछि शुरुमा राष्ट्रपतिले सहमतिको सरकारका लागि शुरुमा तीन दिनका समय दिन्छिन् । तीन दिनमा सहमति नजुटे र राजनीतिक दलहरुले अरु केही समय माग गरे राष्ट्रपतिले दोस्रो पटक पनि सहमतिको सरकारका लागि समय दिन सक्छिन् । तर, यो कोर्समा राजनीति जाने सम्भावना कम छ ।

राष्ट्रपतिले दिएको पहिलो तीन दिनमा सहमतिको सरकारका लागि दलहरुबीच सहमति नजुटे राष्ट्रपतिले बहुमतिय सरकारका लागि चार दिनको समय दिएर आव्हान गर्न सक्छिन् । त्यहीँ अनुसार संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनका लागि संसदको कार्यसूचि बनाउँछ । र, चौथो दिन प्रधानमन्त्री चयन हुन सक्छन् । यसरी प्रधानमन्त्रीले राजीनामा दिएका एक सातामा देशले नयाँ प्रधानमन्त्री पाउँछ । यसकारण जेठको १६–१७ गतेसम्म देशले नयाँ प्रधानमन्त्री पाउने सम्भावना छ ।

हिजो सरकारका एक मन्त्रीले प्रधानमन्त्रीले दुई दिन भित्र राजीनामा दिने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने बताएका थिए । खानेपानी तथा सरसफाई मन्त्री दिपक खड्काले प्रधानमन्त्री दाहालले बिहीबार सांझ राजीनामा गर्ने बताएका थिए । राजीनामा पछि दुई तिहाई वहुमत सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा मन्त्रीमण्डल गठन हुने उनको भनाई थियो ।

चुनावपछि प्रधानमन्त्रीको पहिलो प्रतिक्रिया : काँग्रेस–एमालेले जित्दा पनि प्रचण्ड देखिए औधी खुसी !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप