शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रिजल्ट प्रकाशन गरेर मात्रै स्ववियुको कार्यतालिका आउनुपर्छ : नेविसंघ अध्यक्ष शेर्पा

बिहीबार, २८ पुस २०७९, ११ : २३
बिहीबार, २८ पुस २०७९

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गतेका लागि तोकिएको छ । त्रिविले स्ववियु निर्वाचनको मिति घोषणा गरेपनि विभिन्न मितिमा लिइएका परीक्षाको नतिजा भने प्रकाशित गर्न सकेको छैन । विद्यार्थी संगठनहरूले समेत नतिजा ननिकाली कार्यतालिका सार्वजनिक नगर्न चेतावनी दिइरहेका छन् । प्रस्तुत छ, स्ववियु निर्वाचनका विषयमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पासँग गरिएको कुराकानीको सम्पादित अंशः 

नेविसंघले स्ववियु चुनावको तयारी थालेको हो ? 

संगठनले तयारी थालेको छ । क्याम्पसहरूदेखि विश्वविद्यालयमा केन्द्रीय प्रतिनिधि पठाउने काम गरिरहेका छौँ । जिल्ला भेलादेखि क्याम्पस कमिटी गठनको काम पनि अगाडि बढाइरहेका छौँ ।

संगठनको आन्तरिक कामलाई तीव्रता दिएका छौँ । संगठनको आन्तरिक काम र स्ववियु चुनावको तयारीलाई सँगसँगै अघि बढाइरहेका छौँ । जहाँ जहाँ भेला गर्दै आएका छौँ, त्यहाँ स्ववियु चुनाव केन्द्रित छलफल पनि चलिरहेको छ । संगठनको आन्तरिक काम माघ भरीमा गरिसक्छौँ । त्यसपछि फागुनमा स्ववियु चुनावको तयारी गरी चैतमा चुनावमा जान्छौँ ।  

त्रिविले घोषणा गरेको स्ववियु चुनावप्रति तपाईंहरूको धारणा के छ ? 

सर्वप्रथम चुनावको मिति अघि सारेकोमा हामी स्वागत गर्छौ । हामी सबै ढंगबाट सहयोग गर्न तयार छौँ । हामीले के भनेका छौँ भने लामो समयदेखि आंगिक क्याम्पस बाहेकमा चुनाव हुन सकेको छैन । देशभरीका महत्वपूर्ण क्याम्पसहरूमा स्ववियु चुनाव हुन सकेको छैन । एकले अर्कालाई दोष लगाउने काम हुनुभएन् । 

त्रिविको कल्याणकारी बैठकमा हामीले जुनसुकै मितिमा पनि चुनावमा जान तयार छौँ भनेका छौँ । किनभने नेविसंघले जहिले पनि सिस्टमलाई हेर्छ, विश्वविद्यालयको मेजर स्टकहोल्डर भनेको विद्यार्थी हो । तर विश्वविद्यालयको सिनेटमा, क्याम्पसको सञ्चालक समितिमा प्रतिनिधित्व हुन सकेको छैन । जसले गर्दा विद्यार्थीको आवाजहरू बुलन्द हुन सकेको छैन् । विश्वविद्यालयमाथि प्रश्न चिन्ह खडा भइरहेको छ । समयानुकूल पाठ्यक्रम, ल्याबहरूको व्यवस्थापन गर्न सकेका छैनौँ । समयमै रिजल्टहरू आउन सकेको छैन । यो विषयमा कहीँ न कहीँ स्ववियुसँग जोडिएको छ । 

लामो समयदेखि रिजल्ट नआउँदा विद्यार्थीहरूमा नैराश्य पैदा भइरहेको छ । ६ महिनाभन्दा बढी समय भएका केही विषयमा अझै पनि रिजल्ट आउन सकेको छैन । ती विषयको कमसेकम कार्यतालिका आउनुभन्दा पहिला रिजल्ट निकाल्नुपर्छ ।

चुनाव भाँडिने हो कि भन्ने आशङ्का पनि यथावत छ नि ? 

स्ववियु भनेको विद्यार्थी नेतृत्व जन्माउने संस्था हो । जसले गर्दा नेविसंघले जहिले पनि नतिजा नहेरीकन सिस्टमलाई जोगाउन तथा बचाउन पहिलो प्राथमिकतामा राख्ने गरेको छ । 

हिजो पनि काँग्रेसले आफू हार्दा पनि चुनाव गराएको थियो । तर, स्ववियु चुनाव गराउनको लागि विश्वविद्यालयका पदाधिकारीहरूले औपचारिक रूपमा बैठक राखेर हामीलाई पनि बोलाएर माइन्युट गर्न लगाउनुहोस् र त्यसको पहिलो सिग्नेचर गर्न नेविसंघ तयार छ भनेका छौँ । 

यस्तो गर्‍यो भने सबै सरोकारवालाबीच अपनत्वको भावना जाग्छ र कोही पनि चुनावबाट भाग्न सक्दैन । त्यही भएर पहिलो काम माइन्युट गरेर यो काम गर्नुहोस् भनेका छौँ । 

त्यसरी माइन्युट गरिएको खण्डमा सबैलाई चुनावप्रति जिम्मेवार बनाउँछ । कोही पनि आफ्नो जिम्मेवारीबाट पछि हट्न सक्दैनन् । र, चुनाव भाँडिने अवस्था आउन सक्दैन, त्यसका लागि त्रिवि अग्रसर हुनुपर्छ । 

त्रिविले हामीहरूसँग औपचारिक छलफल गरेको छैन । अनौपचारिक छलफल मात्रै गरिएको छ । औपचारिक छलफल गरेर अगाडि बढेमा हाम्रो संगठन चुनाव सम्पन्न गराउन अग्रसर हुनेछ । 

रिजल्ट नै नआईकन कसरी चुनाव हुन्छ ? यस्तो अवस्थामा तपाईंहरू विद्यार्थीहरूसँग कसरी भोट माग्नुहुन्छ ?

लामो समयदेखि रिजल्ट नआउँदा विद्यार्थीहरूमा नैराश्य पैदा भइरहेको छ । ६ महिनाभन्दा बढी समय भएका केही विषयमा अझै पनि रिजल्ट आउन सकेको छैन । ती विषयको कमसेकम कार्यतालिका आउनुभन्दा पहिला रिजल्ट निकाल्नुपर्छ । त्यस्तो गर्न सकियो भने विद्यार्थीहरूमा सकारात्मक सन्देश जान्छ । 

उपकुलपतिज्यूलाई हामीले चाँडो भन्दा चाँडो रिजल्ट निकाल्न अनुरोध गरेका छौँ । विद्यार्थी रिजल्ट कुर्दाकुर्दै विदेश गइसके । विद्यार्थीले जबका लागि एप्लाईदेखि लोकसेवाको तयारी गर्न पाएका छैनन् । अर्को आशङ्का के छ भने रिजल्ट दिन नसक्नेले कसरी यत्रो स्वविय चुनाव गराउन सक्छ भन्ने गम्भीर प्रश्न छ । त्यही भएर पहिला रिजल्ट निकाल्नुहोस् अनि मात्रै कार्यतालिका निकाल्नुहोस् भनेर नेविसंघबाट अनुरोध पनि गरेका छौ, चेतावनी पनि दिएका छौ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप