शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

३२ लाखमा एक किलो सुन किन्न खोज्दा यसरी लुटिए ज्वेलर्स मालिक

आइतबार, २१ जेठ २०७४, २१ : ३५
आइतबार, २१ जेठ २०७४
राजेश भण्डारी काठमाडौं, जेठ २१– सुन ब्यवसायी हुन् नन्दकुमार विश्वकर्मा, सुनसरीको इटहरीमा रहेको ‘सिद्धार्थ ज्वेलर्स’ उनैको हो । सुनचाँदी ब्यवसायकै सिलसिलामा करिब चार महिनाअघि शम्भु पाण्डे र सुनील महर्जनसँग उनको चिनजान भयो । सुनील महर्जनले आफ्नो साथीसँग १ केजी सुनको बिस्कुट रहेको र उक्त बिस्कुट ३२ लाख पाएमा बिक्री गर्न चाहेको कुरा सुनाएसँगै नन्दको मन लोभिएको थियो । बजार मूल्य करिब ४२ लाख पर्ने सुनको डल्लो ३२ लाखमै पाउने भएपनि कुन चाँही सुन ब्यापारीको मन लोभिँदैन होला ? नन्दकुमार र शम्भु पाण्डेको बीचमा पटक–पटक टेलिफोन संवाद भएपछि उनी सुन खरिद गर्न राजी भए । गत शुक्रवार (जेठ १९ गते) इटहरीबाट साथी रोशन बोगटीसँगै नन्दकुमार विश्वकर्मा काठमाडौं हानिए । रोशनको गाडी लिएर विहान सवेरै इटहरीबाट हिँडेका उनीहरु काठमाडौं आउँदा मध्यान्ह १२ बजेको थियो । ठमेलमा रोशनको दाजुको पसल थियो, त्यहा केहीबेर रेष्ट गरेपछि उनीहरु ‘सस्तोमा सुनको बिस्कुट दिन्छु’ भन्ने शम्भु पाण्डेलाई भेट्न गोंगबुको एक गेष्ट हाउसमा पुगे । त्यहाँ केहीबेर डिलिङ भयो, शम्भुले एक केजी सुनको बिस्कुट देखाएपछी नन्द र रोशन पैसा लिएर आउँछौं भन्दै बैंकतिर हिँडे । त्यसअघि रोशनले सुनमा लगानी गर्न भन्दै ठमेलमा पसल गर्ने दाइसँग ९ लाख ७५ हजार सापटी लिइसकेका थिए । ३२ लाख नगद रेडी भएपछि म्हैपीस्थित आशिर्वाद कलेज नजिकै रहेको एउटा घरमा आउन भन्दै शम्भु पाण्डेले एउटा घर समेत देखाएपछि नन्द र रोशन ढुक्क भए अनि पैसा निकाल्न एनएमबि बैंकको महराजगञ्ज शाखातिर लागे । पैसा निकालेर शम्भुले देखाएको घरअगाडि पुगेका मात्र के थिए, दुईओटा मोटरसाईकल आएका मानिसहरुले कालो झोलामा राखेर ल्याएको बत्तीस लाख जबर्जस्ती लुटेर भागे । त्यसपछि नन्द र रोशन छाँगाबाट खसेजस्तै भए । एक किलो सुनबाट १० लाख नाफा गर्ने उनीहरुको सपना बलेसीको पानीजस्तो क्षणभरमै प्याट्ट फुट्यो । घट्ना घटेको खबर पाउनासाथ एक्टिभ भएको महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले करिब २४ घण्टाभित्रै लुटपाटमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ्ग त्रिपुरासुन्दरी गाउँपालिका–७ का सरोज श्रेष्ठ, बाग्लुङ्गका तारा भन्ने झम्क बहादुर बोहरा, गुल्मी घर भएका लक्कि भन्ने ज्ञान बहादुर पुरी, धादिङ्गकै अन्जान थापा, गोरखाका सिजन अधिकारी र सन्तोष बोहरा रहेका छन् । अञ्जान थापा र सिजन अधिकारी यसभन्दा पहिले पनि नम्क्कली धातु देखाएर लुटपाट गरेको अभियोगमा पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्रहरीका अनुसार ३२ लाख नगद लिएर आउनु भन्दै शम्भु पाण्डेले आफ्नै भनी देखाएको घर पनि उनको नभएको पाइएको छ । उक्त घरमा रुपेश भन्ने सुनील महर्जन पनि केहीबेरमा आईपुग्ने र सँगै सुन र पैसा साटासाट गर्ने उनीहरुबीच सहमति भएको थियो । काठमाडौंको बनस्थली र बोहोराटारबाट पक्राउ परेकाहरुबाट प्रहरीले ४ लाख १७ हजार नगद र उक्त घट्नामा प्रयोग भएको मोटरसाइकल बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप