शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा क्षेत्र

‘ऐन महर पछिको ‘वेइटिङ प्रिसिडेण्ट’ मा मेरै नाम सहमति भएको हो’

‘नयाँ पुस्ताले भन्दा राम्रोसँग एजेण्डा अगाडि बढाउन सक्छु’: आरसी लामिछाने
शुक्रबार, १३ माघ २०७९, १२ : ५०
शुक्रबार, १३ माघ २०७९

काठमाडौँ ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने संगठनको नेतृत्व लिने तरखरमा छन् । अनेरास्ववियुको फागुन २ देखि ४ सम्म काठमाडौंमा हुन लागेको २३ औं राष्ट्रिय महाधिवेशनबाट आगामी २ वर्षको लागि संगठनको नेतृत्व लिने योजना उनको छ । त्यसका लागि उनले भेटघाटलाई तीब्रता दिएका छन् । 

एकातिर महाधिवेशन गर्नुपर्ने जिम्मेवारी उनकै काधमा छ भने अर्कोतिर संगठनको नेतृत्व लिने गरी तयारी थाल्नु पर्नेछ । उनले आफूलाई अबको अध्यक्षको रूपमा प्रस्तुत गर्दै आएका छन् । त्यो बेला ऐन महरलाई अध्यक्ष बनाउँदा त्यसपछिको ‘वेइटिङ प्रिसिडेण्ट’ आफू हुने भन्ने सहमतिको आधारमा पछि हटेको उनको भनाई छ । 

‘ऐन महरपछि नै आरसी लामिछाने अध्यक्ष बन्ने भनेर म पछि हटेको थिएँ । म अहिले प्रमुख दावेदार हो,’ उनले भने । अनेरास्ववियुको महाधिवेशन घोषणा हुँदा अखिलको महाधिवेशन पहिला कि स्ववियु निर्वाचन पहिला भन्ने बहस चलेको थियो । तर, अन्तमा अनेरास्ववियुभित्र फ्रेस म्याण्डेटसहित स्ववियु निर्वाचनमा जाने निर्णय भएको थियो । 
आफ्नो भन्दा पनि आम नेकपा एमालेको नेतृत्वपंक्ति, अनेरास्ववियुको नेता कार्यकर्तापंक्तिमा आफूले एक पटक अनेरास्ववियुको नेतृत्व गरोस् भन्ने चाहना रहेको उनको भनाई छ । 

ऐन महरले छोडेर जानेबेला आफूलाई सर्वसम्मत रूपमा अध्यक्षमा प्रस्ताव गरिएको तर, एक पटक महिलालाई नेतृत्व दिनुपर्छ भन्ने हिसाबले बीचमा सुनिता बराललाई अध्यक्ष बनाइएको उनको भनाई छ । 

उनले अगाडि भने, ‘समग्र विद्यार्थी आन्दोलनका लागि पुस्तान्तरण गर्ने हो भने म त्यसका लागि तयार छु,’ उनले भने, ‘तर, अहिलेकै समकक्षी साथीहरूको बीचबाट म सबैभन्दा अब्बल, समक्ष, इमान्दार र विद्यार्थी आन्दोलनको नेतृत्व गर्नसक्ने ल्याकत र योजना मसँग छ ।’

अहिले समाजमा उच्छृङ्खलता मौलाएको, स्वतन्त्रको नाममा अराजनीतिक गतिविधि भइरहेको उनी बताउँछन् । सही दिशा दिन नसक्दा आज स्वतन्त्रको नाममा अराजनीतिक गतिविधि बढिरहेको भन्दै त्यसलाई विद्यार्थी आन्दोलनबाटै ट्र्याकमा ल्याइने उनको भनाई छ । 

विद्यार्थी आन्दोलनलाई नयाँ आयाममा पु¥याउन नयाँ ढंगबाट सोच्नुपर्ने भन्दै उनले भने, ‘मसंग विगतका अनुभव र भोलिको भविष्य बोक्ने योजना छ, त्यसको आधारमा काम गरेर विद्यार्थी आन्दोलनलाई समग्र हिसावले अगाडि बढाउनेछु ।’ 

अहिले शैक्षिक क्रान्तिविना देशलाई थप अगाडि बढाउन नसकिने उनको बुझाई छ । ‘शैक्षिक क्रान्तिविना देशलाई थप अगाडि बढाउन सकिन्न । योग्य र दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने हाम्रो दायित्व छ । समग्र राज्य संयन्त्र नै अर्को बाटो हिँडिरहेको छ । त्यसलाई सुल्टो बाटोमा हिँडाउनुपर्ने छ ।’ उनले भने । 

शिक्षा र स्वास्थ्यमा व्यापार गरेर मालामाल बन्नेहरूको लहर समाजमा देख्न सकिने र उनीहरूबाट नै राजनीतिसमेत प्रभावित हुने अवस्था रहेको उनको भनाई छ । विद्यार्थी आन्दोलन लाभको लागि नभई परिवर्तन र प्रतिरोधीका लागि हुनुपर्ने उनी जिकिर गर्छन् ।

‘विद्यार्थी समुदाय लाभका लागि लाग्ने होइन । तर राजनीतिक परिवर्तन पछि सरकार बन्ने, मन्त्री बन्ने, विद्यार्थी आन्दोलनमा लागेकाहरूमा पनि विभिन्न लाभका पदमा जानुपर्छ भन्ने खालको भएको छ,’ उनले भने, ‘त्यसो होइन । विद्यार्थी आन्दोलन सधैँ प्रतिरोधी आन्दोलन हो । यसले सधैँ सडकको आवाजको प्रतिनिधित्व गर्छ र सडकको आवाज बुलन्द पार्ने शक्तिको रूपमा राख्नुपर्छ । अनेरास्ववियुलाई त्यही ढंगबाट धारिलो बनाउनुपर्छ । यो अभिभारा हाम्रो काँधमा छ ।’

समयसापेक्ष परिमार्जन गर्न नसकेर इतिहासको भजन मात्र भट्याएर अगाडि बढ्न खोज्दा गन्तव्यमा पुग्न नसकिने उनी बताउँछन् । विद्यार्थी भएको क्षेत्रमा हामीहरू पुग्न नसकेको भन्दै अबदेखि जहाँ विद्यार्थी त्यहाँ अनेरास्ववियुको अभियान चालिने उनको योजना छ । ‘जहाँ विद्यार्थी छन्, त्यहाँ पुग्न सकेका छैनौं । अहिले अब्बल भनिएका विद्यार्थीहरूमा कहिले पास गरौंला र विदेश जाउँला भन्ने ध्याउन्न मात्र छ,’ उनले भने, ‘उनीहरूलाई देशभित्रै राख्ने वातावरण बनाउनु पर्नेछ । देशभित्रै प्राविधि दक्ष जनशक्ति उत्पादन गर्ने, सीपको विकास गर्ने र रोजगारी अवसर सिर्जना गर्ने तथा समाजमा व्याप्त विकृति विसंगति अन्त्य गर्ने हाम्रो योजना हो ।’ 

समाजमा व्याप्त समस्याको समाधान गर्ने शक्ति भनेको विद्यार्थी आन्दोलन भएको भन्दै त्यो आफूले पुरा गर्ने बताए । ‘समग्र विकृति विसंगति रोक्ने ल्याकत विद्यार्थी शक्तिसँग हुन्छ । त्यो शक्तिलाई सही सदुपयोग गर्न उपयुक्त नेतृत्व चाहिन्छ । यी तमाम समस्याको समाधान गर्ने तागत मसँग छ ।’ उनले भने । 

आफूले अनेरास्ववियुको नेतृत्व गरेको खण्डमा अनेरास्ववियुलाई समग्र विद्यार्थी संगठनहरूको नेता संगठनको रूपमा स्थापित गराउने उनको प्रतिबद्धता छ । 

विगतमा आफूले गरेको काम र विद्यार्थी आन्दोलनमा आफ्नो योगदानको आधारमा आफूले नेतृत्वको दावी गरेको उनको भनाई छ । ‘सानैदेखि विद्यार्थी आन्दोलनमा होमिएको हुँ । अनेरास्ववियुलाई यहाँसम्म पु¥याउन मेरो पनि योगदान महत्वपूर्ण छ । त्यो मैले भन्दा पनि अनेरास्ववियुका साथीहरूले देखेका र बुझेका छन् । जसले गर्दा उनीहरूको माग नै मैले एक पटक संगठनको नेतृत्व गर्नुपर्छ भन्ने छ ।’ उनले भने । 

विद्यार्थी आन्दोलनलाई समय सापेक्ष बनाउन नसकिए डाइनोसर झैं लोप हुने उनको बुझाई छ । 

विद्यार्थीका समस्या समाधान गर्ने औजारको रूपमा विद्यार्थी संगठनलाई लिनुपर्ने भन्दै उनले त्यही आधारमा विद्यार्थीका बीचमा संगठन लैजानुपर्ने बताए । 

अनेरास्ववियुको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने र त्यही नयाँ नेतृत्वको आधारमा चैत ५ गतेलाई तोकिएको स्ववियु निर्वाचन पनि सम्पन्न गरिने भएकाले अरु विद्यार्थी संगठन भन्दा अनेरास्ववियुलाई चटारो छ । 

लामिछानेले अगाडि भने, ‘म यसपालि अनेरास्ववियुको नेतृत्व लिन हरहिसाबले तयार छु । र, रेसको अग्र भागमा छु । अब मसंग कोही नयाँ प्रतिस्पर्धामा आउनुहुन्छ भने ढोका खुल्ला छ । तर, मलाई के विश्वास छ भने नयाँ पुस्ताले बोक्ने एजेण्डा भन्दा मैले राम्रोसँग एजेण्डा अगाडि बढाउन सक्छु ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप