नेतान्याहूलाई पक्राउ गर्न खोजिरहेछन् न्यूयोर्कका मेयर ममदानी
सारांश
- न्यूयोर्क सहरका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क आएमा पक्राउ गर्न सकिने विषयमा कानुनी अध्ययन गरिरहेको बताएका छन् ।
- मेयर ममदानीले अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) ले जारी गरेको पक्राउ पुर्जीका आधारमा नेतान्याहूलाई पक्राउ गर्न पहल गर्ने चुनावी वाचा पूरा गर्न आफ्नो प्रशासनले कानुनी अध्ययन गरिरहेको जानकारी दिए ।
- आईसीसीले नेतान्याहूविरुद्ध गाजा युद्धसँग सम्बन्धित युद्ध अपराध र मानवताविरुद्धका अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो, तर अमेरिका आईसीसीको पक्षराष्ट्र नभएकाले पक्राउ पुर्जी कार्यान्वयन गर्ने कानुनी दायित्व छैन ।
न्यूयोर्क । न्यूयोर्क सहरका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क आएमा उनलाई पक्राउ गर्न सकिने विषयमा आफ्नो प्रशासनले कानुनी अध्ययन गरिरहेको बताएका छन् ।
द न्यूयोर्क टाइम्सको ‘द इन्टरभ्यु’ पोडकास्टमा बोल्दै ममदानीले आफ्नो कानुनी विभागले यस विषयमा सक्रिय रूपमा छलफल गरिरहेको जानकारी दिए । मेयर पदका लागि चुनावी अभियानका क्रममा उनले अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी)ले जारी गरेको पक्राउ पुर्जीका आधारमा नेतान्याहूलाई पक्राउ गर्न पहल गर्ने वाचा गरेका थिए ।
ममदानीले भने, ‘मेरो विश्वासमा प्रधानमन्त्री नेतान्याहू हेगमा हुनुपर्छ । उनी अन्तर्राष्ट्रिय अपराध अदालतबाट युद्ध अपराधको आरोपमा अभियोग लगाइएका व्यक्ति हुन् । पछिल्ला वर्षहरूमा उनका कदमका कारण धेरै मानिसले यही धारणा राखेका छन्,’ । उनीसँग अमेरिकी कानुनले यस्तो कदम चाल्न अनुमति दिन्छ कि दिँदैन भन्ने प्रश्न सोधिँदा ममदानीले यो विषय अझै कानुनी अध्ययनकै चरणमा रहेको बताए । उनले भने, ‘हाम्रो कानुनी विभागसँग यसबारे सक्रिय छलफल भइरहेको छ । तर हामीले राष्ट्रिय तहमा कहिलेकाहीँ कानुनको सीमाभन्दा बाहिर गएर आफ्नै नियम बनाउने प्रयास देखेका छौं। हाम्रो प्रशासन त्यस्तो बाटोमा हिँड्न चाहँदैन,’ ।
अन्तर्राष्ट्रिय अपराध अदालतले सन् २०२४ मा नेतान्याहू र केही अन्य इजरायली नेताविरुद्ध गाजा युद्धसँग सम्बन्धित युद्ध अपराध र मानवताविरुद्धका अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो । यी आरोपहरू सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको युद्धसँग सम्बन्धित छन् । नेतान्याहूले सबै आरोप अस्वीकार गर्दै आएका छन् भने इजरायल सरकारले गाजामा नरसंहार गरेको आरोप पनि खण्डन गर्दै आएको छ । अमेरिका भने आईसीसी स्थापना गर्ने रोम विधानको पक्षराष्ट्र होइन। त्यसैले अमेरिकामाथि आईसीसीको पक्राउ पुर्जी कार्यान्वयन गर्ने कानुनी दायित्व छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेन दुवैले नेतान्याहूविरुद्ध जारी गरिएको आईसीसीको पक्राउ पुर्जीको आलोचना गरेका थिए । ट्रम्प प्रशासनले हाल आईसीसीविरुद्ध आफ्नो अभियान अझ तीव्र बनाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हालै आईसीसीलाई ‘तथाकथित अन्तर्राष्ट्रिय कानुनको प्रयोग गरेर अमेरिका र उसका साझेदारविरुद्ध युद्ध छेड्ने संस्था’को संज्ञा दिँदै अदालतलाई कमजोर पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ममदानी इजरायली सरकारका प्रखर आलोचक मानिन्छन् । उनले गाजामा इजरायलको सैन्य अभियानलाई पटक–पटक ‘नरसंहार’को संज्ञा दिएका छन् । इजरायलले भने यस्तो आरोप निराधार रहेको बताउँदै आएको छ ।
उता संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले ममदानीको अभिव्यक्तिलाई ‘शुद्ध राजनीतिक नाटक’को संज्ञा दिएका छन् । उनले अमेरिका आईसीसीको सदस्य राष्ट्र नभएकाले यस्तो पक्राउ सम्भव नहुने तर्क गरे । यसैबीच प्रधानमन्त्री नेतान्याहूले पनि आफ्नो गिरफ्तारीको मागलाई महत्व नदिएको संकेत दिएका छन्। उनले अमेरिकी रेडियो कार्यक्रमसँग कुरा गर्दै यसबारे कुनै चिन्ता नरहेको बताएका थिए । संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत ड्यानी ड्यानोनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री नेतान्याहू निर्धारित कार्यक्रमअनुसार न्यूयोर्क आउने स्पष्ट पारेका छन् । उनका अनुसार नेतान्याहू संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै ‘इजरायलको सत्य र आफ्ना नागरिकको रक्षा गर्ने अविचल अधिकार’ विश्वसामु प्रस्तुत गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
-
माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण