बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

एमाले सांसद महासेठको प्रश्न : लक्ष्मी महतो जस्ता चर्चित मान्छे कसरी हत्यारा हुन्छन् ?

‘महोत्तरीमा कोइरीको घरघरमा पूजा गरिन्छ’
मङ्गलबार, १० माघ २०७९, १४ : ४५
मङ्गलबार, १० माघ २०७९

काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले सांसद लक्ष्मी महतो (कोइरी) कसरी हत्यारा हुन सक्छन् भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा उनले लक्ष्मीपूजाको दिनमा घरघरमा लक्ष्मीको पूजा गरेजस्तै महोत्तरीमा कोइरीको त्यसरी नै घरघरमा प्रत्येक दिन पूजा हुने गरेको बताएका हुन् । 

‘लक्ष्मीपूजाको दिनमा घरघरमा लक्ष्मीको पूजा गरेजस्तै महोत्तरीमा उहाँको त्यसरी नै घरघरमा प्रत्येक दिन पूजा हुन्छ । शोषित–पीडित जनताले उनको पूजा गर्छन् । यस्तो चर्चित मान्छे कसरी हत्यारा हुन्छन् ?’, महासेठको प्रश्न छ ।

महासेठले कोइरी लोकप्रिय नेता रहेको र उनको मुद्दा पुनरावेदनको क्रममा रहेकाले अहिले नै अपराधी भन्न नमिल्ने बताए । ‘अहिले देशमा लक्ष्मी महतो कोइरीको चर्चा छ । यही प्रतिनिधिसभामा सांसदहरूले धेरै कुरा उठाउनुभयो । अपराधी भन्ने शब्द पनि प्रयोग भयो । प्रहरीले किन पक्रेन भनेर उठाउने काम भयो,’ उनले भने, ‘साँच्चै महतो अपराधी हुन् त ? यदि, अपराधी हो भने निर्वचनमा सरकारले सम्मानित र प्रतिष्ठित पदक, समाजसेवी पदकबाट सरकारले सिफारिस गरेर दिने काम उहाँले किन गर्नुभयो ? त्यो बेला अपराधी हेर्नु भएन ?’ 

महासेठले लक्ष्मी महतोलाई अपराधीकै रुपमा अदालतले किटान नगरेकाले अहिले उनीबारे धारणा नबनाउन अनुरोधसमेत गरे । महासेठले सांसद लक्ष्मी महतो कोइरी दोषी भए पक्राउ गर्न तर पक्राउ नगरेको विषयलाई एमालेसँग नजोड्न आग्रह गरेका छन् ।

उनले साँच्चै कोइरी अपराधी भए एमालेले उनलाई पक्राउ गर्न सहयोग गर्ने र गृह मन्त्रालयले कारबाही गर्न सक्ने बताए । उनले भने, ‘लक्ष्मी महतोलाई प्रहरीले हिरासतमा लिएको छ भने सार्वजनिक गर्नुपर्‍यो । होइन भने एमालेमाथि लगाएको आरोपमा सत्यता छैन । गृह मन्त्रालयलाई मेरो अनुरोध छ कानुनअनुसार काम गर्नुहोस् उहाँलाई समाउनु नै पर्नेछ भने समाउनुहोस् एमालेको नेताबाट बाधा आउँदैन ।’

राजनीतिक व्यक्तित्वलाई चार्ज लाग्ने कुरालाई अपराधिका रुपमा चित्रित नगर्न उनको आग्रह थियो । ‘बीपी कोइरालादेखि गिरिजाप्रसाद कोइराला मात्र होइन, हाम्रै पार्टीका अध्यक्ष केपी ओली, नेताहरू माधव नेपाल, शेरबहादुर देउवालाई पनि पटक–पटक चार्ज लागेकै हो नि,’ उनी भन्छन्, ‘हिजो प्रधानमन्त्री प्रचण्डको पनि टाउको मूल्य तोकिएकै हो नि । मूल्य तोक्ने र तोकिनेले सँगै मिलेर राजनीति चलाएका छन् । राजनीतिमा जे चल्दो रहेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप