शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

प्रेमप्रसाद आचार्य प्रकरण: भाटभटेनीका सञ्चालकसँग प्रहरीले लियो ३ घण्टा बयान

शान कलेजका सञ्चालकसँग पनि सोधपुछ
सोमबार, १६ माघ २०७९, १७ : ४४
सोमबार, १६ माघ २०७९

काठमाडौँ ।  प्रेमप्रसाद आचार्यले आफैँलाई पेट्रोल छर्केर आत्मदाह गरेको घटनामा प्रहरीले भाटभटेनीका सञ्चालकसँग सोधपुछ गरेको छ । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौँमा गएर करिब ३ घण्टा बयान दिएका हुन् ।

माघ १० मा संसद् भवन अगाडी आफैँलाई जलाएका प्रेम प्रसादको भोलिपल्ट कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो । मृत्युअघि उनले उठाएका विषय छानबिन गर्न मन्त्रिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयले प्रहरीलाई जिम्मा दिएको छ ।

आचार्यले उधारोमा समान लिएर भाटभटेनीले लामो समय पैसा नदिने र सो रकम घुमाएर आफैँले नाफा कमाउने गरेको आरोप लगाएका थिए । ६ हजार भन्दा लामो फेसबुक स्ट्याटसमा भाटभटेनीले आफ्नो उत्पादनको पैसा नदिएको उल्लेख गरेका छन् ।

प्रहरीले नक्साल स्थित शान इन्टरनेशनल कलेसँग पनि बयान लिएको छ । टुर प्याकेज गराएको ९० हजार रकम सो कलेजले नदिएको आचार्यले आफ्नो स्ट्याटसमा उल्लेख गरेका छन् । ‘शान इन्टरनेशलले ५ लाखको टुर प्याकेज गराउँदा ३ लाख एडभान्स दिएर अरू दिन आनाकानी गर्थे’ आचार्यले लेखेका छन्–‘भर्ना टाइममा आउनु दिन्छौँ भने तर, मेरो ९० हजार अझै लिन बाँकी छ ।’

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले रातोपाटीलाई बताए । उनले भने–‘केही ठाउँमा पत्राचार गरेका छौँ ।’ सामाजिक सञ्जालमा उठाएका विषय छानबिन गृह गृह मन्त्रालयका सह–सचिव नारायण प्रसाद रिसालको नेतृत्वमा ६ सदस्यीय समिति पनि गठन गरिएको छ । अर्थ मन्त्रालयका उप–सचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप–सचिव सहित समितिमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि पनि सदस्य छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप