शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिथिला मध्यमा परिक्रमा विधिवत् रूपमा सुरु

मङ्गलबार, ०९ फागुन २०७९, १० : ०९
मङ्गलबार, ०९ फागुन २०७९

जनकपुर । मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा विधिवत् रूपमा सुरु भएको छ । गत बिहीबारबाट सुरु भएको परिक्रमा अहिले पनि जारी रहेको हो । 

धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत् सुरुवात हुने परम्परा छ ।

नेपाल र भारतका गरी १ सय ३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौँ श्रद्धालु सहभागी हुन्छन् । परिक्रमामा सहभागी श्रद्धालुहरू सोमवार जनकपुरधाममा विश्राम गरेर (मंगलवार) आज बिहानै भारतको कल्याणेश्वरका लागि प्रस्थान गर्नेछन् । परिक्रमाको डोलालाई मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले काँध लगाएर विधिवत् सुरुवात गरेका थिए । मुख्यमन्त्री यादवले मिथिला मध्यमा परिक्रमाको डोलाको दर्शन गर्न पाउँदा आफूलाई आत्मीय आनन्दको अनुभूति भएको बताए । उनले आउने दिनमा मधेस सरकार मिथिला बिहारी क्षेत्रलाई मिथिला विहारी विकास परिषद् बनाएर विकास गर्नुका साथै परिक्रमा मार्गलाई सहज र सुविधायुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । 

परिक्रमाको इतिहास उल्लेख नभए पनि मध्यमा परिक्रमालाई व्यवस्थित गर्नुमा धनुषाको कचुरी मठको प्रयासलाई सह्रानीय मान्न सकिन्छ । सोही मन्दिरले अहिले पनि मिथिला मध्यमा परिक्रमाको नेतृत्व गर्ने गरेको छ । परिक्रमालाई व्यवस्थित पार्नका लागि कचुरी मठका तत्कालीन महन्त लाल शरणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।  

नेपाल र भारत बीचको धार्मिक सांस्कृतिक महत्त्वलाई मिथिला मध्यमा परिक्रमाले वर्षौँदेखि प्रगाढ बनाउँदै आइरहेको छ । यसलाई व्यवस्थित गर्न सकिए दुवै देशको पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास स्थानीयको छ । यसलाई व्यवस्थित पार्नेतर्फ सरकारको ध्यान जान नसकेको उनीहरूको गुनासो छ । 

हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १ सय ७ र भारतको २६ किलोमिटरको दुरी पैदल यात्रा गर्छन् । पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पुण्य मिल्ने जनविश्वास छ । परिक्रमा अवधिभर सहभागीहरूले झाँकी, भजन, कीर्तन पनि गर्छन् । नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्राम स्थल छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप