शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

१२०० जना विद्यार्थी बस्न ४०० सिटको होस्टेल, कलेजले बेवास्ता गरेपछि आन्दोलन

मङ्गलबार, १० माघ २०७९, १५ : ०५
मङ्गलबार, १० माघ २०७९

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), महाराजगन्ज मेडिकल कलेजमा झन्डै १ हजार २०० विद्यार्थी अध्ययन गर्छन् । आवासीय व्यवस्थासहित उनीहरूलाई पढ्ने व्यवस्था मिलाइएको हो । होस्टेलमा बस्ने र महाराजगन्ज मेडिकल कलेजमा एमबीबीएस पढ्ने गरी व्यवस्था मिलाइएको छ । तर, १२०० विद्यार्थीलाई बस्नको लागि जम्मा ४०० बेड क्षमताको होस्टेल छ । 

जसमा ३ देखि ४०० को हाराहारीमा छात्रा विद्यार्थी अध्ययनरत छन् । तर, उनीहरूका लागि १० वटा कोठा मात्रै उपलब्ध गराइएको छ । एकदमै अव्यवस्थित तरिकाले बस्नुपरेको विद्यार्थीहरूको गुनासो छ । बस्न निकै समस्या भएपछि यतिबेला उनीहरू आन्दोलनमा नै उत्रिएका छन् । 

चिकित्सा शिक्षा सङ्घर्ष अभियान र होस्टेल सुधार समूहले संयुक्त रूपमा आन्दोलन थालेका हुन् । क्याम्पसले होस्टल उपलब्ध नगराएको भन्दै उनीहरूले आन्दोलन थालेका हुन् । सोमबार उनीहरूले क्याम्पसमा ताला लगाएका थिए । ताला लगाउँदा पनि क्याम्पसले बेवास्ता गरेपछि मङ्गलवार उनीहरूले डीनको कार्यालयमा ताला लगाएका थिए । 

तालाबन्दी गरेपछि प्रहरीले उनीहरूमाथि बल प्रयोग गरेको छ । ताला फुटाउँदै प्रहरीले आधा दर्जन विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका विद्यार्थीहरूलाई अहिले रिहा गरिसकेको छ । सरकारले छात्रवृत्तिबाट छानिएका एमबीबीएस अध्ययन गर्ने ७५ प्रतिशत विद्यार्थीहरूलाई निःशुल्क होस्टल व्यवस्था गरेको छ । तर, क्याम्पसले आधा विद्यार्थीका लागि पनि होस्टेको व्यवस्था नगरेको विद्यार्थीहरूको आरोप छ । 

‘करिब १२०० जना विद्यार्थी छौँ । हाम्रा लागि करिब ३०० बेडको होला होस्टेल व्यवस्था गरिएको छ । अब हामी कहाँ गएर बसेर पढ्ने ?’ एक विद्यार्थीले प्रश्न गरे । करिब ४०० जना छात्राहरू छन् । उनीहरूका लागि १० कोठामा मात्र व्यवस्था गरिएको छ । आवासीय चिकित्सक भनेर भनिएपनि आफ्ना लागि आवास नै व्यवस्था नगरिएको उनीहरूको भनाइ छ । 

‘आवासीय चिकित्सकहरूलाई आवास नै छैन । पूर्वाधारहरूको व्यवस्था गर भनेर हामीहरूले आन्दोलन गरेका थियौँ । हिजो क्याम्पसमा ताला लगाएका थियौँ । कुनै सुनुवाइ नभएपछि आज डीनको कार्यालयमा ताला लगाउँदा प्रहरीले दमन गरेको छ । केही साथीहरूलाई गिरफ्तार गरियो । केही साथीहरू घाइते पनि भएका छन्,’ ती विद्यार्थीले भने । 

विद्यार्थीहरूले विभिन्न मागहरू अघि सारेर आन्दोलन थालेका छन् । विद्यार्थीहरूलाई होस्टल व्यवस्था गर्नुपर्ने, डी र ई ब्लकमा बसिरहेका सबै विद्यार्थीलाई उचित ढंगले व्यवस्थापन गर्नुपर्ने, सबै ब्लकका होस्टलका विद्यार्थीको विवरण प्रकाशित गर्नुपर्ने र कोठा नपुगे बाहिर भाडामा भवन लिएर भए पनि उपलब्ध गराउनुपर्ने माग उनीहरूले अघि सारेका छन् । 

‘कक्षाकोठाहरू पनि विद्यार्थीअनुसार छैनन् । विद्यार्थी मात्र थप्ने काम भयो, पूर्वाधारको विकास गर्ने काम भएन,’ उनले भने । महाराजगन्ज मेडिकल कलेजका होस्टेलमा ५ वटा ब्लक छन् । तीमध्ये ए, बी र सी पुराना भवन हुन् । डी र ई नयाँ बनेका भवन हुन् । डी र ई मा अहिलेसम्म विद्यार्थी बसेका छैनन् । 

विद्यार्थीहरूले क्याम्पस प्रशासनसँग गएर बारम्बार नयाँ भवन खुला गर्न र उनीहरूलाई बस्न दिन आग्रह गरेपनि बेवास्ता गर्दै आएको विद्यार्थीहरूको आरोप छ । क्याम्पसले आफ्ना समस्या सुनुवाइ नगरेपछि केही समय अगाडि विद्यार्थीहरू आफैं गएर नयाँ भवनमा बस्न थालेका थिए । 

तर, गत माघ ३ गते क्याम्पसले सूचना जारी गर्दै माघ ८ गतेसम्म होस्टल भवन खाली गर्न निर्देशन जारी गरेको थियो । सरसफाइ तथा मर्मत सम्भार गरेर होस्टेल वैधानिक रूपमा विद्यार्थीलाई वितरण गर्ने भन्दै क्याम्पसले सूचना निकालेको थियो । सूचनापछि विद्यार्थीहरू त्यहाँबाट ननिस्किएपछि क्याम्पसले डी र ई ब्लकको बिजुली काटिदियो ।  

होस्टेलमा बस्दै आएका विद्यार्थीहरूलाई क्याम्पसले अनेकन् दुःख दिन थालेपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ । कलेजले विद्यार्थीहरूलाई होस्टेलका कोठा खाली नभएको भन्दै बस्न दिएको छैन । छात्रवृत्तिमा नाम निकालेर एमबीबीएस पढ्न लागेका कतिपय विद्यार्थीहरू आफ्नै खर्चमा बाहिर बस्न बाध्य छन् । 

जबकि ‘एक्रिडेसन स्ट्यान्डर्ड फर द एमबीबीएस २०१७’ अनुसार ‘एमबीबीएस पढ्न छात्रवृत्ति पाएकामध्ये कम्तीमा ७५ प्रतिशत विद्यार्थीलाई होस्टेलको सुविधा उपलब्ध गराउनुपर्ने’ उल्लेख गरिएको छ । सोही आधारमा छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीले होस्टेल सुविधा पाउनुपर्नेमा कलेजले कोठा खाली नभएको भन्दै विद्यार्थीहरूलाई बस्न दिएको छैन । 

पढाई आधा सकिन लाग्दा पनि होस्टेलको सुविधा पाउन नसकिएको उनीहरूको भनाइ छ । ‘हामीले कानुन अनुसार पाएको सुविधा छोडेर बाहिर बस्न बाध्य भएका छौँ । होस्टेलको कोठा खाली होला र बसौँला भनेर कुरेको पढाई आधा सकिन लाग्यो । आफ्नै खर्चमा बाहिर बस्न बाध्य भएका छौँ, ’ ती विद्यार्थीले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप