शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बीमालेख नक्कल नगर्न अध्यक्ष सिलवालको चेतावनी

बिहीबार, ०५ माघ २०७९, १७ : ३१
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले ५ वर्षभित्रमा बीमा व्यवसाय दोब्बरले वृद्धि गर्ने परिकल्पनाका साथ काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । बिहीबार ललितपुर कुपण्डोलस्थित प्राधिकरणकै केन्द्रीय कार्यालयमा निर्जीवन बीमकसँग बीमा अभिकर्ता व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले यस्तो निर्देशन गरेका हुन् । 

सोही अवसरमा अध्यक्ष सिलवालले एक अर्काको बीमालेखको नक्कल नगरी नयाँ नयाँ बीमालेख ल्याउन तथा अस्वस्थ प्रतिस्पर्धा नगर्न समेत कम्पनीहरूलाई निर्देशन दिएका छन् ।

अध्यक्ष सिलवालले भने, ‘बीमा अभिकर्ता बीमाका बारेमा राम्रोसँग बुझेको, बीमा व्यवसायका बारेमा जानकारी भएको, बीमा कम्पनीका बारेमा थाहा भएको हुनुपर्छ । बीमा अभिकर्ता बीमा कम्पनीले छान्ने भएकाले ती विषयमा कम्पनीहरूले ध्यान दिनुपर्छ । बीमा अभिकर्ताले कम्पनीलाई बजारमा स्थापित गर्न सक्नुपर्छ, कम्पनीहरूले परिमाणभन्दा गुणस्तरमा ध्यान दिनुपर्छ ।’

हालै भएको विमान दुर्घटनाको बीमा दाबी भुक्तानीमा समस्या नरहेको उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘ठुला जलविद्युत आयोजना लगायत ठुला किसिमका संरचनाहरूको बीमा गराउनका लागि बीमा कम्पनीहरूबाट पनि प्रयास हुनुपर्‍यो । कम्पनीहरूले आफूले आर्जन गरेको रकमको दुई प्रतिशत कर्मचारीहरूको क्षमता अभिवृद्धिमा खर्च गर्नुपर्‍यो । त्यसका लागि कर्मचारीहरूले पनि व्यवस्थापनसँग माग गर्नुपर्‍यो’ उनले भने । 

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐनमा व्यवस्था भए बमोजिम एक बीमक, एक बीमा अभिकर्ता गर्नका लागि नदोहोरिने गरी प्रविधिमैत्री किसिमले बीमा अभिकर्ताको व्यवस्थापन गर्न लागिएको जानकारी दिए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले प्राधिकरणले आफ्ना काम कारवाहीलाई प्रविधिमैत्री बनाउन जोड दिँदै आएको बताए । 

नेपाल बीमा प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले बीमा कम्पनीले बीमा अभिकर्तालाई कामबाट अगल गर्दा निजसँग लेनदेन बाँकी नरहेको प्रमाणपत्र दिनुपर्ने र बीमा अभिकर्ताले बीमा कम्पनीमा प्रवेश गर्दा विगतमा अन्य कम्पनीमा काम गर्दा लेनदेन बाँकी भए आफैले बुझाउने कबुलियतनामा गरेको हुनुपर्ने स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप