शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दर्भ : शिवरात्रि विशेष

के हो  गाँजा ?

शनिबार, ०६ फागुन २०७९, १० : ०१
शनिबार, ०६ फागुन २०७९

जब जब शिवरात्रि आउँछ, तब तब भगवान् शिवको महिमा झन् झनै बढ्दै जान्छ । भगवान् शिवको महिमा बढेसँगै शिवजीको प्रसादको माग पनि बढ्दै जान्छ । भक्तजनहरूलाई  अनर्थ  नलागोस्-  प्रसादको माग बढ्नु भनेको गाँजा मिसाइएका परिकारहरूको माग बढ्नु हो ।

शिवरात्रिको भीडमा एकथर जमात भगवान् शिवजीको आराधनामा व्यस्त रहन्छन् भने अर्को थरी जमात शिववुटी नामक प्रसाद चाख्दै रमाइलो गर्नमा व्यस्त रहन्छन् । यस्तो रमाइलो गर्ने प्राय युवायुवती वर्ग हुन्छन् । गाँजा भरिएको सुल्फा तान्दै “जय शम्भो!” भनेर महादेवलाई सम्झिन्छन् ।

भगवान् महादेवले समुन्द्र मन्थनका बेला अमृतलाई शुद्धीकरण गर्न आफ्नै शरीरमा गाँजा उमारेको र अमृतको एक थोपा जमिनमा परेपछि गाँजाको विरुवा उम्रेको धार्मिक कथा सुनेका एकथर युवाहरू गाँजालाई अमृत नै मान्दछन् ।

अमृत मानेर नियमित गाँजा सेवन गर्ने जमातले स्वर्गीय आनन्दको अनुभूति सुनाउँछन् । मानसिक पीडा अनि शारीरिक थकान कम भएको अनुभव बताउँछन् । कोलाहल भिडभाडमा पनि जिन्दगी बिन्दास भएको सुनाउँछन्। पारिवारिक जिम्मेवारीले थिचिएको जिन्दगीलाई गाँजाको धुवाँसँग साट्दा हलुका भएको अनुभव  गर्छन् ।

यस्ता अनुभव सँगाल्ने अहिलेका युवा मात्रै किन ? उहिलेका बुढापाकाहरूले पनि भजन कीर्तनको आनन्द लिन गाँजाकै प्रयोग गर्दथे । अनिन्द्रा, एक्लोपन र पट्यारलाग्दो दिन बिताउन गाँजाकै सहारा लिन्थे । घरेलु उपचारमा यसलाई प्रयोग गर्दथे ।

धार्मिक ग्रन्थ अथर्ववेदअनुसार पाँच पूज्य वनस्पतिमध्ये गाँजा पनि एक पूज्य वनस्पति भनिएको छ । उहिलेका पुर्खाहरू गाँजा औषधीको रूपमा पनि प्रयोग गर्दथे । अहिलेको आधुनिक विज्ञानले गाँजा औषधिजन्य विरुवा हो भनेर प्रमाणित गरिसकेको छ । परापूर्वकालदेखि आधुनिक युगसम्म प्रयोग हुँदै आएको गाँजा आखिर के हो त ?

उत्तर सबैलाई थाहा छ– तपाईं हाम्रो बारीमा बिना स्याहार सुसार उम्रिने क्यान्नाविस भनिने जातको वनस्पति नै गाँजा हो । यसलाई ह्यास, हेम्प, म्यारुजुवाना आदि नामले पनि चिनिन्छ । अधिकांश नेपालीहरू यसलाई भाङ पनि भन्ने गर्दछन् ।

क्यान्नाविसका विभिन्न प्रजातिहरुमध्ये सातिभा र इण्डिका नेपालमा सजिलै पाइने गाँजा हुन् । सजिलैसँग पाइने भएर यसको प्रयोगकर्ता पनि धेरै छन् ।

धार्मिक आस्थाबाट सुरुवात गरिएको गाँजा विस्तारै अम्मलको रूपमा पनि परिणत हुन सक्छ। फलस्वरुप मानिस लागू औषध दुरव्यसनीको दलदलमा फस्न पुग्छ ।

एकातिर गाँजासम्म आम मानिसको सजिलै पहुँच छ भने अर्कोतिर गाँजालाई लागू औषध नियन्त्रण ऐन २०३३, ले लागू  औषधको रूपमा परिभाषित गरेको छ ।

यो ऐन आउनु अघि नेपालमा वैधानिक रूपमै गाँजा खेती गरिन्थ्यो । विदेशतिर निर्यात गरिन्थ्यो। आम नागरिकलाई  आयस्रोतको सजिलो पेसा गाँजाखेती पनि थियो। देशलाई आर्थिक सङ्कलनमा सहयोग पुग्थ्यो। विश्वका गाँजा पारखीहरूलाई नेपाल स्वर्गभूमि जस्तै थियो।

हिप्पी युगको सुरुवातसँगै गाँजा सेवनकर्ताको घुइँचो काठमाडौँमा लाग्न थालेको थियो । पर्यटकहरूको सिको गर्दै नेपाली युवाहरू पनि लागूपदार्थ सेवन र कारोबार गर्न पोख्त भइसकेका थिए ।

यस्तो कारोबार सञ्जाल विश्वभरि फैलिँदै गयो । त्यसैले, यसलाई नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघीय सम्मेलनले अन्तर्राष्ट्रिय सन्धि “सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग १९६१” पारित गर्दा नेपालको पनि हस्ताक्षर गरेको थियो ।

यसपछि गाँजाको खेती, भण्डारण, सेवन र बिक्री वितरणलाई अवैधानिक र दण्डनीय अपराध मानियो । एक सर्को गाँजा सेवन वापत एक महिनासम्म कैद र दुई हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने सबैभन्दा न्यूनतम सजाय तोकियो ।

त्यस्तै, पच्चीस बोटसम्म गाँजाको खेती गरेबापत तीन महिनासम्म कैद र पच्चीस भन्दा बढी बोट खेती गरेमा तीन वर्षसम्म कैद वा पाँच हजारदेखि पच्चीस हजार सम्मको जरिवाना तोकियो ।

अझ गाँजा वा गाँजाजन्य वस्तुको उत्पादन, खरिद बिक्री गर्नेलाई न्यूनतम ५० ग्राम सम्मलाई ३ महिनासम्म कैद वा ३ हजार जरिवाना तोकियो। अधिकतम १० किलोभन्दा बढीको कारोबारीलाई २ देखि १० वर्ष सम्मको कैद र पन्ध्र हजारदेखि एक लाख सम्मको जरिवाना तिर्नुपर्ने कानुन बन्यो ।

कानुन जस्तोसुकै  बने पनि यसका सेवनकर्ता र कारोबारीहरू दिनदिनै बढ्दै गए। लागूऔषध नियन्त्रण व्यूरो (एन सी बी) को अनुसन्धानअनुसार नेपालमा करिब एक लाख पचास हजार भन्दा बढी  लागूऔषध सेवनकर्ता रहेको अनुमान छ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, धनगढी कैलालीको मात्रै तथ्याङ्क हेर्ने हो भने मासिक ७० भन्दा बढी लागू औषध मुद्दासम्बन्धी केसहरू परीक्षणका लागि दर्ता भएको देखिन्छ। चालु आर्थिक वर्षको माघ महिनासम्म ४५० भन्दा बढी लागू औषधसम्बन्धी केसहरूमध्ये १५ प्रतिशत मुद्दा गाँजा र चरेशसम्बन्ध छन् ।

अनुसन्धानको क्रममा भेटिएका भौतिक सबुतहरुको वैज्ञानिक तरिकाले परीक्षण र विश्लेषण गर्ने विधि विज्ञान प्रयोगशालाको मुख्य उद्देश्य हो । विधि विज्ञानको दृष्टिकोणबाट गाँजा र गाँजाजन्य पदार्थलाई परीक्षण गर्दा साइकोएक्टिक तत्व टेट्राहाईड्रोक्यानाविनोल (THC), एन्टिसाइकोटिक तत्व क्यान्नाविडाईओल(CBD) र सिडेटिभ तत्व क्यान्नाविनोल (CBN) छ,छैन भनी हेरिन्छ ।

यसका अलावा क्यान्नाविजेरोल (CBG), क्यान्नाविभ्यारिन (CBV), क्यानाविक्रोमिन (CBC) र टेट्राहाइड्रोक्यान्नाविनोलिक एसिड (THCA) पनि विधि विज्ञानको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ।

गाँजामा पाइने सयौं तत्वहरुमध्ये टेट्राहाइड्रोक्यान्नाविनोल (THC) सबैभन्दा साइकोएक्टिभ तत्व हो । गाँजा धेरै खाँदा कोही हाँसेको हाँस्यै हुने, कोही रोएको रोयै हुने जस्ता ‘साइकी’ क्रियाकलाप देखाउने तत्व नै टिएचसी हो ।

तनाव र मानसिक पिडालाई शान्त पार्ने तत्व क्यान्नाविनोल  हो । त्यसै गरी मनमा भएको डर भगाउने, शारीरिक पीडा कम गर्ने तत्व भने क्यान्नाविडाईओल हो ।

गाँजाको अनेकौं औषधिजन्य गुण भएरै होला, बेला–बेलामा यसलाई वैधानिक बनाउनुपर्‍यो भनेर चर्चा चल्छ । सडकदेखि सदनसम्मै यसको उपयोगिताको बारेमा बहस चल्छ । नेपालले गाँजालाई प्रतिबन्धित लागू औषधबाट फुकुवा गरिसक्यो भनेर हल्लासमेत फिँजाइन्छ ।

हल्लाको पछि नलाग्नु होला, गाँजा अझै पनि प्रतिबन्धित छ । शिवरात्रिको अवसरमा रमाइलोको लागि खाइने भाङयुक्त परिकार भविष्यमा लागूपदार्थ दुर्व्यसनको कारण पनि बन्न  सक्छ।

 लेखक राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, धनगढी शाखाका कार्यालय प्रमुख हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र चौधरी
वीरेन्द्र चौधरी
लेखकबाट थप