बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

निर्दोष भनी ७२ जनाको बकपत्र, तर तीन करोड बिगो जरिबाना तिर्न नसक्दा लालबहादुर जेलमा

सोमबार, ०९ माघ २०७९, १२ : २५
सोमबार, ०९ माघ २०७९

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१९, बरहमपुर फूलबारी टोलस्थित १० धुर जग्गामा एउटा सानो छाप्रो हालेर बसेका लालबहादुर विक अहिले जेलमा छन् । तीन फुट फराकिलो बाटो छेउको सो जग्गामा लालबहादुर र उनका भाइ अरुणको हक लाग्छ । यो जायजेथा बेच्दा पनि ५–७ लाख रुपैयाँभन्दा बढी आउँदैन । तर, उनलाई सुनसरी जिल्ला अदालतले ३ करोड १४ लाख बिगो जरिमानासहित फैसला गरेपछि उनी जेल जानुपरेको छ । 

घटना

२०७५ असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौजनाले २०७२ सालदेखि सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्सविरुद्ध ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हालेका थिए । एक दिनपछि असार २१ गते जिल्ला अदालत सुनसरीमा त्यही ज्वेलर्सविरुद्ध अर्को मुद्दा दर्ता भयो । अदालतमा २ सय ७५ जनाबाट १० हजारदेखि १० लाख रुपैयाँसम्म रकम लिएर ठगी गरेको मुद्दा सिंहदेवी ज्वेलर्सविरुद्ध पर्‍यो । मुद्दा पर्नुभन्दा अढाई वर्ष अगाडिदेखि सोही ज्वेलर्समा कालिगडका रूपमा कार्यरत लालबहादुर विकलाई पनि विपक्षी बनाइयो । उक्त मुद्दामा २०७८ पुस १९ गते आएको फैसलामा १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम भयो भने उनलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिमाना र तीन वर्ष जेल सजाय सुनाइएको छ ।

उक्त मुद्दामा ज्वेलर्सका सञ्चालक तथा मुख्य प्रतिवादी दीपक गजमेर छन् भने अन्य प्रतिवादीमा सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा, कमल विश्वकर्मा र उनै लालबहादुर विक छन् । त्यसमध्ये लालबहादुर उक्त ज्वेलर्समा काम गर्ने कालिगड मात्रै थिए ।

‘प्रतिवादी गोपाल भन्ने लालबहादुर विश्वकर्मा ज्वेलर्सका कामदार हुन् । निजबाट म ठगिएको होइन’ भनी जाहेरवाला बलराम पुरी, पवित्रा गिरी, गंगादेवी गुरुङ, अर्जुनकुमार वन, चुँडाबहादुर क्षेत्री, भीमकुमारी राई, कृष्णबहादुर क्षेत्री, रत्नकुमारी राई, ख्याम अधिकारी, लिलादेवी दाहाल, लिलाबहादुर अधिकारी, बलराम गुरुङ, पुष्पा राई, निर्मला राई, चित्रबहादुर अधिकारी, चन्द्रकला श्रेष्ठ, कोपिला पुरी, पदमबहादुर गुरुङ, संजोग राई, सुकमित गुरुङ, सुमित्रा गिरी, चन्द्रबहादुर लामिछाने, दिव्यश्वरी पुरी, तारा बस्नेत, उमादेवी गुरुङलगायत ७२ जनाले बकपत्र गरेका छन् ।

तर, न्यायाधीश निर्मला योङयाको फैसलामा कसैको बयान सुनिएन । अदालतको फैसलामा लालबहादुर र प्रमुख प्रतिवादी तथा जाहेरीवालाले दिएको बकपत्रमै उनी निर्दोष रहेको देखाउँछ । 

फैसलामा उल्लिखित बयानको केही अंश :

लालबहादुर विकको बयान

निजहरू (प्रो.दीपक गजमेरका छोराहरू दीपक विश्वकर्मा गजमेर, कमल विश्वकर्मा गजमेर र छोरी सीता विश्वकर्मा गजमेर) नहुँदा निज (प्रो.दीपक गजमेर) को बुबा कृष्णबहादुर गजमेरको आदेश निर्देशनमा मैले सिंहदेवी ज्वेलर्स इन्डस्ट्रिज प्रालि लेखिएको पासबुकमा कन्चन चौधरीबाट जम्मा गरेको नगद रु.५,००,०००।– (पाँच लाख) र अम्बिका अन्जना राईको जम्मा गरेको नगद रु.१०,७२,०००।– (दशलाख बहत्तर हजार) मा तथा अन्य पासबुकमा समेत कृष्णबहादुर गजमेरको आदेश निर्देशनमा मैले दस्तखतसम्म गरिदिएको हो । पैसा कृष्णबहादुर गजमेरले राखेका हुन् । अन्य रकम सम्बन्धमा मलाई केही थाहा छैन । 

1

2

प्रतिवादी कृष्णबहादुर विश्वकर्मा गजमेरले अदालतमा गरेको बयान 

सहप्रतिवादी गोपाल भन्ने लालबहादुर विश्वकर्मा हाम्रै सुन पसलका कालिगड हुन् । सिंहदेवी ज्वेलर्स इन्डस्ट्रिज प्रा.लि. इटहरी २४ तरहराका प्रो. दीपक गजमेरका छोराहरू दीपक विश्वकर्मा गजमेर, कमल विश्वकर्मा गजमेर र छोरी सीता विश्वकर्मा गजमेर समेत पसलमा नहुँदा मलाई दस्तखत गर्न नआएकोले मैले निज कालीगढ गोपाल भन्ने लालबहादुर विश्वकर्माले सिंहदेवी ज्वेलर्स इन्डस्ट्रिज प्रा.लि. लेखिएको पासबुकमा कन्चन चौधरीबाट जम्मा गरेको नगद रु. ५,००,०००।– (पाँच लाख) र अम्बिका अन्जना राईको जम्मा गरेको नगद रु. १०,७२,०००।– (दशलाख बहत्तर हजार) लगायतका पासबुकमा दस्तखत गर्न नलाई सो रकम म आफूले बुझिलिएको हो । दैनिक कारोबारको रेखदेख सम्बन्धी प्रमुख जिम्मेवारी छोरा दीपक विश्वकर्मा गजमेर आफैंले गर्थे, निज नभएको बेला म लगायत छोरा कमल विश्वकर्मा गजमेर र छोरी सीता विश्वकर्मा गजमेर समेतले कारोबार गर्ने गरेका थियौंै । छोराछोरी कोही पसलमा नहुँदा कहिलेकाहीँ पसलका कालिगड गोपाल भन्ने लालबहादुर विश्वकर्मालाई मैले पासबुकमा दस्तखत गर्न लगाई नगद म आफूले बुझिलिई राख्ने गर्दै आएको थिएँ । 

प्रतिवादी दीपक विश्वकर्मा गजमेरले लालबहादुर विकको विषयमा अदालतमा गरेको बयान

मेरा सम्पूर्ण संस्थाहरूबाट भए गरेका कारोबारमा प्रतिवादीहरू कृष्णबहादुर विश्वकर्मा, सीता विश्वकर्मा, कमल विश्वकर्मा र गोपाल भन्ने लालबहादुर विश्वकर्माको कुनै संलग्नता र सहमति समेत छैन । निजहरूलाई मैले अह्राएको समयमा मात्र पासबुकबाट पैसा लिनुदिनु गर्नुहुन्थ्यो । 

कसुर ठहर खण्डको २१ नम्बर बुँदामा लालबहादुर विकबारे अदालतको ठहर

प्रस्तुत मुद्दाका प्रतिवादीहरू दीपक विश्वकर्मा गजमेर, कृष्णबहादुर विश्वकर्मा गजमेर, कलम विश्वकर्मा र सीता विश्वकर्मा एकै घरका सदस्य र गोपाल भन्ने लालबहादुर विश्वकर्मा दीपक विश्वकर्मा समेतले सञ्चालन गरेको सिंहदेवी ज्वेलर्सका कामदार रहेको भन्ने प्रतिवादीहरूको बयान बेहोरा समेतबाट देखिन्छ । जाहेरीवालाहरूको भनाइ, बरामदी मुचुल्का र प्रतिवादीहरूको बयान व्यहोराबाट प्रतिवादीहरूले सिंहदेवी ज्वेलर्स, सिंहदेवी ज्वेलर्स इन्डष्ट्रिज प्रा.लि. र सिंहदेवी मनि ट्रान्सफर संचालन गरी सिंहदेवी ज्वेलर्स समेत बैंक जस्तै हो भन्ने विश्वास दिलाउन सोको नाममा पासबुक समेत छपाई जाहेरवालाहश्रु समेतको खाता खोली (अभिलेख रजिष्टरमा जनाई) निजहरूबाट विभिन्न मितिमा ठूलो मात्रामा रकम बुझी लिई/निक्षेप जस्तै संकलन/स्वीकार गरी पासबुकमा जनाई दस्तखत समेत गरी उक्त पासबुक सम्बन्धीत बचतकर्तालाई दिने गरेको भन्नेमा विवाद गर्नुपर्ने अवस्था देखिएन ।

यस्तै बुँदा नम्बर २२ को अन्तिममा भनिएको छ, ‘जाहेरवाला र प्रतिवादीहरूको समेतको भनाईका आधारमा हेर्दा ठगी गर्ने कार्यमा प्रतिवादी दीपक विश्वकर्मा गजमेरको मुख्य भूमिका/संलग्नता र अन्य प्रतिवादीहरू कृष्णबहादुर विश्वकर्मा गजमेर, सीता विश्वकर्मा र गोपाल भन्ने लालबहादुर विश्वकर्माले ठगी गर्ने कार्यमा प्रतिवादी दीपक विश्वकर्मा गजमेरलाई मद्दत पुर्‍याउने मद्दतकार/मतियारको भूमिका निर्वाह गरेको भन्ने देखिई कसुरको मात्र घटीबढी भएपनि जाहेरवाला समेतको रकम ठगी गर्ने कार्यमा प्रतिवादीहरूको संगठित र सामूहिक संलग्नता रहेको भन्ने पुष्टि हुन आयो ।’

अदालतको फैसलामा सजाय निर्धारण खण्डको अन्तिम सारांश यस्तो छ, ‘साविक मुलुकी ऐन ठगीको महलको ४ नं. बमोजिम प्रतिवादीहरूबाट अभियोगपत्रसाथ संलग्न बिगो तालिकामा उल्लेख भए बमोजिम जाहेरीवाली सुकमित गुरुङसमेत २७५ जनाको बिगो अठार करोड चौरासी लाख छैसट्ठी हजार आठ सय उनानब्बे रुपैयाँ निज जाहेरवाला समेतलाई दामासाहीले भराई दिने ठहर्छ । सो ठहर्नाले अरुमा तपसिल बमोजिम गर्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३१ बमोजिम यो फैसला गरिदिएको छ ।’

पैसा राख्न दिनेहरू नै भन्छन्, ‘लालबहादुर निर्दोष हुन्’

लालबहादुरकी छिमेकी मीनाकुमारी खत्रीले १० वर्षअगाडि उक्त ज्वेलर्समा २ लाख रुपैयाँ राखेकी थिइन् । तर, अहिले अदालतले गरेको फैसलामा लालबहादुर जेल परेको उनलाई न्यायोचित लागेको छैन । ‘लालबहादुरलाई त कर्मचारी राखेको हो नि । स्टाफलाई पैसा राख्न लगाएको हो । बाउले पैसा राख्थ्यो, पासबुकमा चाहिँ आफूले सही गथ्र्यो,’ उनी भन्छिन् । खोटाङ दिक्तेलबाट तराई झरेकी उनले धान, मकै, कोदो, बाख्रापाठा बेचेको पैसा जम्मा गरेकी थिइन् । गाउँका प्रत्येकजसो घरका पैसा राख्न दिने गरेको उनी बताउँछिन् । ८० वर्षीया विष्णुमाया ढुंगाना पनि लालबहादुरकै छिमेकी हुन् । उनले पनि लालबहादुरले कुनै कसुर गरेजस्तो आफूलाई नलागेको बताउँछिन् ।

पेसी सरेको सर्‍यै

जिल्ला अदालतको फैसलाको विरुद्धमा लालबहादुरले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेका छन् । आउँदो माघ २४ गतेका लागि पेसी तोकिएको छ । 

गत साउन २० गते उच्च अदालतमा निवेदन दिएका हुन् । उनको पेसी गत पुस ३ गते राखिएको थियो । विविध कारणवश पेसी पुस २६, माघ ३ हुँदै माघ २४ गतेका लागि सरेको छ । अदालतले छिटो फैसला गरे हुन्थ्यो भन्ने परिवारको आशा छ । ‘पेसी पनि सरेको सर्‍यै गर्छ । मान्छेको बेहाल भइसक्यो,’ लालबहादुरकी श्रीमती दिलकुमारी गहतराज भन्छिन्, ‘मुद्दा लगाउने सुक्मित गुरुङले पनि लालबहादुर दोषी छैन भनेर बकपत्र गरेका छन् । के खालको फैसला गरेको बुझ्नै सकिएको छैन । मानवताको नाताले हेर्दा पनि यो अन्यायपूर्ण नै हो नि !’ 

उनको पक्षबाट बहस गर्दै आएका कानुन व्यवसायी निराजन ओझाले फैसला त्रुटिपूर्ण रहेकै कारण उच्च अदालत गुहार्नुपरेको बताउँछन् । ‘वास्तवमा लालबहादुर निर्दोष छन्, उनलाई जिल्ला अदालतको फैसलाले अन्याय गरेको छ, उच्चले त्यसलाई सच्याउँछ भन्ने लाग्छ,’ उनी भन्छन् ।

lalbahadurko Ghar (1)

मासिक ज्याला २२ हजार जति 

८ कक्षासम्म पढेका लालबहादुरको मासिक तलब तोकिएको थिएन । सिक्री बनाएबापत लिएको ज्याला जोड्दा मासिक २२–२३ हजार हुने गरेको लालबहादुरकी श्रीमती दिलकुमारी बताउँछिन् । दिलकुमारी र लालबहादुरको विवाह १० वर्षअगाडि भए पनि सन्तान छैनन् । सुन पसलमा ज्याला–मजदुरी गर्ने लालबहादुरको भरमा ७० वर्षीय बुवा (हर्कबहादुर), ६८ वर्षीय आमा (सीता) र श्रीमती दिलकुमारी थिए । दिलकुमारीको भनाइ छ, ‘हाम्रो ३ करोड १४ लाख बराबरको सम्पत्ति कहाँ देखियो ? संसारको कुनै ठाउँमा लगेर राखेको छ कि घर अगाडिको बाटोमा गाडेको छ कि ? हेर्नुपर्‍यो । अनुसन्धान होस् । हामीले कहाँसम्म न्याय माग्न जानू ? बिना गल्तीको मान्छे जेलमा सडिरहेको अवस्था छ । हामीमाथि अन्याय भएको छ ।’

उनीहरूको घर भएको स्थानको १० धुर जग्गा भाइ अरुणसहितको हो । बुबा हर्कबहादुरले दाजुभाइले ५–५ धुर जग्गा बाँडेर खानु भनेर अंश दिएका थिए । त्यही जग्गामा लालबहादुरले दुबई गएर ल्याएको पैसाले सानो घर बनाएका हुन् । घर बनाउँदा केही ऋण लागेको थियो । त्यो ऋण अझै तिर्न नसकेको दिलकुमारी बताउँछिन् । ‘ऋण काढेर, बैंकबाट पनि ऋण लिएर घर बनाएका हौँ । अझै पनि ऋण तिर्न सकेका छैनौँ । हार्डवेयरमा २ हजारका दरले मासिक तिरिरहेका थियौँ । साहुले महिनाको १२–१३ हजार किस्ता तिर्दिनुभएको थियो,’ उनी भन्छिन्, ‘घर भएको जग्गा रोक्का छ । यो जग्गा बेच्दा प्रतिधुर एक लाख रुपैयाँ मूल्य पनि आउँदैन, ऋण तिर्नैपुग्दैन । अहिले मेरो हातमा पनि कुनै काम छैन । मुद्दा मामिलाकै कारण दौडादौड गरिरहनुपरेको छ । अहिले त बिहान के खाने बेलुका के खाने भन्ने नै समस्या छ ।’

Laleko buba aama (1)

गोठालो–खेतालो बसेको मान्छेलाई यत्रो बिगो जरिमाना र दोषी ठहर गर्नु अन्याय भएको उनी बताउँछिन् ।

लालबहादुरका बुवा हर्कबहादुर आफ्नो छोराले ठगी गरेर कमाएको भए जायजेथा हेर्न र आफ्नो घर पनि आउन अनुरोध गर्छन् । ‘मेरो घर चित्राले बारेको छ । झ्याल ढोकामा पर्दा हालेर बसेको छु । दैलो हाल्न सकेको छैन । यहाँ आएर हाम्रो अवस्था हेर्दा पनि थाहा हुन्छ । नखाएको विष हामीलाई किन लागेको ? गरिबलाई किन रुवाएको ? न काल आएर मरिजानु न के गर्नु भएको छ,’ लालबहादुरका बुबा हर्कबहादुर भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप