शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साउना कूटनीति : फिनल्यान्डमा कूटनीतिज्ञबीच नाङ्गै–बुङ्गै भेटघाट किन र कसरी बन्यो महत्त्वपूर्ण ?

सोमबार, ०९ माघ २०७९, १६ : १६
सोमबार, ०९ माघ २०७९

फिनल्यान्डका कूटनीतिज्ञहरूले धेरै वर्षदेखि साउनालाई अन्तर्राष्ट्रिय नीतिहरू छलफल गर्न र समस्याहरू समाधान गर्न आराम गर्ने ठाउँको रूपमा प्रयोग गर्दै आएका छन् । अब बेलायतमा पनि यस्तै खालको एउटा साउना बनाइएको छ ।

बीबीसीका जेम्स ल्यान्डेल साउना कूटनीति के हो र यसले कसरी काम गर्छ भनी पत्ता लगाउन लन्डनमा फिनिश दूतावास भित्र रहेको साउना सोसाइटीमा गए । साउना तातो बाफ लिनको लागि बनाइएको एक विशेष स्थान हो जहाँ एक भन्दा बढी व्यक्तिहरू बसेर घन्टौँ एक अर्कासँग कुरा गर्न सक्छन् ।

कूटनीति थुप्रै रूपमा हुन्छन् – अन्तर्राष्ट्रिय शिखर सम्मेलन, उच्च–स्तरीय बैठक र शानदार रिसेप्सन जहाँ पाहुनालाई उत्कृष्ट रक्सी र चकलेट पेस गरिन्छ ।

तर फिनल्यान्डका कूटनीतिज्ञका अनुसार उनीहरूसँग मानिसहरूको ध्यान आकृष्ट गर्ने एक अचम्मको तरिका छ र त्यो तरिका हो मानिसहरू आफ्नो कपडा खोलेर उनीहरूसँग साउनामा समय बिताउने । उनीहरू यसलाई कूटनीतिको ‘गोप्य हतियार’ मान्छन् ।

वर्षौँदेखि वासिङ्टन डिसी, संयुक्त राज्य अमेरिकामा र विश्वभर फिनल्यान्डको दूतावाससँग एक कूटनीतिक साउना सोसाइटी हुन्छ । अहिले लन्डनमा पनि दूतावासको बेसमेन्टमा साउना सोसाइटी बनाइएको छ । यो गत वर्ष मात्रै खोलिएको हो ।

‘साउना कूटनीति’ को विधि सरल छ । फिनल्यान्डका कूटनीतिज्ञहरूले आफ्ना परिचित र पाहुनालाई दूतावासमा आमन्त्रित गर्छन् । परिचय गरिसकेपछि, मानिसहरू केही ड्रिङ्क लिन्छन् र साउनामा जाने तयारी गर्छन् ।

पाहुनामा महिला समावेश छन् भने उनीहरू पहिलो साउना तिर लाग्छन् । उनीहरूको पालो सकिएपछि पुरुषको पालो आउँछ । अन्त्यमा एक पटक पुनः खानपिनका लागि जम्मा हुने गर्छन् ।

यसलाई नग्न नेटवर्किङ भन्न सकिन्छ र यो धेरै हदसम्म प्रभावकारी पनि छ ।

sauna1कुराको फेदसम्म पुग्नु

हेली सोमिनेन बेलायतमा फिनल्यान्डकी प्रेस सल्लाहकार हुन् । उनी भन्छिन्, ‘फिनल्यान्डमा साउना बाथ लिनु पुरानो परम्परा हो, यो फिनल्यान्डमा मानिसहरूको जीवनको महत्त्वपूर्ण हिस्सा हो ।’

उनी भन्छिन्, ‘साउना कूटनीतिको उद्देश्य मानिसहरू बीचको विश्वास बढाउनु र मित्रतालाई गहिरो बनाउनु हो । यसले खुलेर कुराकानीको लागि राम्रो वातावरण सिर्जना गर्छ । तपाईँले पूरा लुगा लगाउनुभएको हुँदैन त्यसैले सबै जना बराबर देखिनुहुन्छ । तपाईँका  लागि आफ्नो पद र आफ्नो भूमिकालाई बिर्सन सजिलो हुन्छ त्यसैले तपाईँ कुरोको चुरोसम्म पुग्न सक्नुहुन्छ ।’

एक साँझ लन्डनमा मैले साउना कूटनीतिको यो विधिको अनुभव गर्दा मैले वास्तवमै त्यस्तै महसुस गरेँ ।

यद्यपि साउनाको पनि आफ्नै स्पष्ट नियमहरू छन् । तपाईँ पहिले नुहाउनुहुन्छ, त्यसपछि स्विमसूट लगाउनुहुन्छ वा आफैँलाई तौलियाले बेर्नुहुन्छ । पुरुष र महिलाका लागि छुट्टाछुट्टै व्यवस्था छ वा दुवै भिन्न भिन्न समयमा साउनामा जान्छन् । साउनामा छिर्ने बित्तिकै तातो सतहबाट बच्नका लागि एउटा तौलिया दिने गरिन्छ जसलाई ‘बम टावेल’ भनिन्छ । यसलाई बेरेर बस्न सकिन्छ ।

जब म साउनामा प्रवेश गरेँ, थर्मोमिटर अनुसार भित्रको तापक्रम लगभग ८० डिग्री सेन्टिग्रेड थियो । तपाईंको पसिना आउन थाल्छ र यही माहौलमा कुराकानी सुरु हुन्छ । त्यसपछि, कुराकानीको क्रममा मानिसहरूले छिट्टै नै आफ्नो वरपर बनाएका पर्दाहरू हटाउन थाल्छन् ।

यद्यपि, यस प्रकारको साउना कूटनीति सबै देशहरूमा काम गर्दैन । कतिपय ठाउँमा सार्वजनिक ठाउँमा लुगा नलगाएर बस्न स्वीकृति दिइँदैन भने कतिपय ठाउँमा अन्य व्यक्तिसँग सानो ठाउँमा बस्न असहज हुन सक्छ । तर मैले त्यहाँ उपस्थित मानिसहरूलाई यसरी बस्न अप्ठ्यारो भइरहेको छ भनेर सोधेँ, सबैले नकारात्मक जवाफ दिए ।

sauna2फेडेरिको बियान्ची हाल लन्डनमा युरोपियन युनियनका लागि काम गरिरहेका छन् । यो विधि फरक भएकोले आफूलाई मन परेको उनी बताउँछन् । उनको पेसामा, उत्कृष्ट सुट र मोबाइल फोन, कूटनीतिको सामान्य तरिका हो ।

फेडेरिको बियान्ची भन्छन्, ‘तपाईँले लुगा लगाउनुभएको हुँदैन भनेर सुन्दा अचम्म लाग्छ तर आफ्नो अगाडि बसिरहेको मानिसलाई आफ्नो लुक्सले प्रभावित पार्नु पर्छ भन्ने चिन्ता तपाईँलाई फिटिक्कै हुँदैन । तपाईँ शब्दमा मात्रै ध्यान दिनुहुन्छ अर्थात् तपाईँ जे भनिरहनु हुन्छ, त्यसमा ।’

एउटा यस्तो पनि समय आयो जब फिनल्यान्डका राजनेताले साउनालाई सिधा रूपमा कूटनीतिका लागि प्रयोग गरे ।

सन् १९६० को दशकमा शीतयुद्धका बेला फिनल्यान्डका नेता उरहो केकोनेनले तत्कालीन सोभियत राष्ट्रपति निकिता ख्रुश्चेभलाई साउनामा लगेका थिए । त्यहाँ उनले उनीहरूसँग रातभर छलफल गरे र फिनल्यान्डलाई पश्चिमको पक्षमा बस्न अनुमति दिन तयार पारे ।

सन् २००५ मा, जब भ्लादिमिर पुटिन हेलसिन्की गएका थिए, उनले फिनिश राष्ट्रपति टारिया हलोनेनका पतिसँग साउनामा समय बिताए । उनले यसलाई ‘अद्भुत अनुभव’ को रूपमा वर्णन गरे ।

बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप