फ्रान्सको बोर्दाे सहरनजिकै पुग्यो डढेलो
सारांश
- फ्रान्सको बोर्दो सहरनजिकै फैलिएको भीषण डढेलो सहरबाट करिब १५ किलोमिटर नजिक आएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ ।
- फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँले गिरोन्द क्षेत्रमा डढेलो प्रभावित क्षेत्रको निरीक्षण गर्दै देशले दोस्रो विश्वयुद्धयताकै सबैभन्दा कठिन र अभूतपूर्व डढेलोको सामना गरिरहेको बताएका छन् ।
- यसअघि फ्रान्सका गृहमन्त्री लोरेन्ट नुनेजले उक्त डढेलोले आफ्नै गति र स्वरूप लिएको भन्दै यो असाधारण चुनौती बनेको बताएका थिए ।
पेरिस । फ्रान्सको दक्षिणपश्चिमी सहर बोर्दो नजिक फैलिएको भीषण डढेलो सहरबाट करिब १५ किलोमिटर नजिक आएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । बोर्दोेका मेयर थोमस काजेनाभले थप स्थान खाली गराउनुपर्ने अवस्था आए ठुलो सङ्ख्यामा मानिसलाई सुरक्षित स्थानमा राख्ने तयारी भइरहेको बताएका छन् ।
फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँले गिरोन्द क्षेत्रमा डढेलो प्रभावित क्षेत्रको निरीक्षण गर्दै देशले दोस्रो विश्वयुद्धयताकै सबैभन्दा कठिन र अभूतपूर्व डढेलोको सामना गरिरहेको बताएका छन् । स्पेनमा पनि राजधानी म्याड्रिडको पश्चिम क्षेत्रमा डढेलो नियन्त्रणबाहिर रहेकाले दुवै देशमा ठुलो सङ्ख्यामा मानिस विस्थापित भएका छन् । फ्रान्समा हालसम्म करिब २ लाख २० हजार र स्पेनमा १ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
मंगलबार पुनः अत्यधिक गर्मी बढ्ने पूर्वानुमान गरिएकाले आगो नियन्त्रण कार्य अझ कठिन बन्न सक्ने चेतावनी दिइएको छ । राष्ट्रपति माक्रोँका अनुसार लान्द क्षेत्रमा लागेको अर्काे डढेलो नियन्त्रणमा आएको भए पनि छिमेकी गिरोन्द क्षेत्रमा आगो निभाउने प्रयास जारी छ । सोमबारको तुलनामा अवस्था केही सुधारिए पनि तापक्रम बढ्ने, हावा चलिरहने र आगो फेरि तीव्र रूपमा फैलिन सक्ने जोखिम अझै रहेको उनले बताए ।
यसअघि फ्रान्सका गृहमन्त्री लोरेन्ट नुनेजले उक्त डढेलोले आफ्नै गति र स्वरूप लिएको भन्दै यो असाधारण चुनौती बनेको बताएका थिए । बोर्दाेको दक्षिणमा रहेको सेस्तास नगरका मेयर जेरोम स्टेफले यो शताब्दीकै सबैभन्दा ठुलो डढेलो हुन सक्ने बताएका छन् । उनका अनुसार दुई दिनअघि आगो तीव्र रूपमा फैलिएपछि नगरका करिब १७ हजार बासिन्दालाई रातारात सुरक्षित स्थानमा सारिएको थियो ।
हालसम्म गिरोन्द क्षेत्रमा करिब ४२ हजार हेक्टर जमिन जलेको छ भने २४० वटा घर पूर्ण रूपमा नष्ट भएका छन् र सेस्तास नगरको अवस्था अत्यन्त भयावह रहेको भन्दै उनले आगोको गति केही घटे पनि जोखिम अझै टरेको छैन भने । उनका अनुसार हावाले उडाएका आगोका झिल्काहरू वा हावाको दिशा अचानक परिवर्तन भए आगो फेरि फैलिन सक्छ। त्यसलाई रोक्न सुरक्षात्मक फायरब्रेक निर्माण गर्ने काम भइरहेको छ ।
फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले देशले अभूतपूर्व डढेलो मौसमको सामना गरिरहेको बताए । उनका अनुसार जनवरीयता फ्रान्समा १ लाख १६ हजार ८५ हेक्टरभन्दा बढी क्षेत्र जलेको छ भने १३ हजार ५ सय ६६ वटा डढेलोका घटना दर्ता भएका छन् ।
उनले सामाजिक सञ्जाल एक्समार्फत १० मध्ये ९ वटा डढेलो मानव गतिविधिका कारण लाग्ने बताएका छन् । चुरोटका ठुटा, बारबेक्यु र सावधानीबिनाका निर्माण वा अन्य कामका कारण अधिकांश आगलागी हुने गरेको उनको भनाइ छ ।
यद्यपि सबै डढेलो दुर्घटनावश नलाग्ने र केही नियोजित रूपमा पनि लगाइने भएकाले जुलाई ६ यता आगजनीको आरोपमा १६२ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।
फ्रान्सका वार, लान्द र कोर्सिका टापुको ओत(कोर्स क्षेत्रमा पनि डढेलो फैलिएको छ । उता स्पेनमा म्याड्रिडको पश्चिम क्षेत्रमा फैलिएको डढेलोका कारण राष्ट्रिय आपत्कालीन अवस्था पाँचौँ दिनसम्म जारी छ । उपग्रह तस्बिरअनुसार अल्मोरोक्स, भिल्ला देल प्राडो र सान मार्टिन दे भाल्देइग्लेसियास क्षेत्रमा सुरु भएका छुट्टाछुट्टै आगलागी एकआपसमा मिसिएपछि ठुलो डढेलो बनेको हो ।
यस डढेलोले हालसम्म २७ हजार हेक्टरभन्दा बढी क्षेत्र प्रभावित पारेको छ । स्थानीय अधिकारीहरूले यसलाई क्षेत्रकै इतिहासको सबैभन्दा भीषण डढेलो हुने चेतावनी दिएका छन् । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण विश्वभर तापक्रम बढिरहेको छ । युरोप विश्वकै सबैभन्दा तीव्र रूपमा तापक्रम बढिरहेको महादेश बनेको छ, जसका कारण गर्मीयाममा तातो हावाको लहर, पानीको अभाव र डढेलोका घटना झन तीव्र बन्दै गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालद्वारा प्रमुख सचेतकहरूसँग छलफल
-
राजीव खत्रीको प्रश्न – विदेशमा रहेका नेपालीलाई आगामी स्थानीय चुनावमै मताधिकार दिन सकिन्छ ?
-
काभा पुरुष भलिबल : पाँचौ स्थानका लागि भएको खेलमा पनि हार्यो नेपाल
-
चिटिक्क एयरपोर्ट (फोटोफिचर)
-
प्रश्नपत्र लिकका घटना किन दोहोरिन्छन् ?
-
संयुक्त राष्ट्र सुरक्षा परिषद्मा फ्रान्सको सम्बोधनकै बेलामा उठेर हिँडे अमेरिकी कूटनीतिज्ञ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण