शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डलको मन्त्रीहरू कहाँ ‘घरदैलौ’

बुधबार, ०४ माघ २०७९, २० : ०८
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले बुधबार  उपप्रधानमन्त्री एवं गृहमन्त्री  रवि लामिछाने, उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद  लिङ्देन र  श्रम, रोजगार तथा सुरक्षा मन्त्री डिपी अर्यालसँग भेटवार्ता गरेको छ ।

संघकाको प्रतिनिधिमण्डलले गृहमन्त्री लामिछानेलाई भेटेर ज्ञापनपत्र बुझाएको छ  सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित भेटघाट कार्यक्रममा संघका कार्यकारी अध्यक्ष रबिना थापाले संविधानले नै परिकल्पना गरेको गैरआवासीय नेपाली नागरिकतालाई तत्काल कार्यान्वयनमा ल्याउन संघको तर्फबाट गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराइन् ।

वैदेशिक रोजगारीका नाममा टर्की, पूर्वी युरोपका बुलगेरिया, क्रोएसिया, हंगेरी, रोमानिया, स्लोभाकिया लगायतका मुलुकमा बढ्दो मानव तस्करी अन्त्य गर्न ठोस् कदम चाल्न नेपाल सरकारले यथाशिघ्र पहल नगरेर भयावह स्थिति आउनेतर्फ सचेत गराउँदै अध्यक्ष थापाले सरकारले व्यवस्थित र प्रभावकारी रूपमा उक्त समस्याको हल गर्नुपर्नेमा जोड दिइन् ।

संघका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरआवासीय नेपाली नागरिकताको मुद्दा यथाशक्य छिटो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । गैरआवासीय नेपाली संघका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा गृहमन्त्री लामिछानेले नागरिकताको सबै विषयलाई एकै ठाउँमा राखेर समाधानको प्रयास गर्दा थप गिजोलिएको बताए ।

उनले भने, ‘नागरिकताको सवालमा सबै कुरा एकै ठाउँमा हालियो सायद त्यसले गर्दा यो गिजोलियो । एक एक गर्दै  ति गिजोलिएका विषयलाई केलाउनु जरुरी छ ।  त्यसमा देखा परेका समस्या समाधानको जिम्मेवारी गृह मन्त्रालयको हो, र त्यो जिम्मेवारी पूरा गर्न मन्त्रालय सक्षम, सबल छ र प्रतिबद्ध छ ।’

त्यस्तै स‌ंघले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री अर्याललाई वैदेशिक रोजगारीको बहानामा पछिल्लो समय यूरोपेली देशहरुमा बढ्दै गएको मानव तस्करी अन्त्य गर्न तत्काल ठोस कदम चाल्न आग्रह गरेको ।

जवाफमा मन्त्री अर्यालले मानव तस्करीको जालो पन्छाउन नेपाल सरकारले ठोस कदम चाल्ने  प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि अध्ययन आवश्यक भएकोले पहिले अध्ययन गर्ने र अन्तरमन्त्रालयगत रूपमा सहकार्य र समन्वय गरेर अघि बढ्ने मन्त्री अर्यालको भनाई थियो । उनले भने, ‘म पनि श्रमिक नै हुँ, श्रमिककै आवाज बोल्न र उहाँहरुकै काम गर्न यहाँ आएको हुँ, मैले आफ्नो र मन्त्रालयको तर्फबाट गर्नुपर्ने सबै काम गर्न म प्रतिबद्ध छु ।’

यता प्रतिनिधिमण्डलले र ऊर्जा तथा सिँचाइमन्त्री लिङ्देनलाई भेटेर हालसम्म गरिआएको काम,नेपाल सरकारको तर्फबाट सम्बोधन भई आएका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानुनी सुधार सम्बन्धमा ज्ञापन पत्र  बुझाएको छ ।

जवाफमा मन्त्री लिङ्देनले गैरआवासीय नेपालीका मागप्रति सकारात्मक रहेको भन्दै तिनलाई सम्बोधन गर्न प्रतिबद्ध रहेको बताए । नेपालको ऊर्जा आर्थिक तथा अन्य सबै क्षेत्रमा पनि गैरआवासीय नेपालीलाई सहभागी गराउँदै अघि बढ्ने उनको भनाई थियो ।

भेटका अवसरमा संघका अन्तर्राष्ट्रिय संयोजक भीम उदास, संघका महिला सचिव राधिका गुरुङ,  सचिव खगेन्द्र न्यौपाने, प्रवक्ता सोम सापकोटा युवा संयोजक अब्दुल वसिद, क्षेत्रीय उपसंयोजक, (मध्यपूर्व) अमित चाम्लिङ राई, पूर्व उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, एनसीसी रसियाका अध्यक्ष शिवमणि भुर्तेल, एनसीसी टर्कीका अध्यक्ष उज्ज्वल कुमार घिसिङ, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप