बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

छुट भएका दललाई नाम र दस्तखतको नमुना बुझाउन तीन दिनको समय

शुक्रबार, २६ जेठ २०७४, २० : ३९
शुक्रबार, २६ जेठ २०७४
काठमाडौँ, जेठ २६– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सन्दर्भमा दस्तखत नमुना पेस गर्न छुटेका राजनीतिक दललाई दस्तखत नमुना पेस गर्न तीन दिनको समय उपलब्ध गराएको छ । आयोगले स्थानीय तह निर्वाचनको प्रयोजनका लागि दलका तर्फबाट विभिन्न पदका लागि खडा हुने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिकारीको नाम र दस्तखतको नमुनासहितको विवरण बुझाउन आज उक्त समयसीमा तोकेको हो । उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमुना यही जेठ २९ गतेसम्ममा पेस गर्नसक्ने व्यवस्था मिलाएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । आयोगको शुक्रबारको बैठकले यसअघि दस्तखत पेस गरेका राजनीतिक दलले दस्तखत नमुना परिवर्तन गर्न चाहेमा पनि तीन दिनभित्र परिवर्तन गर्न चाहेको दस्तखतको नमुना आयोग समक्ष पेस गर्नसक्ने व्यवस्था मिलाएको उनले जानकारी दिए । दस्तखत नमुना पेस गर्नका लागि दलको केन्द्रीय कार्यसमिति वा सो सरहको समितिले गरेको निर्णयको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्ने जनाइएको छ । दलको मनोनयनको औपचारिक पत्र प्रमाणित गर्ने पदाधिकारी आयोगमा अद्यावधिक गरिएको सो दलको केन्द्रीय समिति वा प्रदेश समितिको पदाधिकारी हुनुपर्ने आयोगले जनाएको छ । निर्वाचन आयोगमा दर्ता कायम रहेका ११३ राजनीतिक दलमध्ये निर्वाचन प्रयोजनका लागि ८० दलले दल दर्ता गराएकामा ६३ दलले मात्र स्थानीय तह निर्वाचनका लागि आधिकारिक दस्तखत बुझाएका छन् । (रासस)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप