शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
सफलताको कथा

श्रीमान्–श्रीमती नै एकै पटक शाखा अधिकृत !

भन्छन्, ‘कैयौँ सपनालाई मारेर एउटा सपना पुरा भएको छ’
शनिबार, २८ माघ २०७९, १४ : ३०
शनिबार, २८ माघ २०७९

सुर्खेत । श्रीमान्–श्रीमती नै शाखा अधिकृत, त्यो पनि सँगै । यस्तो संयोग जो कसैको जीवनमा आउँदैन । तर पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–६ भडाचौरका मनबहादुर थापा (२६) र उनकी श्रीमती विना केसी (२६) नेपाल प्रशासन समूह शाखा अधिकृतमा एकै पटक सिफारिस भएका छन् । 

एक अर्कालाई बुझ्दै–बुझाउँदै, कमी–कमजोरीलाई औँल्याउँदै अघि बढेका थापा दम्पती अहिले अन्य लोक सेवा आयोग प्रति रुचि राख्नेहरूका लागि प्रेरणाका स्रोत बनेका छन् । सोमबार थापा दम्पतीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पदस्थापन गरिएको स्थायी नियुक्ति पत्र प्राप्त गरिसकेका छन् । 

भनिन्छ, संघर्ष नै सफलता हो । एउटा लक्ष्यमा लगनशीलता, आत्मविश्वास र निरन्तरता दिन सके सफलता खोज्न कहीँ जानु पर्दैन । थापा दम्पतीको जीवनमा उक्त भनाइले सार्थकता पाएको छ । 

मनबहादुरले यो भन्दा पहिला एक पटक शाखा अधिकृतको लागि प्रयास गरिसकेका थिए । तर उनी सफल भएनन् । दोस्रो पटक जसरी पनि शाखा अधिकृत बन्छु भन्ने उनमा दृढता थियो । लगनशीलता र निरन्तर प्रयासले नतिजा आफ्नो पक्षमा आएको उनी बताउँछन् । विना भने पहिलो प्रयासमै शाखा अधिकृतमा सिफारिस भएकी हुन् । यसअघि विना सुर्खेत जिल्ला अदालमा नासुमा कार्यरत थिइन् भने मनबहादुर आफ्नै गृह पालिका ठाटीकाँधमा अधिकृत स्तर छैटौँ तहमा कार्यरत थिए ।

2

मनबहादुर ०७३ सालमा निजामती सेवामा सेवा प्रवेश गरेका थिए भने विनाले ०७४ सालमा प्रवेश गरेकी हुन् । लोक सेवाको तयारी गर्दै गर्दा नेपालगञ्जमा दुई जनाको पहिलो भेट भएको थियो । दुवै जना पढाई प्रति निकै लगाव राख्थे । ०७७ सालमा विवाह गरेका उनीहरू निम्न मध्यम पारिवारिक पृष्ठभूमिमा हुर्के बढेका हुन् । दुवैको पढाई एसएलसीसम्म मध्यम स्तरको थियो । ‘साइन्स’ विषय पढेका दुवै जनाले नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोत्तर गरे । 

श्री बालकल्याण आधारभूत विद्यालय गुयालसिममा प्राथमिक तहको अध्ययन गरेका मनबहादुरले श्री कृष्ण माध्यमिक विद्यालय लकान्द्रबाट एसएलसी पास गरेका थिए । त्यसपछि होलिल्याण्ड उच्च माध्यमिक विद्यालय नेपालगञ्जमा कक्षा १२ र १२ सम्मको अध्ययन गरे । विनाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँसगढी बर्दियाबाट एसएलसी दिएकी हुन् भने त्रि–भुवन उच्च मावि कोहलपुरबाट कक्षा १२ पास गरेकी थिइन् ।

मनबहादुरले रातोपाटीसँग भने,‘आखिर संघर्ष नै सफलता रहेछ ।’ सामान्य परिवारमा जन्मेको उनका लागि पढाइको संघर्षका दिनहरू निकै प्रेरणादायी छन् । घरमा दुई भाइ र तीन बहिनी । घर खर्च जुटाउन र छोराछोरीको शिक्षा–दीक्षाका लागि बुबा भारतको कालापहाडमा मजदुरी गर्थ जान्थे । ‘बुबाको मजदुरीबाट कमाएको पैसाले घर खर्चसँगै पढाई गर्नुपर्ने बाध्यता थियो,’ उनले भने ।

मनबहादुर पनि ३ पटक पैसा कमाउन कालापहाड गएको बताउँछन् । निजामती सेवाको प्रवेशसँगै केही समय मुगुको रारा राष्ट्रिय निकुञ्जमा काम गरेको अनुभव उनीसँग छ । ‘संघर्ष गर्दै गर्दै आइयो, संघर्ष नै प्राप्ति रहेछ,’ उनले भने । 

bina

श्रीमान्–श्रीमती नै प्रतिस्पर्धी 

शाखा अधिकृतको तयारी गर्दै गर्दा श्रीमान्–श्रीमतीबीच नै प्रतिस्पर्धा चल्थ्यो रे । त्यही कारणले सफलता प्राप्त हुन सकेको मनबहादुरले बताए । उनी भन्छन्,‘उनले लेखेको कुरा मैले हेर्थे भने मैले लेखेको कुरा उनले हेर्थिन्, एकले अर्कोको कमीकमजोरी पत्ता लगाएर सोको सुधारतर्फ हाम्रो ध्यान जान्थ्यो । त्यही कारण आज शाखा अधिकृत पास गर्न भयौँ ।’ 

पश्चिम दैलेख जस्तो गाउँमा बसेर पढाई गर्न निकै कठिन थियो । ‘छैटौँको जागिर खाएर गाउँमा पढ्ने चानचुने कुरा थिएन, अहिलेसम्म गाउँमा न बत्ती पुगेको छ, न नेटको पहुँच,’ उनी भन्छन् ।

mana

उता विना जिल्ला अदालतमा जागिरे थिइन् । ‘एकातर्फ घर व्यवहारको पनि रेखदेख गर्नै पर्ने अर्कोतर्फ बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म काममा व्यस्त हुनुपर्थ्यो,’ विनाले भनिन्,‘ बचेको समयलाई खेर जान नदिएर अध्ययन गर्थे ।’ विनाको शब्दलाई क्याच गर्न सक्ने क्षमता धेरै छ । जसका कारण पहिलो प्रयासमा खुल्लातर्फ शाखा अधिकृतमा सफल भइन् । शाखा अधिकृतको स्थायी नियुक्ति प्राप्त गरिसकेपछि थापा दम्पतीले भने,‘कैयौँ सपनालाई मारेर आज एउटा सपना पुरा भएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप