बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
गौतम बुद्ध विमानस्थलको व्यथा

अन्तर्राष्ट्रिय उडान ठप्प भएपछि व्यवसायीहरू लगानी डुब्ने चिन्तामा

सरकारको चासो कम, आन्दोलनको तयारी
शनिबार, १४ माघ २०७९, ०६ : ५२
शनिबार, १४ माघ २०७९

रुपन्देही । रुपन्देहीको भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि उत्साहित बन्दै लगानी गरेको व्यवसायीहरू पछिल्ला दिनहरूमा  निराश बनेका छन् । 

खास गरी पर्यटन व्यवसायीहरू उत्साहित हुँदै होटेलमा करोडौँ लगानी गरे पनि अहिले खराब मौसम (हुस्सु)को कारण देखाउँदै गौतम बुद्ध विमानस्थलबाट गत पुस ६ (२१ डिसेम्बर) देखि अन्तर्राष्ट्रिय उडान ठप्प छ । 

सिद्धार्थ होटेल एसोसिएसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले करोडौँ लगानी गरेका होटेल व्यवसायीहरु अहिले विमानस्थल नचल्दा ठुलो समस्यामा परेको बताए ।

उनले अझै बन्दै गरेका गरेका होटलहरु बीचमै  निर्माण रोक्ने अवस्थामा पुगेको पनि बताए । पछिल्ला वर्ष अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर विस्तार भएका नान्स होटेल, निर्माणा होटेल, टाइगर रिसोर्ट जस्ता होटल समस्याग्रस्त रहेका छन् ।  

एक त अन्तर्राष्ट्रिय विमानस्थल जुन उद्देश्यले निमार्ण थालिएको थियो, त्यसअनुसार सरकारले चलाउन सकेन । अझै पछिल्ला दिनहरूमा विमानस्थलमा इन्स्ट्रुमेन्ट ल्याण्ड सिस्टम (आइएलएस) जडान भए पनि यसबारे पनि भारतसँग लिखित सहमति नहुँदा अन्तर्राष्ट्रिय उडानमा समस्या  देखिएको हो । 

अहिले हुस्सुलाई कारण देखाएर जजिरा एयरलाइन्स, हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान रोकेका छन् । त्यसको सिधै असर पर्यटन व्यवसायीलाई परेको नाटा लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष सागर अधिकारीले बताए । 

अन्तर्राष्ट्रिय विमान पूर्ण रूपमा नचल्दा लुम्बिनीमा पनि पर्यटकहरू अपेक्षा गरे अनुसार आउन नसकेको लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईले बताए । उनका अनुसार गौतम बुद्ध विमानस्थल निर्माण गर्दा बुद्धटिष्ट देशमा धेरै विमान उडान गर्ने सोचले जापान, म्यानमार, चीन लगायतका देशलाई लक्षित गरियो । तर, सोचअनुसार काम नहुँदा लुम्बिनी पर्यटक नआउनु स्वाभाविक छ । 

 सिद्धार्थ नगर उद्योग  वाणिज्य  सङ्घका अध्यक्ष भीष्म न्यौपानेले सरकारले सुरुमा निमार्णदेखि भारतसँग कूटनीतिक रूपमा  विमानस्थल चलाउने विषयमा छलफल गरेर अगाडि बढ्नु पर्नेमा निर्माण सम्पन्न भएपछि पनि कम चासो दिएको बताए । 

भारतसँग सरकारी तहबाट (जीटुजी) वार्ता गरेर हवाई रुटको लिखित सहमति लिन ढिलाइ गर्न नहुने उनको माग छ । उनले विदेशी एयरलाइन्सले बन्द गरे पनि राष्ट्र र विमानस्थलको शाख जोगाउन नेपाल एयरलाइन्सले उडान नियमित गर्नुपर्नेमा ध्यान नजाँदा समस्या  आएको बताए । 

के भन्छ निगम 

४३ अर्ब लगानी भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको ६ महिनामै सेवा बन्द हुँदा जति चिन्ता यहाँको निजी क्षेत्रलाई छ, त्यति सरकारकी पक्षमा देखिन्न ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले मौसमका कारण १६ डिसेम्बरदेखि स्थगित जजिरा एयरलाइन्सको उडान  पुनः गर्ने तयारी भईरहेकोे बताए । उनका अनुसार मौसम खराब हुँदा भिजिबिलिटी नपुगेपछि केही समयका लागि भनेर जजिराले उडान स्थगित गरेको भएपनि फेरि छिटै सञ्चालन हुनेछ । 

लुम्बिनीको बारेमा प्रचार नगरेकोले राज्य पक्षवाट विमान चलाउने ध्यान नगएको नाटा लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष सागर अधिकारी बताउँछन् । 

विमानस्थल उद्घाटन यता जजिरा एयरलाइन्सले १५४ पटक उडान र अवतरण गरेको थियो । यसबाट ३१ हजार ६ सय यात्रुले सेवा पाएका थिए । बीचमा केही समय दैनिक उडान गरेपनि पछि फेरि सातामा तीन दिन उडान भर्दै आएको थियो । जजिराले आफ्नो उडान अहिले काठमाडौँ केन्द्रीत गरेको छ ।

विमानस्थलको मात्र नभई राष्ट्रकै हवाई सेवाबारे विश्व बजारमा नकारात्मक सन्देश गएको भन्दै निजी क्षेत्रका व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । गत जेठ २ गते विमानस्थल उद्घाटन भएसँगै कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो ।

दबाब दिँदै  निजी क्षेत्र 

अन्तर्राष्ट्रिय उडान कायम राख्नको लागि निजी क्षेत्रले राज्य दबाब दिन सुरु गरेको छ । हवाई रुट अनुमतिसँगै भारतीय नागरिकलाई गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न नो अब्जेक्सन लेटर (एनओसी) को व्यवस्थाका लागि पहल गर्न पनि सरकार चुकेको जिकिर गरिएको छ । त्यसमा सहमत गराउनको सरकारी पक्षलाई  ज्ञापन पत्र बुझाउनेदेखि आफै भारत पुगेर सरोकारवालसँग आफ्नो तर्फबाट छलफल गर्ने तयारीमा यहाँका पर्यटन व्यवसायीहरु लागेका छन् । 

व्यवसायीले केही दिन अघि अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । सिद्धार्थ होटेल एसोसिएसनका अध्यक्ष चन्द्र प्रकाश शर्माले आफूहरूले भारतका पर्यटन व्यवसायीदेखि छिमेकी प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग छिटै भारत गएर छलफल गर्ने तयारीमा रहेको बताए ।

उनले भने, ‘हामी योगी आदित्यनाथसँग समय मागेका छौ । अबको हप्ता १० दिन भारत पुगेर विमानस्थलको  विषयमा कुरा गर्दैछौ । अनि यहाँ नेपाल सरकारका उच्च तहसँग उता भएको छलफल सुनाउने छौ ।’ 

नाटा लुम्बिनी प्रदेश  पूर्व अध्यक्ष सागर अधिकारीले अहिले स्थानीय तहलाई विमानस्थल सञ्चालनको सचेतनामूलक कार्यक्रम गरिरहेको बताए । उनले छिटै दुई तहमा समिति गठन गरेर काम गर्ने जनाए । पहिलो स्थानीय स्तरमा काम गर्ने समिति निर्माण हुनेछ, जसले विमानस्थल चलाउन दबाब सिर्जनाको अगाडि जानेछ । दोस्रो उच्च तहको समितिले नेपाल तथा भारत उच्च व्यक्तिहरूलाई विमानस्थल चलाउनको लागि लबिङ गर्नेछ । 

उनले लुम्बिनीमा रामकथा वाचनको लागि आउन थालेका मुरारी बापुसहित ४ वटा चार्टर विमान भैरहवामा नै अवतरण गराएर गौतम बुद्ध विमानस्थल ठिक छ भन्ने सन्देश भारतमा दिने तयारी गरेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप