शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
अपराध

अस्ट्रेलियामा बस्ने युवतीसँग मिलेर काठमाडौँबाट ठगी

माघ महिनामा मात्र अनलाइन ठगीका ११३ उजुरी
आइतबार, ०७ फागुन २०७९, १४ : ३२
आइतबार, ०७ फागुन २०७९

काठमाडौँ । कीर्तिका श्रेष्ठ (नाम परिवर्तन) अस्ट्रेलियामा बस्छिन् । अस्ट्रेलिया जानुअघि कन्सल्टेन्सीमा आउजाउ गर्दा २० वर्षीया स्वस्तिका श्रेष्ठ ‘युनिसा’ सँग उनको भेट भयो । कीर्तिका अस्ट्रेलिया जाने भइन् । तर, युनिसाको भिसा लागेन ।

कीर्तिका र युनिसाको बीचमा सामाजिक सञ्जालमा कुरा भइरहन्थ्यो । युनिसाले कीर्तिकालाई फेसबुक म्यासेन्जरमा कुरा हुँदा भनिन्–‘नेपालमा बसेर पैसा कमाउन गाह्रो भो ।’ त्यसपछि कीर्तिकाले आफ्नो फेसबुक आइडी र पासवर्ड दिएर भनिन्–‘केटाहरूसँग कुरा गर, पैसा माग ।’ 

अनि, युनिसाले केटा साथीहरूलाई टार्गेट गरेर म्यासेज गर्न थालिन् । ‘अस्ट्रेलियामा छु’ भन्थिन् । समस्या परेको भनेर पैसा माग्न थालिन् । आफू अस्ट्रेलियामै छु भनेर समस्या परेको बहाना बनाएर पैसा माग्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।

सुनसरीको रामधुनी गाउँपालिका–४ घर भएर काठमाडौँको नयाँ बस्तीमा बस्ने स्वस्तिकाले ५२ हजार अस्ट्रेलियन डलर (करिब ४७ लाख नेपाली रुपैयाँ) ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

केटा साथीले भिडियोमा कुरा गर्न खोज्दा कीर्तिकाले कुरा गर्थिन् । म्यासेजमा चाहिँ युनिसा कुरा गर्थिन् । पैसा पाउन कीर्तिकाको बैंक खाता र वालेट प्रयोग गरिएको थियो । ठगेको ४७ लाख मध्ये युनिसाले थोरै रकम पाइन् । करिब ७५ प्रतिशत रकम कीर्तिकाले नै राखिन् । युनिसाबारे अनुसन्धान गरेका एकजना अधिकृत उनीहरूको बीचमा पैसा बाँडफाँडमा विवाद भएको बताउँछन् । रकम बाँडफाँडमा विवाद भएपछि यो विषय प्रहरी कहाँ पुग्यो ।

फेसबुक दुरुपयोग मुद्दामा पक्राउ

कीर्तिकाको बुबा आमाले उनीविरुद्ध ‘छोरीले पठाएको पैसा हिनामिना गरेको र फेसबुक दुरुपयोग गरेको’ कसुरमा जाहेरी दिएपछि युनिसा माघ २४ मा पक्राउ परिन् । अर्काको फेसबुक दुरुपयोग गरेको कसुरमा युनिसालाई साइबर अपराध मुद्दामा अनुसन्धान गर्न साइबर ब्यूरोमा पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्र राठौरले जानकारी दिए ।

अस्ट्रेलियामा बस्ने कीर्तिकाको बैंक खाता र वालेटमा हाल्न लगाएको पैसा युनिसाले सजिलै पाउँदैन थिइन् । ‘ठगी’को कमिसन माग्दा कीर्तिकाले उल्टै युनिसालाई साइबर अपराधको चार्ज लगाइन् । साइबर ब्यूरोले उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गत म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

अनलाइन ठगी बढ्दो

उपत्यका अपराध अनुसन्धान कार्यालयको तथ्याङ्क अनुसार यसरी सामाजिक सञ्जाल र अनलाइन माध्यमबाट ठगिएको भन्दै माघ महिनामा ११३ जनाले उजुरी गरेका छन् ।

Th

फिनल्याण्ड र क्यानडाको नाममा ठगी

कवीर मगर मैतीदेवी बस्छन् । ३६ वर्षीय मगरसँग करिब ४ महिनाअघि फेसबुक मार्फत रवीन्द्र गुरुवाले चिनजान गरे । तर रवीन्द्रले आफूलाई सुरज नामले चिनाए । उनले फिनल्याण्डमा आफन्तले रेष्टुरेन्ट सञ्चालन गरेको र त्यहाँ कुक आवश्यक रहेको भन्दै कवीरलाई भने–‘कोही व्यक्ति भए म भिसा मगाइदिन्छु फिनल्याण्डमा घण्टाको ४० डलर (५ हजार २४० नेपाली रुपैयाँ) कमाई हुन्छ ।’

फिनल्याण्ड पठाउन रवीन्द्रले १२ लाख लाग्ने बताएका थिए । प्रक्रिया खर्चबापत ३ लाख ७५ हजार लाग्ने बताएपछि कवीरले चिनजानका एकजना युवकलाई ठमेलमा भेटेर कुरा गराए । भेटेर कुरा गरेपछि ती युवकको पासपोर्ट र प्रोसेसिङ चार्ज बापत ३ लाख ७३ हजार लिए । रवीन्द्रले पैसा त लिए तर, फिनल्याण्ड पठाएनन् । पीडितले उपत्यका अपराध अनुसन्धान कार्यालयमा रवीन्द्रविरुद्ध उजुरी गरेका छन् ।

सोलुखुम्बुका कामीङिमा शेर्पा ट्रेकिङ गाइड हुन् । उनी ह्वाट्स एप, फेसबुक र भाइबर चलाउँछन् । गुगलमा ‘जब क्यानडा’ भन्ने विज्ञापन हेरेर उनले आफ्नो बायोडाटा पठाए ।

आफ्नो विवरण पठाएपछि ह्वाट्स एपमा आफूलाई क्यानेडियन नागरिक बताउने नाथन ब्लेकले रोजउड होटलको ‘एचआर मेनेजर’ हुँ भनेर सम्पर्क गरे । ब्लेकले भने–‘फारम पठाउँछु त्यसमा भरेर सहिछाप गरेर पठाउनु ।’

फारम भरेर पठाएपछि एग्रिमेन्ट पेपर पठाएर क्यानडामा मासिक ७ हजार डलर कमाइ हुन्छ भन्दै तिनै नाथन ले प्रोसेसिङका लागी ४२ हजार मागे । कामीङिमाले प्रहरीलाई बताए अनुसार उनले सिद्धार्थ बैंकको एमके ट्रेडर्सको नामको खातामा पैसा डिपोजिट गरिदिए । त्यसपछि फेरी भिसा प्रोसेसिङ शुल्क बापत २ लाख ७० हजार र विभिन्न बहाना गरेर मागेको ३ लाख १२ हजार रुपैयाँ शेर्पाले पठाए ।

म्यासेज मार्फत कुराकानी हुँदा सबै कागजात बनेको भन्दै हवाई टिकटको लागी फेरि ५ लाख २२ हजार मागे । शङ्का लागेपछि उनले सो रकम पठाएनन्, प्रहरीकहाँ गए । उपत्यका अपराध अनुसन्धान कार्यालयले सो घटना अनुसन्धान गरिरहेको छ ।

अनलाइनमार्फत ठगिएको भन्दै  माघ महिनाभर उपत्यका अपराध अनुसन्धान कार्यालयमा ११३ वटा उजुरी दर्ता भएका छन् । तिमध्ये १९ वटा निवेदन मिलापत्रमा टुङ्गिएको छ । माघमा अनलाइन माध्यमबाट ठगेको आरोपमा ३ जनालाई पक्राउ गरेर मुद्दा चलाएको अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्र राठौरले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप