विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
झापा । मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् । गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुन् र श्रीमान्–श्रीमती दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार यही साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको र सोमबार विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नरहेको पाइयो । उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो भने फोन सम्पर्क हुन सकिरहेको थिएन ।
“दिनभरि सम्पर्क नभएपछि बेलुका करिब ४ः३० बजे रतन गुप्ता आफैँले मेरो वाट्सएपमा सन्देश पठाएका थिए । सन्देशमा श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै ताला खोलेर कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरेका थिए”, प्रधानाध्यापक लुइँटेलले बताए ।
स्थानीयवासीका अनुसार गुप्तालाई आइतबार साँझ करिब ५ः०० बजेतिर दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो । त्यसयता उनी सम्पर्कमा रहेका छैनन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अवाले भने, “विद्यालय परिसरभित्र एक महिलाको शव फेला परेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ । मृत्युको कारण यकिन भइसकेको छैन र शवको परीक्षणसहित सबै पक्षबाट अनुसन्धान अघि बढाइएको छ । सम्पर्कविहीन रहेका उनका श्रीमान्को पनि खोजी भइरहेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी
-
परीक्षाका क्रममा परीक्षार्थीलाई डिजिटल माध्यमबाट पूर्ण ‘ब्लक’ गर्नुपर्छ
-
छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै
-
सांसद पद्मा अर्यालको प्रश्न– निष्पक्ष निर्वाचन र विदेशमा मतदानको पूर्वाधार कसरी निर्माण गर्न सकिन्छ ?
-
किन दोहरिन्छन् देवानगन्ज घटनाहरू ?
-
सांसद दंगालको प्रश्न – संवैधानिक निकायका पदाधिकारीको कार्यसम्पादन मापनयोग्य कसरी बनाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण