बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता

मङ्गलबार, १९ पुस २०७९, ०९ : २२
मङ्गलबार, १९ पुस २०७९

भरतपुर महानगरपालिकाले सहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कामलाई निरन्तरता दिएको छ । गत आर्थिक वर्षबाट कार्यविधि बनाएर सहायता वितरण थालिएको हो । महानगरले एक सूचना जारी गरी तत्कालीन जनयुद्ध र जनआन्दोलनमा सहिद भएका वा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने जनाएको छ ।
 
आर्थिक सहायता प्राप्त गर्नका लागि लक्षित समुदायले महानगरपालिकामा निवेदन दिन सूचनामार्फत आग्रह गरिएको छ । सहिद तथा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता गर्न महानगरले कार्यविधि नै बनाएको महानगर प्रमुख रेणु दाहालले बताइन् । स्थानीय तहमा पहिलोपटक महानगरले यो कार्यक्रम ल्याएको हो । यसबाट केही हदसम्म भए पनि प्रभावित परिवार लाभान्वित हुने उनको भनाइ छ ।
 
आर्थिक सहायताका लागि आधिकारिक निकायबाट जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा सहिद वा बेपत्ता पारिएका परिवार खुल्ने कागजात, भरतपुर महानगरभित्र स्थायी बसोबास गरेको प्रमाणलगायतका कागजात चाहिने महानगरले जनाएको छ । महानगरले गत वर्ष पनि जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा सहिद वा बेपत्ता पारिएका परिवारलाई सम्मान गर्दै नगद भत्ता वितरण गरेको थियो ।

महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता पौडेलका अनुसार गत आवबाट सहयोग दिन थालिएको हो । ती परिवारलाई मासिक रु दुई हजारका दरले सहयोग दिने गरी कार्यविधि बनेको छ । गत वर्ष १३  बेपत्ता परिवार र ४७  सहिद परिवारले सहयोग लिएका थिए । यसरी सहयोग लिनेमा सशस्त्र द्वन्द्वमा परेका माओवादी, नेपाल प्रहरी, नेपाली सेनाका परिवार रहेको उनले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप