बारामा फौजी किरा र गभारोले मकै किसान आजित
बारा । बारा जितपुसीमरा–१५ नयाँवस्तीकी सुभ्रदा नेपालले ५ कठ्ठामा लगाएको मकै यसपटक खेतमै सुकेर पहेँलै भएको छ । पहिला पानी लगाएपछि बोटै मर्ला जस्तै भयो, पछि गभारो र फौजी किराले लागेर बोट नै सखापै पारेको उनको भनाई छ ।
‘वर्षेनी मकैमा समस्या देखिन्थे तर बोटै मरेको थाहा थिएन । यसपटक पानी लगाएपछि बोटै मरेर गयो,’ नेपालले भनिन् ‘आफ्नो जग्गा छ, बाँझो के राख्नु भनेर मात्रै हो आम्दानीको हिसाबले हेर्ने हो भने खेत बाँझो राख्दा हुन्छ, खेती गरेर केही फाइदा छैन, दुख मात्रै हो ।’
कृषक नेपालले बजारमा प्रतिकिलो ७ सय देखि हजार रुपैयाँसम्म पर्ने ९०८१ जातको मकै लगाएकी हुन् । कार्त्तिक दोस्रो साता छरेको मकै जमिनदेखि १ हात पनिमाथि उठेको छैन, ५ कट्ठा खेतको मकैको लागि ४ हजारको त औषधी नै हालिसकेको उनी बताउँछिन् । राम्रो उत्पादन देला भनेर महँगोमा बिउ किनेर लगाएको मकै उम्रनासाथ गभारो र फौजी किराले बोट पुरै खाएर पहेँलो बनाएको छ ।
‘मकैमा अहिले धेरै खर्च छ । अनुदानमा मल पाइन्छ भन्छन् बाटो हेर्दा हेर्दा समय बित्छ मल पाइँदैन, त्यसमाथि ५–१० किलोभन्दा दिँदैनन्, धानको पालामा नि मल पाइएन अहिले पनि त्यस्तै हो । यसपटक बाहिरबाट ३५ रुपैयाँ किलोले मल किनेर हालेँ ।’
नेपालजस्तै सोही वडाका चेतबहादुर श्रेष्ठले पनि १५ कट्ठा खेतमा लगाएको मकैमा पात डढ्ने, किरा लाग्ने र बोटै सुक्ने समस्या देखिएको छ । ‘किराको औषधीहरु हाले पनि भएन बोट सुकिरहेको छ,’ श्रेष्ठले भने, ‘अहिले धानमा भन्दा ज्यादा खर्च छ मकैमा छ, किराको औषधी ५ पटक हाल्नुपर्यो, डिएपी, यूरिया मल हाल्नुपर्यो, जोताई पनि धेरै महँगो छ, हजार रुपैयाँ किलोको बिउ ल्याएर रोप्यो यस्तो हुन्छ ।’
प्रतिकिलो ७ सय देखि हजार रुपैयाँको बिउ, पटक पटक किरा मार्ने, दबाई, युरिया, डिएपी,गोबर मल, मकै लगाउनुपूर्वको खेत जोताई, बेला बेलामा गोडमेलले मकै उत्पादन धानभन्दा पनि धेरै खर्चिलो र महँगो भएको कृषकहरूको गुनासो छ ।
गभारो र फौजी किराले मकैको भित्रीमा बसेर कलिलो पात खाइदिँदा बोट पुरै सुक्ने समस्या देखिएको छ । जितपुरसीमरा वडा नं १२ फत्तेपुरकी कृषक निर्मला चौधरीले वर्षेनि मकै बालीमा धेरै किसिमको रोग र किराहरू लागेर समस्या भएको बताएकी छिन् । ‘माटो परीक्षण पनि भएको छैन । धेरै किसिमका किरा आउँछन्, ४/५ पटक त औषधी नै हाल्नुपर्छ,’ चौधरीले भनिन् । पछिल्लो समय चिसो र शीतलहरका कारण पनि मकैबाली फस्टाउन नसकेको कृषकहरूले बताएका छन् ।
मकैबालीमा गभारो र फौजी किराले सताएको भन्दै कृषकहरूले गुनासो गरेपछि जितपुरसीमरा उपमहानगर वडा नं १५ को वडा कार्यालयले ‘मकै बाली उपचार शिविर’ सञ्चालन गरेको छ । शिविरमा कृषकहरूलाई ३ देखि ५ कट्ठासम्म खेतको लागि निःशुल्क गभारो र फौजी किराको औषधी समेत वितरण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण