शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्डको ब्रिफिङ : वर्तमान गठबन्धन टिकाउँदै राष्ट्रपतिमा राष्ट्रिय सहमति

सोमबार, ०८ फागुन २०७९, २० : १५
सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् । 

आन्तरिक राजनीति र विगतको गल्ती कमजोरी दोहोरिन नदिनका लागि पनि राष्ट्रपति सर्वमान्य व्यक्ति हुनुपर्ने प्रचण्डको भनाइ छ । 

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रका पदाधिकारी बैठकमा प्रचण्डले संसदमा देखिएको प्रतिनिधित्व र राजनीतिक दाउपेचले संसद् टिकाउन सकसपूर्ण देखिएको भन्दै यस्तो बेलामा समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने राष्ट्रपति आवश्यक हुने बताएका थिए । 

पार्टी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै प्रचण्डले अहिलेको सत्ता गठबन्धनलाई टिकाउन आफू लागिपर्ने प्रचण्डको धारणा रहेको सचिव दिनानाथ शर्माले रातोपाटीलाई जानकारी दिए । प्रचण्डले वर्तमान सत्ता गठबन्धनलाई टिकाउँदै राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउनतर्फ लाग्ने बैठकमा धारणा राखेको शर्माको भनाइ छ ।

यस्तै बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता, कांग्रेसका नेताहरुसँगको छलफललगायतका विषयमा पनि प्रचण्डले ब्रिफिङ गरेका थिए । 

कांग्रेसका नेताहरु आइतबार प्रचण्डसँग राष्ट्रपतिका बारेमा छलफल गर्न बालुवाटार पुगेका थिए । सो क्रममा उनीहरुले राष्ट्रपतिमा आफ्नो पार्टीले उठाउने उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा प्रचण्डले भने पार्टीमा छलफल गरेर निर्णय दिने जवाफ फर्काएका थिए । 

यहीबीचमा प्रचण्डले आजको बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा जोड दिएका हुन् । बैठकले सोहीअनुसार सहमति जुटाउन जिम्मा प्रचण्डलाई सुम्पिने निर्णय समेत गरेको छ । 

बैठकमा प्रचण्डले देशमा पश्चगामी शक्तिहरू सलबलाएको भन्दै क्रान्तिकारी शक्तिहरू सजग हुनुपर्नेमा पनि जोड दिएका थिए ।

 ‘संसद् पाँच वर्ष जाने अवस्था छैन । विगतकै जस्तो विघटनको पुनरावृत्ति हुनसक्छ’, प्रचण्डको भनाइ थियो, ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति गरेर जानुको विकल्प छैन ।’

उनले राष्ट्रपतिमा माओवादी केन्द्रका उम्मेदवार भने नहुने स्पष्ट गरेका थिए ।  ‘उम्मेदवार हुने होइन ।  जुन पार्टीमा सहमति जुट्छ सोही अनुसार जाऔँ’ प्रचण्डले बैठकमा ब्रिफिङ गर्दै भनेका थिए । 

राष्ट्रपति निर्वाचनको लागि आगामी फागुन १३ गते मनोनयन दर्ताको समय रहेको सन्दर्भमा दलहरुको सक्रियता बढेको छ। 

एमाले र कांग्रेसले राष्ट्रपति पद आफ्नो पक्षमा पार्न जुट्दै गर्दा माओवादी भने राष्ट्रिय सहमतिको पक्षमा उभिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप