शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साना उद्यमीलाई प्रविधिमैत्री बनाउने वातावरण बन्छ : मन्त्री सिटौला

बुधबार, १८ माघ २०७९, २० : २५
बुधबार, १८ माघ २०७९

विराटनगर । प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेश १ का साना उद्योग व्यवसाय र उनीहरूका उत्पादनलाई प्रविधिमैत्री बनाउनका लागि प्रदेश सरकारले वातावरण बनाउने बताएका छन् । 

विद्युतीय अर्थतन्त्रको विस्तारले ठुला उद्योग र उत्पादनले मात्रै बजार प्रवर्द्धनको अवसर पाएको भन्दै सरकारले साना उद्यमीहरूलाई पनि इ–कमर्शमा अभिप्रेरित गर्न मन्त्रालयको तर्फबाट सहयोग पु¥याइने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा बुधबार विराटनगरमा भएको साना उद्यमीका सदस्यका लागि विद्युतीय सचेतिकरण कार्यशालाको उद्घाटन गर्दै मन्त्री सिटौलाले विद्युतीय माध्यमबाट हुने वित्तीय कारोबारको विकासले परम्परागत कारोबारहरु पछि पर्दै गएको बताए । 

आर्थिक क्षेत्रको समस्याले उद्यम व्यवसायमा नयाँ मान्छेहरूको उत्साह नदेखिएको अवस्थामा प्रदेश सरकारले साना उद्यमीहरूलाई सहयोग पुग्ने वातावरणको निर्माण गर्ने मन्त्री सिटौलाले जानकारी दिए । 

‘सरकारले सहयोगको वातावरण बनाउँछ, साना उद्योग र उत्पादनलाई हौसला प्रदान गर्छौँ’ उनले भने ।

कार्यशालामा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा साना उद्यम समितिका सभापति डिबी बस्नेतले कार्यशालाको शीप र ज्ञानले साना उद्योगका उत्पादनलाई सहज रुपमा बजारमा पुग्ने बाटो तयार हुने विश्वास गरे । उनले कार्यक्रमलाई अझ बढी अघि बढाउनुपर्नेमा जोड दिए । 

संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (यूएनसीडीएफ)का कन्ट्री रिलेशनसीप म्यानेजर सरोज नेपालले पछिल्लो समयमा विकास भएको डिजिटल फाइनान्सले मुलुकको आर्थिक गतिविधिलाई नयाँ तरिकाले अघि बढाउन सहयोग पुगेको बताए । मुलुकका डिजिटल इकोनोमीको आवश्यकता बढ्दै गएको समेत उनको भनाइ थियो । 

स्वीस सरकार विकास सहयोग (एसडीसी) की सुब्रिना श्रेष्ठले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र विकासको कामलाई अझ अगाडि बढाउनु पर्ने बताइन् । उनले कार्यशालाका माध्यमबाट साना उद्यमीको उत्पादन र त्यसको बजार विस्तारमा सहयोग पुग्ने जानकारी दिइन् ।

उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिका ढकालले उद्योग व्यवसायीहरुले आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेकोले सरकारले उनीहरुलाई व्यवसायमा फर्काउनका लागि सहयोग गर्नुपर्ने बताए । त्यसको एउटा माध्यम भने विद्युतीय अर्थतन्त्रको प्रयोग र विस्तारको कार्य हुनसक्ने उनको भनाइ थियो । 

महासंघले साना उद्यमीहरुको क्षमता विकासका लागि डिजिटल प्लेटफर्मको प्रयोगबाट इ–कमर्शको प्रवर्द्धन गर्न सचेतिकरणका कार्यक्रमहरु गर्दै आएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का कार्यकारी निर्देशक राधारमण भण्डारीले बताए । उनले कार्यशालामा प्रदेश नं. १ का विभिन्न जिल्लाका महासंघका पदाधिकारीहरु, उद्यमी तथा व्यवसायीहरु, उद्योग प्रतिष्ठानका कर्मचारीहरु लगायत कार्यशालामा ५० जनाको सहभागिता रहेको जानकारी दिए । 

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित कार्यशालामा महासंघका केन्द्रीय सदस्यहरु नरेन्द्र कुमार खड्का, उमेश डालमिया, तारानाथ घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप