आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मानव बेचबिखनमा परेका ३० जनाको उद्धार

शनिबार, ०६ फागुन २०७९, १३ : ४८
शनिबार, ०६ फागुन २०७९

काठमाडौँ । वैदेशिक रोजगारलगायत विभिन्न बहानामा मानव बेचबिखनका घटना दिनदिनै बढिरहेका छन् । प्रहरीको निगरानी तथा सचेतना अभियानका बाबजुद पनि बेचबिखनका घटना देखिँदै आएका छन् ।  नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार माघमा मात्रै विभिन्न मुलुकमा बेचबिखनमा परेका ३० जनाको उद्धार गरिएको छ । त्यसमध्ये भारतबाट मात्रै १५ महिला र चार बालबालिकाको उद्धार गरिएको तथा कुवेतबाट छ महिला, ओमनबाट दुई महिला, इराकबाट एक महिला र नेपालभित्रै आन्तरिक बेचबिखनमा परेका दुई जनाको उद्धार गरिएको ब्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

आकर्षक वैदेशिक रोजगारीको बहानामा पर्यटक भिसाको दुरुपयोग गरी विभिन्न दलाल तथा म्यानपावर कम्पनीले भ्रमण भिसामा विदेश जाने कागजातको न्यूनतम प्रक्रियासमेत पूरा नगरी नक्कली कागजात बनाइ उनीहरुलाई विदेश पठाएको पाइएको छ । त्यसैगरी विदेश जान लागेको र मानव बेचबिखनको उच्च जोखिममा पर्ने देखिएका दुई सय ५० जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ब्युरोको प्रहरी टोलीले फिर्ता गराएको पनि उनले जानकारी दिए ।

यस्तै माघमा मानव बेचबिखन तथा ओसारपसार कसुर गरेको आरोपमा चार जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको जनाइएको छ । गएको एक महिनामा एक महिला र पाँच पुरुष गरी ६ जनामाथि अनुसन्धान सम्पन्न गरी अदालतमा मुद्दा चलाइएकामा उनीहरु पूर्वपक्षका लागि कारागार चलान भएका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप