मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सिभिल बैंकसँग मर्जरपछि हिमालयन बैंकको एकीकृत कारोबार सुरु

शुक्रबार, १२ फागुन २०७९, १५ : ४१
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात् ‘हिमालयन बैंक लिमिटेड’को नामबाट शुक्रबारदेखि एकीकृत कारोबार शुभारम्भ गरेको छ ।

हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले एक विशेष समारोहका बीच एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरे । उनले प्राप्ति हिमालयन बैंक लिमिटेडलाई थप उत्कृष्टताका साथ समृद्धिको बाटोमा सगैं अगाडि बढ्नका लागि भएको बताए । 

सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बैंकको अधिकृत पुँजी रु २६ अर्ब, चुक्ता तथा जारी पुँजी २१.६५ अर्ब,  कूल पुँजी ३४ अर्ब र कूल सम्पत्ति ३३४ अर्ब रहने छ भने बैंकको कूल निक्षेप २७४ अर्ब र कूल कर्जा २५० अर्ब   रहने छ ।  यसैगरी आजबाट बैंकले हर्षोल्लासका साथ नेपाल भरि रहेका १८९ शाखाहरू, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटीएमहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । 

विशेष समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष श्रेष्ठले देशविकासको आर्थिक अवस्था एवं प्राप्ति पछि प्राप्त हुने बजार विस्तारको सम्भावना तथा लगानी योग्य वातावरणलाई ध्यानमा राखेर बैंकको बृहत्तर विकास, दिगोपन र सशक्तताका लागि हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेको बताए ।

त्यसै गरी सिभिल बैंक लिमिटेडका अध्यक्ष प्रदीप जङ्ग पाण्डेले दुई बैंकबीचको एकता आगामी दिनमा थप सबल र सक्षम बनाउनका लागि भएको बताए । समारोहमा हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शमशेर राणाले अब हिमालयन बैंक देश कै एउटा उत्कृष्ट, सबल तथा ठुलो संस्था बनेको बताए । उनले आगामी दिनहरूमा बैंक आफ्ना शेयरधनीहरुलाई उच्चतम प्रतिफल दिन र ग्राहक वर्गलाई समय सापेक्ष नवीन  प्रविधियुक्त सेवा सुविधा  प्रदान गर्नका लागि केन्द्रित हुने बताए ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बैंकको सञ्चालक समितिमा हाल हिमालयन बैंक लिमिटेडकै   सञ्चालक समिति रहनेछ भने बैंकको अध्यक्षतामा प्रचण्ड बहादुर श्रेष्ठ नै रहनेछन् । बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शमशेर राणा छन् । प्राप्ति पश्चात बैंकको केन्द्रीय कार्यालय कमलादी स्थित हालको हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थानमा नै रहेको छ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई १ः०.८०२८ शेयर आदान प्रदान अनुपातमा प्राप्ति गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप