आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

छुरा प्रहार गरी हत्या गर्ने युवक पक्राउ

बुधबार, ०३ जेठ २०७४, १८ : ४६
बुधबार, ०३ जेठ २०७४
काठमाडौँ, जेठ ३ – छुरा प्रहार गरी एक युवकको हत्या गर्ने कार्यमा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौँको नघल गल्ली बस्ने ‘लम्बु भाई’, ‘रोनिश’ भन्ने भूषण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । नघल गल्ली बाङ्गेमुढामा अज्ञात व्यक्तिले छुरा प्रहार गरी घाइते बनाएका अवस्थामा सोमबार राति फेला परेका काठमाडौँ शङ्खमुल बस्ने ललितपुर महानगरपालिका पिलाछेका १९ वर्षीय आतिश लामाको उपचारका लागि वीर अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । सो घटनामा संलग्न श्रेष्ठलाई महानगरीय अपराध महाशाखाको प्रहरीले काठमाडौँ खिचापोखरीबाट मङ्गलबार पक्राउ गरेको हो । १२ कक्षाको परीक्षा दिएर बसेका श्रेष्ठले पशुपति प्लाजा पार्किङमा काम गर्ने गरेको खुल्न आएको छ । उक्त राति अभियुक्त श्रेष्ठ कोठातर्फ जाँदै गर्दा पूर्व परिचित नभएका दुईबीच बाटोमा भएको विवादमा मृतक लामाले श्रेष्ठको गालामा झापड हान्दै धकेलेपछि दुवै जनाबीच घम्साघम्सी भएको थियो । सोही क्रममा श्रेष्ठले आफ्नो साथमा रहेको चावी झुन्डाउने रिङमा रहेको छुरा लामालाई प्रहार गरी आफ्नो साथी नवीन तण्डुकारको कोठामा गई बसेको खुल्न आएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई थप कानुनी कारबाहीका लागि महाशाखाले महानगरीय प्रहरी वृत्त जनसेवा पठाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप