बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँको सडकमा रहेका ६५ प्रतिशत खाल्टाखुल्टी मर्मत

शनिबार, १४ माघ २०७९, ०६ : ३०
शनिबार, १४ माघ २०७९

काठमाडौँ । पछिल्लो दुई सातामा काठमाडौँका सडकमा रहेका खाल्टाखुल्टी ६५ प्रतिशत मर्मत भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार सडकसँग सम्बन्धित आठ निकायको संयुक्त बैठकमा सो जानकारी गराइएको हो। बैठकमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यकामा रहेका सडकसम्बन्धी निकायहरूले एकीकृत स्वरूपमा समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने आवश्यकता औँल्याए। कुनै पनि ठाउँमा समस्या देखिँदा सम्बन्धित निकायले नागरिकप्रतिको आआफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने बताउँदै उनले एकले अर्कोलाई दोष दिएरभन्दा जनताले राम्रो सेवा पाउने गरी काम गर्न नै यस प्रकारको बैठकको आयोजना गरिएको बताए। विकास निर्माणका काम गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्ने उनको भनाइ छ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह , ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य वज्राचार्य, नेपाल टेलिकम, मेलम्ची खानेपानी आयोजना, नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुखहरू सहभागी रहेको सो बैठकमा मन्त्री श्रेष्ठले एउटै ठाउँमा काम गर्ने निकायहरूले एकअर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिए। उनले सडकसँग सम्बन्धित निकायले आआफ्नो जिम्मेवारी इमानदारीपूर्वक पालना गर्नुपर्छ भने।

प्राधिकरणले बत्ती बालेर जनता खुसी भए पनि उसका संरचनाका कारण सडकमा समस्या आएको भनी गुनासो आइरहेको मन्त्री श्रेष्ठले बताए । काठमाडौँ उपत्यकाका सडकमा संरचना रहेका निकायबीच समन्वय गरी सडक सुधार गर्न सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका इन्जिनियर डा। विजय जैसीको संयोजकत्वमा आठ सदस्यीय स्थायी संयन्त्र गठन गरिएको छ।

सो संयन्त्रमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल टेलिकम, मेलम्ची खानेपानी आयोजना, नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड रहेका छन्।त्यसैगरी बैठकले तिनकुनेस्थित बाग्मती पुल र बिजुली बजारस्थित धोबीखोलाको पुलमुनिबाट कोरिडोर सञ्चालन गर्ने निर्णय गरेको छ।  यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप