शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोठगाउँमा  मेडिकल कलेज सञ्चालनको तयारी

मङ्गलबार, २४ माघ २०७९, १५ : २४
मङ्गलबार, २४ माघ २०७९

विराटनगर । मोरङको सुन्दरहरैंचा र आसपासका पालिकाका स्थानीयले गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने भन्दै लामो समयदेखि राखेको माग पुरा हुने भएको छ ।

२०७८ माघ ५ गते पूर्वाञ्चल विश्वविद्यालय र कोशी अस्पतालबीच शिक्षण अस्पताल सञ्चालन गर्ने सम्झौता भएको थियो । सोही सम्झौतालाई संघीय सरकारले स्वीकृति दिएको हो । सम्झौता स्वीकृत भएसँगै आउँदो चैत मसान्तसम्ममा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक सबै तयारी सम्पन्न गरिने भएको हो ।

मेडिकल कलेज सञ्चालनका लागि चिकित्सा शिक्षा ऐनमा ३ सय शैयाको अस्पताल हुनुपर्ने मापदण्ड छ । 

पूर्वाञ्चल विश्व विद्यालयसँग पर्याप्त पूर्वाधार भएपनि आफ्नै अस्पताल थिएन । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोशी अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न अनुमति दिएपछि  विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनका लागि बाटो खुलेको हो । 

उक्त विश्वविद्यालयका सिनेट सदस्य तथा राष्ट्रिय सभाका सांसद गोपीबहादुर अछामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता गरेर तत्कालै शिक्षक दरबन्दी खुलाउने जानकारी दिए । 

‘अब त्रिपक्षीय सम्झौता हुन्छ । त्यसपछि चिकित्सा शिक्षा आयोगले विद्यार्थी कोटा निर्धारण गर्छ,’ अछामीले भने, ‘कोटा निर्धारण गरेपछि शिक्षक तथा कर्मचारीको व्यवस्थापन गर्ने र अन्य प्रशासनिक तयारी गर्ने काम चैत मसान्तसम्ममा सक्ने हाम्रो तयारी हुन्छ ।’ 

अछामीका अनुसार हाल ४० जनासम्म विद्यार्थी अध्ययनका लागि भौतिक संरचना तयारी अवस्थामा छन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले त्रिपक्षीय सम्झौतापछि मेडिकल कलेज सञ्चालनको काम अगाडि बढ्ने बताए । 

‘एमबीबीएको लागि भवन तयार छ । शिक्षक दरबन्दी खुलाएर अर्को सालबाट एमबिबिएसको पठनपाठन गर्ने गरी अगाडि बढ्छौँ,’ उनले भने । 

सो क्षेत्रबाट निर्वाचित सांसदहरू सुनिल शर्मा, जीवन आचार्य, राष्ट्रियसभा सदस्य गोपीबहादुर अछामीलगायतको पहलमा संघीय सरकार मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले कोशी अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको हो ।

निर्वाचनको पूर्वसन्ध्यामा गोठगाउँमा आयोजित चुनावी सभामा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि गोठगाउँमा मेडिकल सञ्चालन गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए । उक्त प्रतिबद्धता पूरा गर्ने प्रक्रियामा सहयोग गरेको भन्दै सो क्षेत्रका स्थानीयले खुसी व्यक्त गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप