शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने

शनिबार, ०२ साउन २०८३, १२ : २४
शनिबार, ०२ साउन २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको पुनरसंरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव नभएको बताएका छन् ।
  • सांसद न्यौपानेले आम नागरिकले समेत न्यायको प्रत्याभूत गर्न नसक्ने अवस्था रहेको टिप्पणी गर्दै न्यायालयको निर्ममतापूर्वक समीक्षा गर्नुपर्ने औँल्याएका छन् ।
  • उनले राज्यका सबै निकायले परिवर्तनलाई आत्मसाथ गरेमा मात्र देश परिवर्तन सम्भव हुने र यो निष्कर्ष गम्भीर समीक्षाबाट आएको स्पष्ट पारेका छन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको पुनरसंरचना बिना मुलुकमा सुशासन स्थापना र भ्रष्टाचारको अन्त्य सम्भव नरहेको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै सांसद न्यौपानेले अहिलेको अवस्थामा आम सर्वसाधारण नागरिकले समेत न्यायको प्रत्याभूत गर्न सक्ने वातावरण नरहेको टिप्पणी गरेका हुन् ।

विगतका केही शृङ्खलाबद्ध घटनाक्रमहरूले यो कुरालाई स्पष्ट पारिसकेको उल्लेख गर्दै उनले न्यायालयको सन्दर्भमा अब निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको औँल्याएका छन् । यो कार्यलाई जति ढिला गर्यो, त्यति नै अकल्पनीय ढिला भएको महसुस हुन सक्ने परिस्थिति बन्न सक्ने उनको चेतावनी छ ।

यसअघि शुक्रबार पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको थियो । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाले शुक्रबार उनलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेका हुन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार पौडेल विरुद्ध  विशेष अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोगपत्र दायर गरेको थियो। विभागले पौडेलविरूद्ध २० करोड ९० लाख बिगो मागदाबी लिएको थियो।  शुक्रबार थुनछेक बहसपछि अदालतले उनलाई मुद्दाको पुर्पक्षको लागी पौडेललाई साधारण तारेखमा राख्न आदेश गरेको हो।

‘राज्यका सबै निकायले परिवर्तनलाई आत्मसाथ गर्न सक्नुपर्दछ,’ सांसद न्यौपानेले लेखेका छन्, ‘अनि मात्रै देश परिवर्तन गर्न सम्भव छ ।’

आफूले यो कुरा कुनै आवेगमा आएर नभनेको समेत उनले स्पष्ट पारेका छन् । यो आफ्नो आवेगमा आएर बुझेको बुझाइ नभई गम्भीर समीक्षाबाट निस्किएको निष्कर्ष भएको उनले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप