नमुना मतदानमै अल्मलिए मतदाता
आइतबार, २८ जेठ २०७४, ०८ : ५१
इलाम - “सिकाए पनि अल्मलिने मतपत्र रहेछ यसपटक । यति लामो मतपत्रमा दर्जनौँ चुनाव चिह्न देखेर म १० मिनेट अल्मलिएँ”, देउमाई नगरपालिकास्थित धुसेनीकी रमा तिम्सिनाले भने – “यस्तै हो भने मेरो बुबाआमा त झुक्किनुहुन्छ । यसपटक धेरै मत खेर जालाजस्तो छ ।”
शुक्रबार देउमाई नगरपालिकाको मङ्गलबारे बजारमा जिल्ला निर्वाचन कार्यालय, इलामको आयोजना तथा देउमाई नगरपालिका कार्यालयको संयोजनमा सञ्चालित नमुना मतदान कार्यक्रममा नमुना मतदानमा भाग लिएपछि रमाले भने – “मजस्तो पढेलेखेको मान्छे त मतपत्र पढेर मतदान गरुँला, तर अल्मलिने यस्तो मतपत्रमा वृद्धवृद्धाले कसरी भोट हालेर आउनुहोला र खै ?”
तिम्सिना जस्तै नमुना मतदानमा भाग लिने धेरै मतदाताले मत हाल्ने तरिका थाहा नपाउँदा अल्मलिएका थिए । निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा दिइरहेको छ, तर सबै गाउँ–ठाउँमा मतदान गर्ने तरिका सिकाउन नसक्दा धेरै मतदाता अलमलमा परेका हुन् ।
निर्वाचन आयोगले मतदान गर्न सामाजिक सञ्जालसमेत उपयोग गरेको छ । युट्युबमा कतिजनालाई कसरी मतदान गर्ने भन्ने श्रव्यदृश्य नै राखेको छ ।
बीस वर्षअघिको मतपत्रमा पनि स्थानीय निर्वाचनमा सातैजनालाई मतदान गर्नुपर्दा उम्मेदवारको सङ्ख्या कम, मतपत्र सानो र चुनाव चिह्न ठूला थिए । “नपढेका मतदाता र व्यक्ति छानेर भोट हाल्नुपर्नेका लागि केही समय लाग्छ । धेरै चुनाव चिह्न भएको दुई कोलमको र ठूलो भएकाले यसपटकको मतपत्र अप्ठ्यारै रहेको छ,” जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख प्रेमकुमार काफ्लेले बताए ।
जति बुझाउन खोजेपनि मतदाता झस्किने गरेको उहाँको भनाइ छ । मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नका लागि निर्वाचन कार्यालयले सबै मतदान केन्द्रमा कर्मचारी खटिरहेका उनले बताए । कर्मचारीले मात्र भोट हाल्ने तरिकाको बारेमा बुझाउन नसकिरहेको अवस्थामा राजनीतिक दलहरूले पनि मतदातालाई मतदान गर्ने तरिकाका बारेमा बुझाउन आग्रह गरे ।
मङ्गलबारेमा गरिएको नमुना मतदानको कार्यक्रममा १५० जनाभन्दा बढीको सहभागिता थियो । तर नमुना मतदानमा भने ५० जनाले भाग लिएका थिए ।
नमुना मतदान कार्यक्रममा निर्वाचन कार्यालयले स्थानीय मतदातासँग बसेर भोट कसरी हाल्ने, भोट हालेपछि मतपत्र कसरी पट्याउनेलगायतका विषयमा जानकारी गराएको थियो ।
पहिलो चरणमा भएको निर्वाचनमा अत्यधिक मत बदर भएपछि दोस्रो चरणको निर्वाचनका क्रममा इलाममा त्यो अवस्था नदोहोरियोस् भन्ने उद्देश्यले निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको र ठाउँ–ठाउँमा नमुना मतदान कार्यक्रम गरिरहेको निर्वाचन कार्यालय प्रमुख काफ्ले बताउँछन् ।
उहाँका अनुसार यसअघि इलाम नगरपालिकाको बरबोटे र गोलाखर्क भञ्ज्याङ र गोदकमा नमुना मतदान गरिसकिएको छ । आगामी बिहीबार इलाम चोकबजारमा नमुना मतदान कार्यक्रमको आयोजना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण