बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशमा सुशासन कायम हुन सकेको छैन : मुख्यमन्त्री जम्कट्टेल

शुक्रबार, ०६ माघ २०७९, १५ : ०५
शुक्रबार, ०६ माघ २०७९

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेतृत्वकर्ता र जिम्मेवार व्यक्तिहरूले प्रदेशमा सुशासन कायम गर्न नसकेको बताएका छन् ।

शुक्रबार हेटौंडामा आयोजित प्रदेश लोक सेवा आयोगको तेस्रो वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशमा सुशासन कायम गर्न नसक्दा राम्रा कामको समेत चर्चा हुन् नसकेको बताए । सुशासन व्यक्तिको व्यवहार र संस्कृति भएकाले यसलाई सबैले पालना गर्नुपर्ने उनको भनाई छ ।

‘हामी सबैले सुशासन पालना गर्नुपर्छ । सुशासन व्यक्तिको व्यवहार र संस्कृति हो । नेतृत्व तहमा बस्ने सबैले यसको पालना गर्नु सक्नु पर्छ,’ उनले भने, ‘हामीले प्रदेशमा कसैले पनि सुशासन कायम गर्न सकेका छैनौ । हामीले गरेका कैयौँ राम्रा काम सुशासन पालना नगर्दा चर्चा हुन सकेको छैन ।’

मुख्यमन्त्री जम्कट्टेलले सरकार गठनको सुरुवातदेखि नै निर्माण गर्नुपर्ने कानुनहरू सूचीकृत काम गरेको र त्यसैको प्रतिफलको रूपमा प्रदेश लोक सेवा आयोग गठन गर्न सफल भएको बताए । प्रदेशमा लोकसेवा आयोग गठन भएपछि प्रदेश र स्थानीय तहमा अभाव रहेको जनशक्ति पुरा गर्न सहज भएको उनको भनाई छ ।

संघीय सरकारकाले कर्मचारी समायोजन र लोक सेवा आयोग सम्बन्धी कानुन बनाएसँगै प्रदेशमा लोक सेवा आयोग गठन सम्बन्धी कानुन बन्न सहज भएको उनले बताए ।

‘हामीले लोक सेवा आयोग गठन गरेर कर्मचारी भर्ना प्रक्रिया पनि गरिसकेका छौँ । सुरुवाती चरणमा संघीय निजामती सेवा ऐन नबन्दा प्रदेश निजामती ऐन बनाउन सकिएन । जसले गर्दा प्रदेश किताब खाना गठन हुन सकेन । सोही कारण कर्मचारीको तलब वितरण तथा व्यवस्थापनमा असहजता भोग्नु परेको थियो ,’ उनले भने, ‘हाल उक्त समस्या हल भइसकेको छ । प्रदेश सरकारले अध्यादेश मार्फत प्रदेश निजामती ऐन जारी गरेपछि उक्त समस्या हल भएको छ भने प्रदेश किताब खाना सञ्चालन गरी काम सुरु गरिसकेको छ ।’

मुख्यमन्त्री जम्कट्टेलले सुरुवाती चरणमा प्रदेश नयाँ संरचना भएकाले काम गर्न समस्या हुँदै आएको बताए । उनका अनुसार हाल प्रदेशमा कायम रहेका संरचनागत समस्याहरू समाधन हुँदै गएको र काम गर्न सुहज भएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले अझै पनि प्रदेशमा ३ हजार ५०० कर्मचारी अपुग रहेको र लोकसेवा आयोगमार्फत् विज्ञापन गरी पदपूर्ति गरिने बताए । उक्त कर्मचारी भर्ना सम्पन्न भएपछि भने प्रदेश लोक सेवा आयोग फुल फेजमा सञ्चालन आइ काम गर्ने उनले बताए ।

७ वटा प्रदेशमा बागमती प्रदेश लोकसेवा आयोगले नेतृत्वदायी भूमिका खेलेको भन्दै उनले प्रदेश लोक सेवा आयोगले स्थापनको ३ वर्षमा १ हजार ४२० जना कर्मचारी नियुक्त गरेपछि सरकारको काममा सहज भएको बताए ।

लोक सेवा आयोगलाई परेको समस्या समाधानमा प्रदेश सरकारले भूमिका खेल्ने उनले बताए । विगतमा भएका समस्याहरू हल हुँदै गएको र संघीय सरकारसँगको समन्वयमा आइपरेका थप कानुनी अड्चन फुकाउँदै लैजाने उनले बताए । समृद्ध र सुशासनयुक्त प्रदेश निर्माण सबैको कर्तव्य रहेकाले आ–आफ्नो जिम्मेवारीहरू पुरा गर्न उनले आग्रह गरे  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप