बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
छानबिन प्रतिवेदन

व्यवस्थापनको लापरवाहीले टेलिकमको सेवा अवरुद्ध, निर्देशन नै टेर्दैनन् कर्मचारी

बुधबार, १० फागुन २०७९, ०६ : ५२
बुधबार, १० फागुन २०७९

यही २०७९ माघ ३ गते दिनभर नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को सेवा अवरुद्ध भइरह्यो । करिब २ घन्टासम्म टेलिकमको सिमबाट फोन नलाग्ने, म्यासेज नजाने र फोन नआउने समस्या भइरह्यो । जसबाट टेलिकमका २ करोड १९ लाख (असोज मसान्तको तथ्याङ्क) सेवाग्राही पूर्णरुपमा प्रभावित बने ।

तत्कालीन समयमा टेलिकमका नेतृत्वसँग यसबारे बुझ्दा आकस्मिक रुपमा समस्या आउँदा सेवा अवरुद्ध भएको बनावटी जवाफ आयो । तर, यसबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले सार्वजनिक गरेको प्रतिवेदनअनुसार टेलिकमको नेतृत्वले चरम लापरवाही गर्दा पटक–पटक सरकारी लगानी रहेको नेपाल टेलिकमको सेवामा समस्या आइरहने गरेको निष्कर्ष निकालेको छ ।

खासगरी, माघ ३ गते दिउँसो १२ बजे देशभर एकैपटक टेलिकमको सम्पूर्ण सेवा अवरुद्ध बन्यो । मोबाइल, ल्याण्डलाइन र इन्टरनेट सेवामा समेत एकाएक समस्या आएको थियो । त्यसअघि २०७८ असारमा समेत समस्या आएको थियो भने गत साता पनि यस्तै समस्या दोहोरिएको थियो ।

दूरसञ्चार सेवा प्रयोगकर्ताहरुको अत्यधिक चाप रहने समयमा एक्कासी सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेको गुनासो आएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छानबिन समिति गठन गरेको थियो ।

मन्त्रालयका सहसचिव गौरव गिरी संयोजक रहेको ५ सदस्यीय समितिले करिब ५ दिनको अवधि लगाएर छानबिन गरेपछि टेलिकमको व्यवस्थापनको लापरवाही नै यसको मुख्य कारण रहेको पाइएको हो । उक्त समितिमा दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार राय, टेलिकमकै चिफ अपरेशन अफिसर झविन्द्रलाल उपाध्यक्ष, सञ्चार विज्ञ लोचनलाल अमात्य र संस्थान समन्वय शाखाका उपसचिव सुरेन्द्र थापा समेत थिए ।

यो समितिले ५ दिन लगाएर तयार गरेको अध्ययन प्रतिवेदनअनुसार नेपाल टेलिकमले सेवाग्राहीको सेवामा खासै चासो नदिएको कारण नै समस्या आएको देखिन्छ । यस्तै, टेलिकमले विभिन्न सेवा सञ्चालन गर्न सम्झौता गरेका भेण्डरहरुको लापरवाही, भेण्डर र टेलिकमबीच आवश्यक समन्वय नहुँदा पटक–पटक समस्या आइरहने गरेको देखिएको छ । यसको अर्थ टेलिकम हाँक्न नेतृत्वमा बस्ने व्यक्तिहरुले सेवाग्राहीलाई दिनुपर्ने सेवा र कम्पनीप्रति उत्तरदायी नभएको पुष्टि गर्छ ।

समस्या समाधानमा चरम लापरवाही

नेपाल टेलिकमको सेवा अवरुद्ध हुनुपूर्व आएको समस्या समाधानमा चरम लापहवाही गर्दा माघ ३ गते दिनभरजसो सेवा अवरुद्ध बनेको पाइएको छ । नेपाल टेलिकमको सूचना प्रणाली सहयोगी निर्देशनालय अन्तरगत रहेको बिलिङ सपोर्ट सिस्टम (बीएसएस) कार्यालयको विलिङ प्रणालीसँग सम्बन्धित कम्पनीहरुले आउँदो समस्याका बारेमा ४ दिनपछि मात्रै समाधानको पहल सुरु गरेका थिए ।

त्रिपुरेश्वरस्थित डीआर साइटको लग रेकर्ड बमोजिम पुस २९ गते नै टेलिकमको सेवामा समस्याको सूचना आइसकेको थियो । तर, पुस ३० गते, माघ १ र २ गते सार्वजनिक बिदा परेकाले कार्यालय खुलेको दिन अर्थात् समस्या अवरुद्ध भएकै दिन माघ ३ गतेमात्रै मर्मत सम्भारको काम सुरु भएको थियो । डीआर साइटको दुईवटा स्टोरेज कम्ट्रोलरहरुमध्ये एउटामा समस्या हुँदा पनि अर्को स्टोरेज सञ्चालनमा आइसकेको थियो ।

दुई घन्टामा ५२ लाख घाटा

माघ ३ गते करिब १२ बजेदेखि पूर्णरुपमा अवरुद्ध बनेको टेलिकमको सेवा करिब २ घन्टापछि मात्रै सञ्चालनमा आएको थियो । यसक्रममा नेपाल टेलिकमलाई करिब ५२ लाख रुपैयाँ घाटा भएको प्रतिवेदनले देखाएको छ । उक्त समस्याबाट न्यूनतम ४६ लाख ४५ हजारदेखि अधिकतम ५२ लाख ६६ हजार रुपैयाँ घाटा भएको देखिन्छ । मर्मतसम्भारको जिम्मेवारी पाएको क्यास ट्रेडिङका प्राविधिकले त्रिपुरेश्वरस्थित डीआर साइटबाट स्टोरेज कन्ट्रोलरलाई निकाल्ने बित्तिकै बिलिङ सिस्टम पूर्णरुपमा आउटेज भएपछि सेवा पूर्णरुपमा अवरुद्ध भएको हो ।

यसलगत्तै बिलिङ सिस्टमका आपूर्ति तथा मर्मतकर्ता कम्पनीलाई टेलिकमका सम्बन्धित प्राविधिकले सेवा अवरुद्ध भएको जानकारी गराएका थिए । लगत्तै सम्बध सबै निकायबीच बसेको बैठकले बिलिङ एप्लिकेशन सर्भर र स्टोरेजबीच भएको लिंक टुट्दा सम्पूर्ण सेवा अवरुद्ध भएको पाइएको थियो । उक्त समस्यालाई समाधान गरेर सेवा सञ्चालनमा ल्याउन १ घन्टा ४५ मिनेटको समय लागेको थियो ।

भेण्डर र टेलिकमबीच छैन समन्वय

देशभर टेलिकमको सम्पूर्ण सेवा अवरुद्ध हुनुको मूख्य कारण नेपाल टेलिकम र मर्मतसम्भारको जिम्मेवारी पाएको एसिया इन्फो (एआई)बीच समन्वय नहुनु नै रहेको पाइएको छ ।  त्रिपुरेश्वरस्थित डीआर साइटको स्टोरेज कन्ट्रोलरमा एक्सेस गर्न नसकेको विषयमा टेलिकमका कर्मचारीले सुन्धारा साइटमा उपस्थित रहेको भेण्डरलाई मौखिकरुपमा र भाइबरमार्फत जानकारी गराएको दाबी गर्छ । तर, टेलिकमको उक्त दाबीलाई पुष्टि गर्ने कुनै आधार भेटिएको छैन ।

मेन्टेनेन्सको जिम्मा पाएको माउ संस्था एसिया इन्फालाई जानकारी नै नदिई उसको स्वीकृति बिना तथा समस्याको जटिलता अध्ययन नगरी एआईका प्रतिनिधि कम्पनी क्यास ट्रेडिङका प्रतिनिधिले मेन्टेनेन्स गर्न खोज्दा सिस्टम आउटेज भएको थियो । यसक्रममा टेलिकमका कर्मचारीले आफूलाई बचाउन गरेको दाबी र मर्मतसम्भारको जिम्मेवारी पाएको कम्पनीले दिएको बयान नै विरोधाभाषपूर्ण छ ।

टेलिकमले एआईसँग गरेको सम्झौतापत्रमा सेवामा प्रमुख तथा समवेदनशील समस्या आउँदा निरन्तर रिपोर्टिङ गर्नुपर्ने व्यवस्था छ । तर, सम्झौतामा भएको व्यवस्थाअनुसार पुस २९ गते नै आएको समस्याका बारेमा टेलिकमका कर्मचारीले मर्मतसम्भारको जिम्मा पाएको कम्पनीलाई जानकारी दिएनन् । यसकारण, टेलिकमको व्यवस्थापन सेवाग्राहीलाई चुस्त र दुरुस्त सेवा दिनतर्फ थप चनाखो हुनुपर्ने प्रतिवेदनमा निष्कर्ष छ ।

पुस २९ गते नै समस्या आउनेबारे सूचना (आर्लम) पाउँदासमेत त्यसको समाधानका लागि ४ दिनपछि पहल भएको थियो । यसअर्थमा नेपाल टेलिकमलाई समवेदनशील प्रणालीको काम गर्दा लापरवाही नगर्न सरकारी तबरबाट निर्देशन दिनुपर्ने देखिएको समेत प्रतिवेदनमा उल्लेख छ ।

निर्देशन मान्दैनन् कर्मचारी

छानविनका क्रममा सरकारले सेवा चुस्त र दुरुस्त बनाउनका लागि दिएको निर्देशन नै नमान्ने गरेको पाइएको छ । टेलिकमको सेवा यसअघि २०७८ असार ३ गतेसमेत अवरुद्ध बनेको थियो । त्यसक्रममा नेपाल दूरसञ्चार प्राधिकरणले निरीक्षण तथा जाँचबुझ गरेर प्रतिवेदन तयार पारेको थियो । तर, त्यो प्रतिवेदन टेलिकमका कर्मचारीले लागू नै गरेको देखिएन । यसपछि प्राधिकरणले नै यही वर्षको जेठ २० गते अर्को निर्देशन दिएको थियो ।

उक्त मितिमा प्राधिकरणले सिस्टम कन्फिग्रएसनहरु परिवर्तन गर्दा त्यस्तो प्रणालीको कम्तीमा पनि २४ घन्टा निरन्तर मनिटर गर्न र सेवा प्रदायकले आफ्नो पूर्व स्वीकृति तथा जानकारी बिना आपूर्तिकर्ता कम्पनीलाई प्रणालीहरु परिवर्तन नगर्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । यो निर्देशन समेत पालना नभएको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप