मल अभावले धनुषाका कृषक चिन्तित
सारांश
- धनुषाका किसानहरूले मलखादको अभावका कारण खेतीपातीमा समस्या भोगिरहेका छन् ।
- किसानहरूले स्थानीय डिलरहरूबाट आवश्यकता अनुसार मल नपाएको गुनासो गरेका छन् ।
- कृषि सामग्री संस्थानले मल समयमै पुर्याउने प्रयास गरे पनि युद्धका कारण ढिलाइ भएको जनाएको छ ।
जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ का किसान चन्द्रदेव महराले खेती गरेरै आफ्नो १० सदस्यीय परिवारको गुजारा चलाउँदै आएका छन् ।
आफूसँग थोरै खेत भएका कारण साहुको जग्गा अधिया लिएर उनले करिब डेढ बिघामा यस वर्ष धान रोपाइँ गरेका छन् ।
आकाशे पानी पर्याप्त नहुँदा स्यालो टयुबवेलबाट घन्टाको ३ सय रुपैयाँ तिरेर खेतमा सिँचाइ गरेको महराले सुनाए । ‘सरकारले सिँचाइको लागि पैसा दिने गरेको सुनिन्छ, तर हामीजस्ता सामान्य किसानले थाहा नपाउँदा कट्ठाको ३ सय रुपैयाँको दरले निजी स्यालो टयुबवेलबाट पानी लगाउनु परेको छ,’ उनले भने ।
महराका अनुसार जेनतेन रोपाइँ त सकियो तर अब सबैभन्दा ठुलो समस्या मलखादको छ । उनले भने, ‘कृषि प्रधान देश भनिन्छ तर सरकारले समयमा मलखादको व्यवस्था गर्दैन । अनि कसरी खेतीपाती हुन्छ त यो देशमा ?’
उनले स्थानीय तहमै रहेको डिलरमा जाँदा आवश्यकता बमोजिम १ बोरा युरिया, डीएपी माग्दा १०/२० किलोमात्र दिने गरेको गुनासो गरे ।
‘नागरिकताको प्रतिलिपी, नाम, ठेगाना सबै लेखेर लगेको छ, अनि मल लिन जाँदा डिलरले पर्याप्त छैन, अहिले यति लिएर जानुस्, पछि आउँछ अनि लैजानुहोला भन्ने गरेको छ,’ महराले भने । अब खेती गरेर जीविकोपार्जन गर्न पनि मुस्किल हुँदै गएको उनको गुनासो छ ।
सोही ठाउँका अर्का किसान रामपुकार राउतको अवस्था पनि महराभन्दा फरक छैन । ८ जनाको परिवार खेतीपातीबाटै धान्नुपर्ने अवस्था रहेको राउत बताउँछन् ।

अहिले उनी यो पेसाको विकल्प सोच्न थालेका छन् । उनले भने, ‘जसोतसो धान रोपाइँ गरिन्छ, मलखाद पाइँदैन । अनि बाली कसरी सप्रिन्छ ?’
गत वर्ष पनि समयमा रासायनिक मल नपाउँदा धान उत्पादन घटेको उनले सुनाए । उनले भने, ‘अघिल्लो वर्षको उब्जनीले ६/८ महिनाका लागि पनि पुगेन । भोट माग्ने बेला नेताहरूले सबै समस्या समाधान गरिदिन्छौँ भन्छन्, तर सत्तामा पुगेपछि सबै कुरा बिर्सिन्छन् ।’
अर्का किसान वंशीराम महरालाई नयाँ सरकारप्रति आशा थियो । ‘पहिलाको सरकारले त गरेन, अहिलेको सरकारले समयमा मलखादको व्यवस्था गरिदेला भन्ने अपेक्षा थियो,’ उनले भने, ‘तर यो सरकारको पारा पनि पुरानै जस्तो भयो । आशा थियो, तर मर्माहत बनायो ।’

यहाँका किसानले विगतमा रासायनिक मलको अभाव हुँदा सीमावर्ती नाकाबाट जेनतेन ल्याएर गर्जो टार्थे, तर अहिले त्यसरी ल्याउन नपाइँदा बाली सखापै हुने हो कि चिन्ता थपिएको उनीहरू बताउँछन् ।
किसानका लागि मलखादको समस्या वर्षैपिच्छे बल्झिन्छ । कृषि सामग्री संस्थान जनकपुरले साउन ८ गतेसम्म जिल्लाभित्रका किसानका लागि ९२८ मेट्रिक टन युरिया, ४५९ मेट्रिक टन डीएपी र ५४ मेट्रिक टन पोटास पठाएको जनाएको छ ।
संस्थानका सूचना अधिकारी बेचन साहले यो वर्ष विगतका वर्षको तुलनामा समयमै कृषकको हातमा मल पुग्ने तयारी गरिए पनि अमेरिका र इरान युद्धका कारण स्टेट अफ हर्मुज नाकामा मल रोकिँदा केही समय ढिला हुन गएको बताए ।

उनले मल वितरणको जिम्मा स्थानीय तहको भएको र व्यवस्थापमा सहजीकरण गर्न नसक्दा कतिपय कृषकले मल पाउन नसकेको प्रस्ट पारे ।
साहका अनुसार कृषि मन्त्रालयको बफर कोटाबाट प्राप्त डीएपी मल हाल सम्बन्धित पालिकामा निर्णय भए बमोजिम बिक्री वितरण भइरहेको छ । यता कृषि ज्ञान केन्द्र धनुषाले गत वर्षकोे तुलनामा यो वर्ष परिमाण थोरै भए पनि मल चाँडै आएको र बिक्री वितरणसमेत भएको जनाएको छ ।
ज्ञान केन्द्रका कृषि अर्थविज्ञ गणेश अधिकारी खत्रीले साउन ७ गतेसम्म जिल्लाभित्र हुने कुल क्षेत्रफलको ७९.१ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको बताए । उनले भने, ‘मधेसमा ३ बाली धान, गहुँ र तोरी, मुुसुरो लगाउने प्रचलन छ, त्यो चक्र अनुपातमा मल पर्याप्त हुँदैन ।’
जिल्लाभित्र कुल खेतीयोग्य जमिन ५५ हजार २३८ हेक्टर रहे पनि धान रोपाइँ ४३ हजार ७ सय हेक्टरमा हुने गर्छ । त्योमध्ये हालसम्म ३४ हजार ५६५ हेक्टरमा धान रोपाइँ भएको छ । ज्ञान केन्द्रका अनुुुसार यो वर्ष गत वर्षको तुलनामा राम्रै रोपाइँ भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालद्वारा प्रमुख सचेतकहरूसँग छलफल
-
राजीव खत्रीको प्रश्न – विदेशमा रहेका नेपालीलाई आगामी स्थानीय चुनावमै मताधिकार दिन सकिन्छ ?
-
काभा पुरुष भलिबल : पाँचौ स्थानका लागि भएको खेलमा पनि हार्यो नेपाल
-
चिटिक्क एयरपोर्ट (फोटोफिचर)
-
प्रश्नपत्र लिकका घटना किन दोहोरिन्छन् ?
-
संयुक्त राष्ट्र सुरक्षा परिषद्मा फ्रान्सको सम्बोधनकै बेलामा उठेर हिँडे अमेरिकी कूटनीतिज्ञ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण