बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निबन्ध : गाउँको आत्मनिर्भरता

शनिबार, ०७ माघ २०७९, ०८ : ३२
शनिबार, ०७ माघ २०७९

म आजभन्दा करिव चालीस वर्ष अगाडिको समय सम्झँदै छु । जतिखेर म आफ्नो बालवय पुरा गरी किशोरावस्थातिर पाइलो टेक्नलागेको थिएँ । त्यतिखेरको मेरो गाउँ कति आत्मनिर्भर थियो ? त्यसको सानो चर्चा गर्दैछु । 

अहिले हामी हरेक कुरामा परनिर्भर बन्दै गएका छौँ । अरु  कुराको त परै छाडौँ, सयपत्रीको फूलमा समेत आत्मनिर्भर बन्न सकेकाछैनौँ । हरेक तिहारमा विदेशको फूल ल्याएर माला उन्छौँ । आफ्नो दलान आँगन बढार्ने कुचो र खरेटोमा पनि आत्मनिर्भर बन्न सकेका छैनौं । कति लज्जाजनक स्थिति छ हाम्रो । 

गाउँ आत्मनिर्भर नभई देश आत्मनिर्भर हुनसक्तैन । हुन त सबै कुरामा सबै राष्ट्र आत्मनिर्भर छैनन् । यो हुन सक्ने कुरापनि होइन । आ–आफ्नो प्रकति, भूगोल, खास अवस्थिति र विशेषता अनुसारको चिज–वस्तु उत्पादन गरेर त्यसको आर्जन–आम्दानीबाट देशले आफ्नो पैतलाको बलमा उभिने कोसिस गर्नुपर्छ । 

तर हामी कृषिप्रधान मुलुकका बासिन्दा, कृषि उपजमा नै दिन परदिन परालम्वी बनिरहेका छौँ । यो निश्चय नै दुःखको कुरा हो । म सानो छँदाको मेरो गाउँको सानो चित्र यहाँ वर्णन गर्न चाहन्छु । त्यतिखेरको गाउँ अहिलेको तुलनामा साँच्चै आत्मनिर्भर थियो । गाउँभरिलाई पुग्ने कपडा किराँतिनी आमाहरुले घरमै तान हालेर बुन्ने गर्थे । 

हरेकको करेसावारीमा कपास उमारिन्थ्यो । अँइटो चर्खा चलाएर धागो काटिन्थ्यो र हाते तानबाट थानका थान खाँडी बुनिन्थ्यो र त्यही खाँडीको कमेज सुरुवाल टोपी लाएर म हुर्किएको थिएँ ।

अँगेनामा आगो निभ्दा, मेलापात रनवनमा सुर्तीबिँडी खानुपर्दा सलाई लाइटरको प्रयोग गरिदैनथ्यो । घरघरमा झुलो, चकमक र दर्सिन् ढुंगाको जोहोतोहो हुन्थ्यो । झुलो, चकमक र दर्सिन् ढुंगो ठोसेर आगो पारिन्थ्यो । हाम्रो आफ्नो आगो पार्ने प्रविधि थियो त्यो ।अब त्यो प्रविधिपनि अहिले करिव करिव गाउँबाट मासिएर गयो ।

गाउँकै सिरानमा बस्ने सार्की बाहरुले सिएका छालाका जुत्ता लगाउने चलन थियो । गाउँमा मरेका बूढा गाई, गोरु, भैँसीको छालालाई घरेलु विधि, प्रविधि र रसायनको प्रयोग गरी छालालाई प्रशोधन गरिन्थ्यो । अनि खास्सा खास्साका जुत्ता, पेटी, खुकुरीको दाप बनाएर गाउँभरि पु¥याइन्थ्यो । गाउँकै छालाबाट गाउँमै जुत्ता तयार हुन्थे । जुत्तामा आत्मनिर्भर त्यो समय सम्झिँदा अहिले मनमा भारी पीडा हुन्छ ।

बाहरुले चिठीपत्र, अर्जी, तमसुक, बही, राजीनामा, कबुलियतनामा लेख्न लोक्ताबाट नेपाली कागज तयार पार्नुहुन्थ्यो । घरेलु वनस्पतिबाट मसी तयार पार्नुहुन्थ्यो । बाँसका पाइनदार कलमले कुम्भोको मसीदानी चोब्दै अक्षरहरु कोर्नुहुन्थ्यो । 

अहिलेका महँगा लेखन सामग्री सबै विदेशबाट आयातित छन् । तर सो समयमा कागज कलम मसीमा समेत गाउँ आत्मनिर्भर थियो । 
गाउँमा अनाज पिसाउने पानीघट्ट थियो । कुटानी पिसानीका लागि जाँता ढिकीहरु थिए । अहिले करिव करिव जाँता, ढिकी र पानीघट्टहरु विलीन भएर गए । 
हाम्रा ती पुरानो मौलिक प्रविधिलाई न त जोगाउन सकियो, न त समयअनुसार परिमार्जन गर्नै सकियो । कुटानी र पिसानीमा गाउँ आत्मनिर्भर थियो । तर, आज पराइदेशको प्रविधि भित्र््याएर हामी परालम्वनको बाटोमा हिँडिरहेका छौँ ।

माटाका मात्र किन, चँदाराले खोलामा भाँडी थापेर काठका सामग्री कुद्ने गर्थे । ठेका, ठेकी, हर्पे, आरी, माली, गरियो, कठुवा, ढुङ्ग्रो अनेकन सामग्री बनाएर गाउँ गाउँमा बेचिन्थ्यो । आज ती भाँडापनि हराए, त्यो प्रविधिपनि हरायो । 

हरेक व्याँसीका खेतहरुमा उखु लगाइन्थ्यो । उखु पोल्ने यामान यामानका कोलहरु घुमाएर सख्खर खुँदो बनाइन्थ्यो । र, सात गाउँलाई आवश्यक गुलियोजन्य पदार्थ आपूर्ति गरिन्थ्यो । 
आज उखु पेल्ने ती कोलहरु मासिए । उखु पेल्ने मात्र होइन, तोरी फिलुङ्गे, चिउरी, घोडाखरी, कागती, निबुवा पेल्ने जातजातका खालखालका कोलहरुपनि हराए । छपनीहरु हराए । चुरुङ्गी र पेरुङ्गाहरु हराए । 

गुलियोजन्य पदार्थ उत्पादनमा, तेलहनजन्य पदार्थ उत्पादनमा, अमिलोजन्य पदार्थमा पनि गाउँ आत्मनिर्भर थियो । हिउँदका दिनमा कुमालेले माटाका भाँडाहरु गाग्रा, मटिया, हाँडी, हण्डी, भिउँट, आरी बनाउँथे । गाउँ गाउँमा आफ्नै माटोका भाँडा प्रयोग गरिन्थे ।

अहिले ती भाँडा बनाउने प्रविधिपनि मास्सियो । कुमालेहरुको पुख्र्यौली पेसापनि सङ्कटमा प¥यो ।  ती हाम्रो माटाका भाँडा पनि हराए । आज अर्कै देशका कारखानाले तयार गरेका भाँडाका सुताहा उपभोक्ता बनेका छौँ हामी । 

माटाका मात्र किन, चँदाराले खोलामा भाँडी थापेर काठका सामग्री कुद्ने गर्थे । ठेका, ठेकी, हर्पे, आरी, माली, गरियो, कठुवा, ढुङ्ग्रो अनेकन सामग्री बनाएर गाउँ गाउँमा बेचिन्थ्यो । आज ती भाँडापनि हराए, त्यो प्रविधिपनि हरायो । 

बाबियो, हात्तीबार, भोर्ले, सनपाटका लोहोत्ताबाट पाट निकालेर दाम्लो, नाम्लो, डोरी, बरिया अनेकन डोरीजन्य सामग्रीको उत्पादन र प्रयोग गरिन्थ्यो । बजारे आयातित डोरीको प्रयोग त के परिकल्पना समेत थिएन । 

तर हाम्रा आफ्ना पाटका डोरी नाम्लाहरुको ठाउँमा अहिले अर्कै देशबाट आयातित नाइनलका डोरीको खपत बढिरहेको छ । दुना, टपरी र सिन्कामा पनि हामी सो समयमा आत्मनिर्भर थियौँ । तर तीपनि हराए आज ।

नेती, मदानी, घुर्राे र ठेकोको प्रयोगबाट मही पारिन्थ्यो । गबुवा दूधेरोमा दूध दुहिन्थो । दूध, दही, घिउ, महीमा हामी आत्मनिर्भर थियौँ । विदेशी डाल्डा र हरिद्वारमा निर्मित पतञ्जलीको घिउ कुन चरीको नाम हो ? थाहै थिएन । टनका टन पहाडे घिउ भारतलगायत तेस्रो मुलुकमा पैठारी हुन्थ्यो ।

हाम्रो गाउँमा आफ्नै बारी बगैँचामा फलेका निबुवा, कागती, जुनार दारिमहरुको अमिलो पेल्ने हाते कोलहरु थिए । त्यसबाट निकालेको रसलाई चुक अमिलो बनाउने आफ्नै विधि, प्रविधि र अँगेनाहरु थिए । घर घरमा काठ, डुँड र खोपामा मौरीका घारहरु लस्करै राखिएको हुन्थ्यो । मह, मैन र अन्य कुरामा हाम्री साँच्चै आत्मनिर्भर थियौँ । आजस्वदेशी महलाई विदेशी महले विस्थापित गरिरहेको अवस्था छ । 
    
खेतीमा हामी आफ्नै प्रविधि र सीपको प्रयोगले आफ्नो खुट्टामा उभिएका थियौँ । हलो, हरिस, लगना, फाली, अनौ, सोइला, जुवा, जोतारो, हल्लुँड, पाटी, ठेडीँ, फाली, दाँदे, फ्याउरी, डल्लेठो जस्ता चिजमा आफ्नै सीप र काष्ठकलाको प्रयोग थियो । 

यतिमात्र होइन, घरायसी काममा प्रयोग हुने ठेकी, चुँदो, हर्पे, गरियो, माली, टोलुङ, खर्पन, थुन्से, डोको, डाकर, ऐँटा, थुरी, साँभी, मुस्ली, हतासो, हतेउरी, बट्नेउटो, सरा, पर्रा, मानी, मदानी, कुन्जो, राँवो, बसिला, मान्द्रो पेरुङ्गो, धोबे, नाङ्ला, डाला आदिमा आत्मनिर्भर थियौँ ।

गाउँकै कामीका आरनमा कचियाँ, कट्टी, कर्द, खुकुरीदेखि तरवार, खुँडा खड्गसम्म तयार हुन्थे । गाउँकै सुनारेले माखीमुन्द्रो, तिलहरी, गलहरी, कल्ली, कम्मरी, हारी, हँसुली, शिरपूmल, चन्द्रफुल, नौगेडी तयार गर्थे । गहना निर्माणमा पनि गाउँ आत्मनिर्भर थियो ।

गाउँकै पशुजन्य उत्पादनबाट दूध, मासु, फलफूलमा आत्मनिर्भर थियौँ । आज जस्तो भारत र तिब्बतबाट भेडा च्याङ्ग्रा ल्याउनु पर्दैनथ्यो । घरघरमा कँैची, छुरा, लवस्तरो, सिलीढुंगो हुन्थ्यो । कपाल दारी काट्न कुनै विदेशी भैयाको सैलुन चाहर्नु पर्दैनथ्यो । 

वर्षेनी देशको खरवाैँ खरव मुद्रा सानोतिनो चिज किन्नमा विदेशिएको छ । यसलाई रोक्न आफ्नै उत्पादनलाई बढावा दिनुपर्ने घडी आएको छ । हाम्रै जस्तो गरिवीबाट केही वर्ष अघिसम्म जापान, कोरिया, मलेसिया र चीनजस्ता देश गुज्रिएका थिए । उनीहरुले आत्मनिर्भर बन्न ठूलो मेहनत र तपस्या गरे । हामीले पनि त्यस्तै मेहनत गर्नुपर्ने समय आएको छ ।

दुना, टपरी, बोहरा, खोची खिल्ने सीप हामीसितै थियो । आजजस्तो प्लाष्टिकका थाल कचौरा आयात हुन्नथ्यो । आफ्नै सालधुप सल्ले धुप सल्काएर वातावरण सुगन्धित बनाइन्थ्यो । आजको जस्तो विदेशी अगरवत्तीको सिन्का गाउँमा भित्रिएको थिएन । 

जातजातका खालखालका गुन्द्री, पिरा, गजेरा, सुकुल, चकटी आमाहरु गाउँमै बुन्थे । आज जस्तो आयातित प्लाष्टिक सिन्थेटिकका सुकुल चटाई गाउँमा निषेध थियो । 

गाउँमा भेडा पालिन्थ्यो । ऊन कटेर राडी, पाखी, गलैँचा, लुकुनी, स्वीटर, जर्सी तयार गरिन्थ्यो । औषधि र जडीबुटीमा हाम्रो आफ्नै परम्परागत ज्ञान र सीपको प्रयोग गरी विरामी निको पारिन्थ्यो । 

घरेलु विधि प्रविधिको प्रयोग गरी रक्सी, जाँड, निगार बनाइन्थ्यो । त्यो बनाउन आफ्नै फोसी, बाटा, पैनीको प्रयोग हुन्थ्यो । तर आज गाउँका हरेक पसलमा विदेशी वियर, भोड्का, रम, ह्विस्की ब्रान्डी पुगिसकेको छ ।

चालीस वर्ष अघि मैले देखेको आत्मनिर्भर समाज यसरी आज आफ्नो सीप र प्रविधि गुमाएर परनिर्भर बन्दैछ । आफ्नो मौलिक पहिचान मासेर अर्काको वैशाखी टेकेर उभिँदै छ । 
विदेशी ज्ञान, सीप, प्रविधि, भित्रिन दिनु हुँदैन भनेको होइन । आफ्नो प्रविधि मासेर, आफ्नो जिनिस समाप्त पारेर अरुको बस्तु उपभोग गर्ने अल्छे, पङ्गु, सुताहा ग्राहक हुँदाखेरी हाम्रो आम्दानी सबै विदेश जाँदोरहेछ ।
     
समय अनुरुप, युग अनुरुप हामीले आफ्नो मौलिक प्रविधिलाई पारिमार्जित गर्नुपर्ने घडी आएको छ । आफ्नै पितापूर्खाले आर्जन गरेको सीपलाई विकसित र वैज्ञानिक गर्दैजानुछ । 
वर्षेनी देशको खरवाँै खरव मुद्रा सानोतिनो चिज किन्नमा विदेशिएको छ । यसलाई रोक्न आफ्नै उत्पादनलाई बढावा दिनुपर्ने घडी आएको छ । हाम्रै जस्तो गरिवीबाट केही वर्षअघिसम्म जापान, कोरिया, मलेसिया र चीनजस्ता देश गुज्रिएका थिए । उनीहरुले आत्मनिर्भर बन्न ठूलो मेहनत र तपस्या गरे । हामीले पनि त्यस्तै मेहनत गर्नुपर्ने समय आएको छ ।

मेरो आशय अरु देशको उत्पादन आयात गर्दै नगर्ने भन्ने होइन । मूल कुरा त आफ्नो देशमा उत्पादन गर्न सकिने, बनाउन र निर्माण गर्न सकिने बस्तुको आयात रोक्नुपर्छ । देशमा उत्पादन हुने चिजको उत्पादनमा आजै देखि लाग्नुपर्दछ । 

जुनचिज देशमा उत्पादन गर्न असम्भव छ, जुनचिज उत्पादन गर्न आयात गर्न भन्दा बढी लागत लाग्छ । त्यस्ता चिजमात्र छनौट गरी विदेशबाट आयात गरिनुपर्छ ।
    
अब पनि हामीले मेहनत नगरे कसले गर्ने ? अहिले नगरे, कहिले गर्ने ? अवपनि हामी आत्मनिर्भर नहुने हो भने कहिले हुने ? यी सोचनीय प्रश्न हुन् । आफ्नै खुट्टामा उभिएको मानिस सुन्दर देखिन्छ, न कि वैशाखीको सहारामा उभिएको मानिस ? आफ्नै पौरख र पसिनामा बाँच्ने मानिस स्वाभिमानी हुन्छ न कि परालम्बी भएर बाँचेको मानिस ?
हामी एकैचोटि आत्मनिर्भर पनि हुनुछ, स्वावलम्वीपनि हुनुछ । यसको लागि पूर्खाले छोडेका नासो र विरासतलाई पुनरुत्थान र पुनर्उत्पादन गर्नुछ । आत्मनिर्भर हुने यस भन्दा अर्को विकल्प छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुण्य कार्की
पुण्य कार्की
लेखकबाट थप