बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

नेकपा एकीकृत समाजवादी र जसपाबीच एकताको स्वार्थ

शनिबार, २३ पुस २०७९, ०६ : ४९
शनिबार, २३ पुस २०७९

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबीच एकीकरणको प्रक्रिया सुरु भएको छ ।

दुवै दलले एकताका लागि वार्ता गर्न समिति पनि गठन गरिसकेका छन् । हुन त माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच एकताका लागि पनि छलफल भएको थियो तर अहिले नेकपा एकीकृत समाजवादी र जसपाले मात्र समिति नै बनाएर प्रक्रियालाई अगाडि बढाएका छन् ।

नेकपा एकीकृत समाजवादीले महासचिव बेदुराम भुसालको नेतृत्वमा र जसपाले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ । यी दुई समितिको बीचमा औपचारिक संवाद भने सुरु भएको छैन तर शीर्ष नेताहरूको बीचमा अनौपचारिक संवाद सुरु भएको छ । यी दुई दलबीच एकताका लागि अहिले नै किन चटारो गरियो भन्ने सबैका लागि कौतुहलताको विषय बनेको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भए पनि पार्टीलाई राष्ट्रिय पार्टी बनाउन सकेनन् । उता, जसपाका अध्यक्ष उपेन्द्र यादव आफू चुनाव हारे पनि पार्टीलाई राष्ट्रिय पार्टी बनाउन सफल भए । माधवकुमार नेपाललाई राष्ट्रिय पार्टीको नेता बन्न हतार छ भने उपेन्द्र यादवलाई ठुलो पार्टीको नेता बन्न हतार छ ।

माधव नेपालसँग संघमा १० जना सांसद छन् भने उपेन्द्र यादवसँग १२ जना सांसद छन् । दुवै दल एकीकृत भएको अवस्थामा २२ जना सांसद हुन्छन् । पार्टी एकता भएमा प्रतिनिधिसभामा शक्तिशाली दलको रूपमा उपस्थित हुनेछ ।

सुरुमा नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्र वा एमालेसँग एकीकरण गर्ने चाहना राखेको थियो । तर यी दुवै दलसँग कुरा नमिलेपछि माधव नेपालले जसपासँग कुरा अगाडि बढाएका हुन् ।

एमालेले एकीकृत समाजवादीसँग एकतामात्र होइन, गठबन्धनमा समेत उक्त दललाई लिन तयार भएन । एमालेले गठबन्धन बनाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बालकोट बोलाउँदा माधव कुमार नेपाललाई खबर पनि गरिएन । यता, एमालेसँग गठबन्धन गरेपछि माओवादी केन्द्रले पनि एकीकृत समाजवादीसँग दुरी बढाउन थाल्यो । विश्वासको मत लिने आवश्यकता भएपछि मात्र माधवकुमार नेपालको खोजबिन हुन थाल्यो ।

तर आफूलाई बालकोटको ‘गेम’भन्दा बाहिर राखेका कारण एकीकृत समाजवादी रुष्ट छ । त्यही कारण एकीकृत समाजवादीले संसद्मा आफ्नो शक्ति देखाउनका लागि जसपासँग एकीकरणको प्रक्रिया अगाडि बढाएको छ ।

जसपा नेपाल यसपटकको चुनावमा कमजोर भएको छ । विगतको चुनावभन्दा यसपटकको चुनावमा उसले कम सिट ल्याएको छ । पार्टीमा थोरै सिट भएका कारणले अध्यक्ष उपेन्द्र यादवलाई ‘ब्यालेन्स’ मिलाउन गाह्रो भइरहेको छ । जसपा संघीय परिषद्का अध्यक्ष अशोक राईलाई संसदीय दलको नेता नबनाएको कारण पार्टीमा आन्तरिक विवाद उत्पन्न भएको छ । अध्यक्ष राई पक्षका नेताहरू असन्तुष्ट छन् । सामाजिक सञ्जालदेखि लिएर विभिन्न फोरममा उनीहरुले पार्टी नेतृत्वको आलोचना गरिरहेका छन् ।

वर्तमान सरकारलाई जसपाले समर्थन गरेको छ भने सरकारमा जाने तयारी पनि भइरहेको छ । सो पार्टीमा मन्त्री कसलाई बनाउने भन्नेमा विवाद पनि सुरु भएको छ भने मन्त्री बन्ने आकाङ्क्षी नेता थुप्रै देखिएका छन् । पार्टीले मन्त्रीहरू सरकारमा पठाउँदा एक चरण असन्तुष्टिका स्वरहरू बाहिर आउने र पार्टी विभाजनसम्मको खतरा उत्पन्न हुनसक्ने पार्टीका नेताहरू बताउन थालेका छन् । त्यसले गर्दा पार्टी सङ्कटमा छ । त्यस सङ्कटबाट बच्नका लागि पनि जसपाले नेकपा एकीकृत समाजवादीसँग एकता गर्न खोजेको देखिन्छ ।

जसपासँग फुटको शृङ्खला जति लामो छ, त्यति नै लामो शृङ्खला एकताको पनि छ । जसपाका एक जना कार्यकारिणी सदस्यले भने, ‘जब जब पार्टीमा कुनै खतराको सङ्केत देखिन्छ अनि उपेन्द्र यादवले कुनै नै कुनै दलसँग एकताका लागि प्रयास गर्नुहुन्छ र एकता हुन्छ पनि ।’

अशोक राई नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीदेखि पछिल्लो राजपा नेपालसम्मको एकतालाई हेर्ने हो भने पार्टीमा संकट उत्पन्न भएपछि त्यसलाई ढाकछोप गर्न एकताको प्रक्रिया अगाडि बढाउने काम भयो र त्यसमा धेरै हदसम्म उपेन्द्र यादव सफल पनि भए ।

२०७२ मा अशोक राईसँग पार्टी एकीकरण गर्दा उपेन्द्र यादवसँग १० जना सांसद मात्र थिए । तर सोही पार्टीबाट अलग भएको विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीसँग १४ जना सांसद थिए । संसद्मा गच्छदार नेतृत्वको दलभन्दा ठुलो दल बनाउनका लागि उपेन्द्र यादवले अशोक राईको पार्टीसँग एकीकरण गरेर १५ जना सांसदको नेता बनेका थिए । त्यतिबेलाको संसद्मा गच्छदारको पार्टी पाँचौँ ठुलो पार्टी थियो । जब उपेन्द्रले राईसँग एकीकरण गरे, अनि गच्छदारलाई उछिने ।

२०७४ को चुनावमा पनि उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमभन्दा महन्थ ठाकुरको राजपा नेपालले एक सिट बढी ल्याएको थियो । संसद्मा त्यो पार्टीभन्दा ठुलो पार्टी बनाउन उपेन्द्र यादवले डा.बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिसँग एकीकरण गरेको थियो ।

त्यतिबेला राजपा नेपालसँग १७ जना सांसद थिए भने फोरमसँग १६ । बाबुरामसँग एकीकरण गरेर फोरमले पनि १७ जना सांसद पु¥यायो । पछिल्लो समय पनि पार्टी फुट्न लागेपछि उपेन्द्र यादवले राजपा नेपालसँग एकीकरण गरेर जसपा नेपाल बनाएका थिए । त्यसपछि उपेन्द्र यादव संसद्मा ३४ जना सांसदको नेता बनेका थिए ।

तर पार्टीमा एउटा अर्को पनि गुनासो छ । सो पार्टीका एक नेताले भने, ‘जब जब पार्टीमा महाधिवेशनको कुरा उठ्छ, तब तब कुनै न कुनै पार्टीसँग एकीकरणको कुरा बाहिर आउँछ ।’ २०६५ मा वीरगञ्जमा भएको पहिलो महाधिवेशनपछि हालसम्म सो पार्टीमा महाधिवेशन भएको छैन ।

महाधिवेशनका लागि पटक पटक मिति तय भए पनि कुनै न कुनै पार्टीसँग एकता गरेर पार्टीको विधान तथा नाम परिवर्तन गरेर नयाँ पार्टी बनाएपछि महाधिवेशन गर्ने आवश्यकतालाई यादवले टार्दै आएका छन् । महाधिवेशनका लागि मिति तय भए पनि उपेन्द्र यादवले त्यही बीचमा अशोक राईको पार्टीसँग एकीकरण गरेर संघीय समाजवादी फोरम बनाए । सो पार्टीको महाधिवेशन २०७५ माघ गर्ने मिति तय भयो । तर समय नपुगेको भन्दै सो महाधिवेशनलाई २०७६ वैशाख २८ र २९ गतेका लागि सारियो ।

तर त्योभन्दा पहिले नै भट्टराई नेतृत्वको पार्टीसँग एकीकरण गरेर समाजवादी पार्टी बनाइयो । समाजवादी पार्टीको एकता महाधिवेशन गर्ने तयारी सुरु भएपछि त्यही बीचमा राजपासँग एकीकरण गरेर जसपा बनाइयो ।

जसपा विभाजन भयो । अहिले पुनः महाधिवेशनको चर्चा बैठकमा सुरु भएको छ । पार्टीको विधान अधिवेशन गर्नका लागि उपेन्द्र यादवको नेतृत्वमा समिति पनि बनाइसकेको छ । तर यही बीचमा माओवादी केन्द्र, एकीकृत समाजवादीसँग एकताको चर्चा सुरु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप