शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रेस काउन्सिलको पुनःसंरचना गर्ने बरालको प्रतिवद्धता

आइतबार, ०७ जेठ २०७४, २० : ०२
आइतबार, ०७ जेठ २०७४
काठमाडौं, जेठ ७– प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष भवानी बरालले काउन्सिलको पुनःसंरचना गर्ने प्रतिवद्धता जनाएका छन् । काउन्सिलका नवनियुक्त अध्यक्ष बरालले आइतबार पदभार ग्रहण गर्दै आफ्नो कार्ययोजना सुनाए । प्रेस काउन्सिलको पुनःसंरचना गर्नु आवश्यक रहेको उल्लेख गर्दै बरालले संघीय संरचनाअनुसार नै यसको पनि पुनःर्संरचना गरिने उल्लेख गरे । सात प्रदेशको संघीय संरचना भएकाले सोही अनुसार काउन्सिललाई पनि आफूले सात प्रदेशको संरचनामा लैजाने उनले उल्लेख गरे । नवनियुक्त अध्यक्ष बरालले पत्रकार आचारसंहिताको पालना गर्दै स्वस्थ, मर्यादित र जवाफदेही तथा उत्तरदायी पत्रकारिता गर्न पनि आमसञ्चारकर्मीहरुलाई आग्रह गरे । जेठ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले माओवादी पृष्ठभूमिका बराललाई काउन्सिल अध्यक्षमा नियुक्त गरेको थियो । यसअघि काउन्सिल अध्यक्षमा बोर्णबहादुर कार्की थिए । काउन्सिलका नवनियुक्त अध्यक्ष बरालको स्वागत गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र बिष्टले काउन्सिलले स्वतन्त्र र स्वायत्त निकायका रुपमा स्थापित भई आफ्नो भूमिकालाई फराकिलो पार्दै लैजानुपर्नेमा जोड दिए । प्रेस काउन्सिलका निमित्त अध्यक्ष किशोर श्रेष्ठले काउन्सिल अहिले नयाँ प्रविधियुक्त रहेको उल्लेख गर्दै तथ्यहीन र सतही कुराका पछि नलाग्न सुझाव दिए । प्रेस काउन्सिल कर्मचारी संघका अध्यक्ष मानबहादुर लामिछानेले जनशक्ति व्यवस्थापन गर्दै काउन्सिलको भूमिकालाई प्रभावकारी बनाउन जोड दिए । पत्रकार प्रेस काउन्सिल तथा नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारीहरुले आइतबार पुष्पगुच्छा र खादा ओढाएर बराललाई स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप