विश्वकप फाइनलमा किन अर्जेन्टिना हारोस् भनिरहेको छ ल्याटिन अमेरिका ?
सारांश
- सामान्यतया फिफा विश्वकपमा माथिसम्म पुग्ने ल्याटिन अमेरिकी टोलीहरूलाई अन्य मुलुकका समर्थकले साथ दिने परम्परा रहे पनि यसपटक अर्जेन्टिनाको विपक्षमा अधिकांश ल्याटिन अमेरिकी समर्थक उभिएका छन् ।
- डिजिटल युग र सामाजिक सञ्जालले अर्जेन्टिना फिफा तथा विश्व फुटबल महासंघका अध्यक्ष जियानी इन्फान्टिनोको प्रिय टोली भएको भन्ने धारणा फैलाएको छ, जसले गर्दा अर्जेन्टिनाप्रति पहिले देखिने क्षेत्रीय ऐक्यबद्धता कमजोर भएको छ ।
- अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेइको राजनीतिक छवि र विगतमा जातीय विभेदपूर्ण व्यवहार गरेको आरोपजस्ता कारणले पनि केही समर्थकमा अर्जेन्टिनाप्रति नकारात्मक भावना बढेको छ ।
काठमाडौँ । सामान्यतया फिफा विश्वकप प्रतियोगितामा माथिसम्म पुग्ने ल्याटिन अमेरिकी टोलीहरूलाई क्षेत्रीय एकताको भावनाले पनि अन्य ल्याटिन अमेरिकी मुलुकका समर्थकले साथ दिने परम्परा रहँदै आएको छ । यसपटक सामाजिक सञ्जालमा भाइरल भएका मीम, व्यङ्ग्य र आलोचनाले एउटा अपवाद स्पष्ट पारेको छ । त्यो अपवाद हो– मेस्सीको अर्जेन्टिना ।
अहिले अधिकांश ल्याटिन अमेरिकी समर्थक अर्जेन्टिनाको विपक्षमा छन् । भाइरल बनेको एउटा सम्पादित तस्बिरमा अर्जेन्टिनाको फाइनल प्रतिद्वन्द्वी स्पेनका युवा स्टार लामिन यामाललाई ब्राजिलको जर्सी लगाइएको देखाइएको छ, जसमा लेखिएको थियो, ‘ब्राजिली जनताको आशा ।’
यो भावना केवल पेलेको ब्राजिल र डिएगो म्याराडोनाको अर्जेन्टिनाबिचको ऐतिहासिक प्रतिस्पर्धासम्म सीमित छैन । मेक्सिको, कोलम्बिया, चिलीलगायत धेरै देशका समर्थकले आइतबार हुने फाइनलमा लियोनल मेस्सीको अर्जेन्टिना पराजित होस् भन्ने चाहना व्यक्त गरिरहेका छन् ।
यस्तै अवस्था सन् २०२२ को कतार विश्वकपअघि पनि देखिएको थियो, जहाँ अन्ततः अर्जेन्टिनाले आफ्नो तेस्रो विश्वकप उपाधि जितेको थियो । कोलम्बियाली समाजशास्त्री जर्मन गोमेजका अनुसार अर्जेन्टिनाप्रति पहिले देखिने क्षेत्रीय ऐक्यबद्धता अहिले कमजोर भएको छ ।
उनका अनुसार डिजिटल युग र सामाजिक सञ्जालले अर्जेन्टिना फिफा तथा विश्व फुटबल महासंघका अध्यक्ष जियानी इन्फान्टिनोको प्रिय टोली भएको भन्ने धारणा फैलाएको छ । साओ पाउलोमा विश्वकप स्टिकर साटिरहेका ब्राजिली समर्थक फ्रान्सिस्को सान्तोसले भने, ‘अर्जेन्टिनाले रेफ्रीको साथ पाएको छ ।’
उनले भने, ‘यदि ब्राजिल छैटौँ पटक विश्व च्याम्पियन बन्न सकेन भने म अर्जेन्टिनाले चौथो उपाधि जितेकोभन्दा स्पेनले दोस्रो उपाधि जितेको हेर्न चाहन्छु ।’
अर्जेन्टिनाले पेनाल्टी, पहेँलो कार्ड वा रातो कार्डजस्ता निर्णयमा फाइदा पाएको आलोचकहरूको आरोप छ । यद्यपि यस्ता धेरै निर्णयलाई फिफा र स्वतन्त्र फुटबल विज्ञहरूले सही ठहर गरेका छन् ।
कोलम्बियाको राजधानी बोगोटाका २८ वर्षीय बैंकका कर्मचारी जुआन कामिलो अबुसाइदले भने, ‘हामी स्पेनलाई समर्थन गर्नेछौँ ।’
धेरै ‘राजनीतिक’ भयो विश्वकप
मेक्सिको सिटीका ५१ वर्षीय प्रहरी अधिकृत एन्टोनियो लोपेजले मेस्सीलाई फुटबलका ‘महान् खेलाडी’ माने पनि रेफ्रीको भूमिकाबारे प्रश्न उठाए ।
उनले भने, ‘यदि मैदानमा पसिना बगाएर दुई पटक विश्व च्याम्पियन बन्छन् भने म स्वीकार्छु, तर रेफ्रीले सहयोग गरेर जित्ने हो भने स्वीकार्दिनँ ।’
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले ‘फाइनलमा कुन टोलीलाई समर्थन गर्ने ?’ भनेर पत्रकार सम्मेलनमा प्रश्न सोध्दा अधिकांशले हाँस्दै ‘स्पेन! स्पेन!’ भनेर जबाफ दिएका थिए ।
मेक्सिकोका खेलसम्बन्धी सामाजिक अध्ययनका विज्ञ तथा मानवशास्त्रका प्राध्यापक होर्खे नेग्रोएका अनुसार यो विश्वकप निकै राजनीतिक बनेको छ ।
कोलम्बियाली समाजशास्त्री गोमेजका अनुसार म्याराडोनालाई फिफाको शक्तिसँग लड्ने विद्रोहीका रूपमा हेरिन्थ्यो भने अहिलेको धारणा अनुसार मेस्सी ‘फिफाका गोल्डेन ब्वाय’ (प्रिय पात्र)बनेका छन् ।
राजनीतिक कारणले पनि असन्तुष्टि
अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेइको राजनीतिक छविले पनि केही समर्थकमा अर्जेन्टिनाप्रति नकारात्मक भावना बढाएको छ । चिलीको सान्टियागोका २९ वर्षीय कृषि प्रयोगशालाका कर्मचारी राशिद स्जोबेर्गले भने, ‘मलाई हाभियर मिलेइ पटक्कै मन पर्दैन । अर्जेन्टिनाले जितेपछि उनले त्यसको राजनीतिक श्रेय लिने कुरा मलाई मन पर्दैन ।’
अर्जेन्टिनी समर्थक र केही खेलाडीमाथि विगतमा जातीय विभेदपूर्ण व्यवहार गरेको आरोप पनि लाग्दै आएको छ । उदाहरणका लागि, फ्रान्सेली अश्वेत खेलाडीहरूलाई लक्षित गर्दै टोलीले विगतमा गाएको एउटा गीत निकै विवादित बनेको थियो ।
ब्राजिली समर्थक वा अश्वेत खेलाडीहरूमाथि केरा फ्याँक्ने वा बाँदरको हाउभाउ देखाउने घटनाहरू पनि दक्षिण अमेरिकी क्लब फुटबलमा पटक–पटक देखिएका छन् ।
यस विश्वकपका क्रममा पनि अर्जेन्टिनी समर्थकले अमेरिकी अश्वेत सामाजिक सञ्जाल प्रभावकर्ता ‘आईसोस्पिड’लाई लाइभ प्रसारणका क्रममा ‘चिडियाखानामा गएर रोऊ’ भनेपछि फिफाले जातीय विभेदको निन्दा गर्दै वक्तव्य जारी गरेको थियो ।
‘हामी असह्य छौँ’
मेस्सी स्वयंले पनि आफ्नो टोलीप्रति विश्वभर देखिने तीव्र प्रतिक्रियाबारे स्वीकार गरेका छन् । उनले भने, ‘चार वर्षअघि हामीले चाहेको उपलब्धि हासिल ग¥यौँ । फाइनल खेल्यौँ र चार वर्षसम्म विश्वकै उत्कृष्ट टोली भयौँ । फेरि पनि कसैले हामीलाई केही निःशुल्क दिएको छैन भन्ने प्रमाणित गरेका छौँ । हामी फेरि विश्वका उत्कृष्ट दुई टोलीभित्र परेका छौँ । यो कुराले जसलाई असह्य हुन्छ, होस् ।’
अर्जेन्टिनामा अत्यन्त लोकप्रिय मादक पेय फेर्नेटको एक ब्रान्डले पनि अर्जेन्टिनाविरोधी भावनालाई व्यङ्ग्यात्मक रूपमा प्रयोग गर्दै ‘हामीलाई असह्य छ’ भन्ने नारासहित विज्ञापन सार्वजनिक गरेको छ । विज्ञापनमा विभिन्न देशका समर्थकहरू उपचार समूहमा बसेर अर्जेन्टिनाको फुटबलप्रतिको अत्यधिक मोहबारे गुनासो गरिरहेको देखाइन्छ ।
यद्यपि ल्याटिन अमेरिकाका धेरै समर्थक अर्जेन्टिनाको विपक्षमा उभिए पनि अमेरिकामा रहेका अर्जेन्टिनाका फुटबल प्रशिक्षण शिविरहरूमा भने हजारौँ समर्थकले ‘मेस्सी ! मेस्सी !’ भन्दै उत्साहपूर्ण स्वागत गरिरहेका छन् ।
तर अझै पनि केहीले क्षेत्रीय ऐक्यबद्धतालाई प्राथमिकता दिएका छन् । पेरुको राजधानी लिमाका २० वर्षीय विद्यार्थी भ्यालेन्टिनो तोक्तोले भने, ‘म अर्जेन्टिनालाई समर्थन गर्नेछु, किनकि त्यो दक्षिण अमेरिकी देश हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस मनाउन प्रकाशमान सिंहको संयोजकत्वमा समिति
-
महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण
-
वर्षौँदेखि अलपत्र बुटवल–बेथरी सडक, ठेक्का तोड्ने कि अन्तिम मौका दिने ?
-
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा
-
आन्तरिक विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
-
बारा–पर्सा करिडोरमा तीन ठुला उद्योगलाई १० लाख जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण