बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रमलाई भारत भ्रमणको निम्ता

राष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण

मङ्गलबार, ०२ फागुन २०७९, १६ : ०१
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिको चुनावपछि मात्र भारत भ्रमणमा जाने भएका छन् । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको भारत भ्रमण यही फेब्रुअरीमा हुने गरी तयारी चलिरहेको थियो । तर, राष्ट्रपतिको चुनावलगायतका विषयले उनको भ्रमण पर धकेलिएको स्रोतले जनाएको छ । 

नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भारत भ्रमणको विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको भारतीय दूतावास स्रोतले जनाएको छ । प्रचण्डसँग क्वात्राले सोमबार भेटवार्ता गरेका थिए । 

स्रोतले भन्यो, ‘विदेश सचिवले भारत भ्रमणको विषयमा चर्चा गर्नुभएको छ, निम्तो दिनुभएको छ । तर अहिले नेपालेका राजनीतिक अवस्था ठिक नभएको कारण मिति तय भएको छैन ।’

स्रोतका अनुसार अहिले नै भारत भ्रमण गराउन सम्भव नहुने देखिएसँगै  राष्ट्रपतिको चुनावपछि मात्र हुने गरी आन्तरिक तयारी थालिएको छ । आगामी २५ गते राष्ट्रपतिको चुनाव हुँदै छ त्यसअघि फागुन १३ मा मनोनयन दर्ता गर्ने कार्यक्रम छ । 

 राष्ट्रपतिको उम्मेदवार को बन्ने भनेर राजनीति गर्माएको छ । कतिपयले राष्ट्रपतिको विवादले सत्ता समीकरण फेरबदल हुने आशङ्का समेत गर्दै आएका छन् ।  

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि फोनमा बधाई तथा शुभकामना दिँदै भारत भ्रमणका लागि निम्तो दिएका थिए । त्यसको दुई तीन दिनपछि प्रधानमन्त्री प्रचण्डले स्वयं आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुनसक्ने बताएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप