सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

जनपक्षीय पत्रकारिता र प्रेस सेन्टर

बुधबार, १८ माघ २०७९, १७ : ५२
बुधबार, १८ माघ २०७९

प्रेस सेन्टर नेपाल क्रान्तिकारी पत्रकारहरूको आस्थाको केन्द्र मात्र होइन आम शोषित पीडित, उपेक्षित समुदायको आशा र मुक्तिको केन्द्र पनि हो। जनपक्षीय पत्रकारिताको इतिहासमा प्रेस सेन्टर आजको मूल नेतृत्व हो भने जनसाधारणको भरपर्दो केन्द्र पनि हो। जनपक्षीय पत्रकारिताको मूल नेतृत्व गरेको प्रेस सेन्टरले आफ्नो गौरवपूर्ण इतिहास निर्माण गर्दै त्याग, वीरता र बलिदानको कीर्तिमान बनाउँदै आजको अवस्थामा आइपुगेको हो। देश परिवर्तनको लागि २०५२ सालदेखि सुरु भएको जनयुद्धको आधिमय तुफानीको जगमा स्थापना भएको प्रेस सेन्टरको इतिहासप्रति गौरव गर्दै यसमा गोलबन्द हुने पत्रकारहरूको सङ्ख्या देशभर ५ हजार भन्दा माथि रहेको छ। 

२०६१ साल माघ १५ गते जनयुद्धकैबिचमा रुकुमको लाबाङमा सम्पन्न प्रथम सम्मेलनबाट मार्फत स्थापना भएको अखिल नेपाल क्रान्तिकारी पत्रकार संघनै पहिलो क्रान्तिकारी पत्रकारहरूको सङ्गठन हो। त्यस भेलाले महेश्वर दाहालको संयोजकत्वमा २१ सदस्यीय समिति निर्माण गर्‍यो। देश परिवर्तनको महाअभियानमा क्रान्तिकारी पत्रकारहरू एउटा हातमा कलम र अर्को हातमा बन्दुक बोकेर बोल्न र लेख्न पाउने हकको ग्यारेन्टी गर्न गणतन्त्र स्थापनाको लागि जनयुद्धमा लामबद्ध भए। 

आजको शान्ति काल र हिजोको युद्धको समय भन्दा केही फरक भए पनि क्रान्तिकारी पत्रकारहरूको दायित्व र भूमिका भने हिजो भन्दा आज झनै बढेको देखिन्छ। जनपक्षीय पत्रकारिता मार्फत हामीले गर्ने भनेको शोषित, उत्पीडित जनसमुदायको आवाज उठाउने र दबिएको आवाजलाई मुलप्रवाहमा ल्याउने हो। आज पत्रकारिताको रूप फेरिए पनि सार पक्ष भने उस्तै छ। समाजमा शोषण विद्यमान छ मात्र त्यसको रूप फेरिएका हो । त्यसबाट आम जनतालाई बचाउन आजको जनपक्षीय मिडियाले नयाँ परिस्थितिमा नयाँ रणनीति निर्माण गरेर आगाडि बढ्नुपर्छ। जनताको आवाज बोल्ने शक्ति बन्न जनपक्षीय पत्रकारहरू कहिँकति चुक्नु हुन्। हिजो जनयुद्ध मार्फत भएको जनविद्रोहको समयमा जनताको आफ्नो शक्ति भन्नु जनताको सेना थियो भने आजको दुनियाँमा त्यसको मूल भूमिका प्रेस सेन्टरले निर्वाह गर्नुपर्ने अवस्था रहेको छ। कलम र आवाज मार्फत जनतालाई आफ्नो हक अधिकारको बारेका सधैँ सजग र जागरूक बनाउन प्रेस सेन्टरमा समाहित भएका पत्रकारहरुको मुख्य भूमिका पूरा गर्नुपर्छ । 

विज्ञानले विकास गरेको सञ्चार प्रबिधिहरुलाई बढी भन्दा बढी जनता र राष्ट्रको पक्षमा प्रयोग गर्न सक्ने क्षमता क्रान्तिकारी पत्रकारहरूमा हुनुपर्छ। जनताको हितलाई केन्द्रमा राखेर त्यस्ता सञ्चार र प्रविधिको विकासलाई आफ्नो वर्गको पक्षमा ढाल्न सक्ने सामर्थ्यबिना जनपक्षीय पत्रकारितालाई बचाउन सकिँदैन। निमुखा जनताको प्रिय सञ्चार सङ्गठन बन्न प्रेस सेन्टरले आफूलाई समय सापेक्ष थप सशक्त र प्रभावकारी बनाउन जरुरी छ। प्रेस सेन्टरले आफ्नो गौरवपूर्ण विरासतलाई बढाउने भूमिका खेल्नु पर्छ। हामीले वर्ग विभाजित समाजमा वर्ग पक्षधरता अनिवार्य सर्त हो। पत्रकारितामा पनि वर्ग पक्षधरता अनिवार्य हुन्छ। स्वतन्त्रताको नाममा अराजकतालाई कहिल्यै प्रशय दिनुहुन्न। हामी अरू बन्ने होइन अरूलाई हामी बनाउने उद्देश्य हाम्रो हुनुपर्छ।   

प्रेस सेन्टरले दलाल पुँजीपतिलाई होइन राष्ट्रिय पुँजीपतिको रक्षा गर्नुपर्छ। आज हामी पनि अन्य बुर्जुवा मिडियाझैँ समाजका भ्रष्ट, दलाल, नाफाखोर, शोषकका आवाज मिडिया मार्फत जनताकोमा पुर्‍याउने काम कदापि गर्नुहुन्न। प्रेस सेन्टरमा आबद्ध पत्रकारहरूले संचारलाई सामूहिक हित, जनहित, राष्ट्रहितमा प्रयोग गर्न सक्नुपर्छ। हामीले गर्ने पत्रकारिताले श्रमजीवी जनतामा खुसी ल्याउन सक्नुपर्छ । 

के आज हामीले त्यस्तो पत्रकारिता गरिरहेका छौ त ? प्रश्नहरू हामी प्रेस सेन्टरमा आबद्ध पत्रकारहरू माथि पनि गरिएको छ। समाजले हामीबाट इमानदारिता, लगनशीलता, वर्गप्रतिको इमानदारिताको आशा गरेको हुन्छ। त्यो नै प्रेस सेन्टरको पुँजी हो। त्यसलाई जोगाइ राख्ने दायित्व प्रेस सेन्टरको काँधमा आएको छ। हाम्रो भनाइ र गराइमा एकरूपता हुनै पर्छ। जनताले विश्वास गर्ने सङ्गठन बन्न हामीले गर्ने पत्रकारिता जनतातर्फ फर्केको, श्रमप्रति सम्मान बढाउने, पारदर्शी हुनुपर्छ। सर्वप्रथम त हाम्रो पत्रकारिता जनपक्षीय हुनै पर्छ भने जनताले त्यसलाई विश्वास पनि गर्ने बनाउन सधैँ जोड दिनुपर्छ। 

हामीले गर्ने पत्रकारिता कसको लागि किन गर्ने भन्नेमा प्रस्ट हुन जरुरी छ। हामीले गर्ने पत्रकारिताले आवाज विहीनहरूको आवाज बोल्नुपर्छ भने आफ्नो वर्गप्रति सधैँ इमानदार बन्न सक्नुपर्छ। जनताले प्रेस सेन्टरबाट न्याय र समानताको आस गरेको हुन्छ, त्यसमा थप विश्वास जगाउन सङ्गठन सधैँ जनताकोबिचमा हुनै पर्छ। त्यसले सङ्गठनलाई थप मजबुद बनाउनुका साथै जनतामा थप भरोसा पैदा गराउँछ ।

(पन्त प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सागर पन्त
सागर पन्त
लेखकबाट थप