बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हुम्लाको अदानचुली फलोअप : ४ महिनापछि कार्यालय पुगेका निमित्त हाकिम र लेखापाललाई हाजिर गर्न रोक

शुक्रबार, २२ पुस २०७९, १७ : ०६
शुक्रबार, २२ पुस २०७९

सुर्खेत । करिब चार महिना सुर्खेतको वीरेन्द्रनगरबाट आर्थिक कारोबार गरेका हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापालाई हाजिर हुनबाट रोकिएको छ ।  शाही र थापा बिहीबार पालिका पुगेका थिए । यद्यपि लामो समय बाहिरबाट नै पालिकाको आर्थिक कारोबार गरेको र करोडौं रकम पालिकाको खाताबाट निकालेको भन्दै पालिकाका उपाध्यक्ष कर्ण रोकाया र केही वडाध्यक्षहरुले हाजिर हुनबाट रोक लगाएका हुन् । 

गत साउन महिनामा निमित्त प्रमुख प्रशासकीय अधिकृत टकदत्त प्याकुरेल भ्रष्टाचार अभियोगमा निलम्बनमा परेपछि गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले आफूनिकट शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेका थिए ।  तर अध्यक्ष सिंहसहित निमित्त अधिकृत शाही र लेखापाल पालिका बाहिर बस्ने गरेको भन्दै उपाध्यक्ष रोकायाले लेखापाल थापा र निमित्त अधिकृत शाहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा मुद्दा दायर गरेका थिए । 

निमित्त तोकिएका शाही पालिकामा नबस्ने भएपछि उपाध्यक्ष कर्ण रोकायाले कार्यपालिकाको बैठकबाट स्वास्थ्य संयोजक समेत रहेका हंश महतारालाई निमित्त अधिकृत तोकेका थिए । तर महताराबाट कुनै आर्थिक कारोबार नभएको उपाध्यक्ष रोकायले बताए । उनीहरु बुधबार मात्र सुर्खेत–नेपालगञ्ज हुँदै हुम्ला पुगेका थिए । सो विषयमा केही दिन अघि रातोपाटीले समाचार प्रकाशित गरेको थियो ।

Capture

‘निकासा भएको रकमको छानविन पछि मात्रै ‘इन्ट्री’ 
बिहीबार कार्यालयमा हाजिर हुनबाट रोकिएका निमित्त प्रमुख शाही र लेखापाल थापाले सुर्खेत बसेर निकासा गरेको करोडौं रकमको छानविन पछि मात्रै कार्यालयमा हाजिर गरिने पालिकाका एक कर्मचारीले बताए ।  उनीहरु विरुद्ध मंसिर ११ गते अनुचित कार्य गरेको भन्दै अख्तियारमा मुद्दा परेको छ । शाही र थापाले कार्यपालिकामा कुनै निर्णय नगरी, नगराई गाउँपालिका बाहिर सुर्खेतमा लामो समयसम्म बसी मनोमानी ढंगले चालू खर्चबाट ३ करोड, २१ लाख २२ हजार २८३ रुपैयाँ र  पुँजीगत खर्चबाट ३० लाख ८४ हजार ५७४ रुपैयाँ ग्लोबल आइएमइ बैंक सुर्खेत शाखाबाट निकासा गरेको आरोप लागेको छ । 

पालिकाका ती कर्मचारीले भने, ‘उहाँहरुले उक्त रकमबारे छानविनपछि मात्रै हाजिर हुन भनेर रोकिएको हो । अख्तियारले त्यो विषयमा छानविन गरिरहेको छ ।’  अख्तियारमा दायर रिटमा भनिएको छ,‘ गत असार १० गतेको गाउँसभाको सर्वसहमत निर्णय (एजेण्डा) को अवज्ञा गर्दै यस गाँउपालिकाका जननिर्वाचित जनप्रतिनिधि र गाउँ  कार्यपालिकाको बे–वास्ता गरी अधिकारमाथि पूर्ण हस्तक्षेप गर्दै कयौं रकम निकासा गरि व्यक्तिगत प्रयोजनमा खर्च भएको देखिएको छ ।’ 

हाकिम र लेखापालले सुर्खेतमै बसरेर एकआपसको मिलोमोतोमा उतै व्यक्तिगत हाजिर लगाई तलब खाने र सुर्खेतबाट आफ्ना इच्छाएका व्यक्तिलाई करार पदमा नियुक्ति गरि गाँउपालिका कार्यालयमा हाजिरै नगराई उतैबाट तलब समेत खुवाएको आरोप निमित्त प्रमुख शाही र लेखापाल थापामाथि लागेको छ । 

‘स्वास्थ्य शाखामा कांग्रेस कार्यकताद्वारा तालाबन्दी’
बिहीबार निमित्त प्रमुख शाही र लेखापाल थापालाई हाजिर हुन् नदिएपछि शुक्रबार बिहान नेपाली कांग्रेस निकट कार्यकर्ताहरुले पालिकाको स्वास्थ्य शाखामा तालाबन्दी गरेका छन् । पालिकाका अध्यक्ष सिंह निकट कार्यकर्ताले स्वास्थ्य संयोजक हंश महतारालाई निमित्त तोकेको र उपाध्यक्ष लगायतका जनप्रतिनिधिहरुले अध्यक्ष सिंह निकट शाही र लेखापाललाई हाजिर हुन नदिएको रोसमा तालाबन्दी गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप