शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश १

प्रदेश १ मा नामकरणको सकस : विरोध प्रदर्शनलाई ध्यान दिँदै निषेधाज्ञा जारी

बुधबार, १७ फागुन २०७९, १३ : ४५
बुधबार, १७ फागुन २०७९

मोरङ । प्रदेश १ प्रदेशसभाले प्रदेशको नामाकरण आजै गर्ने तयारी गरेपछि प्रदेशसभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शनलाई निषेध गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधाज्ञा सम्बन्धी सूचना जारी गरेका छन् । उक्त सूचनाअनुसार प्रदेश १ को प्रदेशसभा नामाकरणको प्रक्रिया प्रारम्भ भई टुंगो नलागेसम्म तथा नामाकरण भएपश्चात पनि असहमत पक्ष (विभिन्न राजनीतिक दल, समूह, जातीय संघ संस्था) बाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुनसक्ने भएकोले निषेधाज्ञा जारी गरेको उल्लेख छ ।

‘सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र माननीय मुख्यमन्त्रीज्यूको निवास वरपर मिति २०७९–११–१७ गते दिउँसो ३ः ०० बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलस, भेला, ¥याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) (क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ, ‘यो आदेश उल्लंघन गरी उल्लेखित कार्यहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’

यसैबीच लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेश १ संसद भवन अगाडि दिउँसो ३ बजेदेखि विरोध तथा धर्ना कार्यक्रम गर्ने जनाएको छ । समितिले सम्पूर्ण पहिचानवादीहरुलाई धर्ना कार्यक्रममा सहभागीताको लागि अपिल गर्दै प्रदेश १ को नामाकरण पहिचानसहितको हुनुपर्नेमा जोड दिएका छन् । 

उता, काँग्रेस र एमालेले प्रदेश १ को नाम ‘कोशी’ प्रदेश राख्न प्रदेशसभा सचिवालयमा प्रस्ताव गरिसकेको छ । उक्त प्रस्तावको पक्षमा माओवादी केन्द्रले पनि मतदान गर्ने जनाएको छ ।

‘कोशी प्रदेश’प्रस्तावको प्रस्तावक एमालेका रामबहादुर मगर रहेका छन् भने समर्थकमा काँग्रेसका भूमिप्रसाद राजवंशी, एमालेका विदुरकुमार लिङ्थेप र निरनकुमार राई रहेका छन् । ‘प्रदेशले आफ्नो नामाकरण प्रदेशसभाबाट आफैंले गर्नुपर्नै दायित्व पुरा गर्नका लागि यस प्रदेशमा विकसित भएका हिन्दू धर्म, बौद्ध धर्मको दर्शन, किराँत सभ्यता, मिथिला सभ्यता, लिम्बुवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरुमै ऐतिहासिक, धार्मिक तथा जातजाती, भाषा, सभ्यता र संस्कृतिको विकास भएकोले यस क्षेत्रको मूल आधारको रुपमा हिमालदेखि पहाड र तराईको भूभागमा कोशी नदी प्रवाहको क्षेत्र भित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धि समेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपर्युक्त ठानिएको छ,’ प्रस्तावमा भनिएको छ ।

यसैबीच नेकपा एस र जसपाको तर्फबाट ‘किरात–लिम्बुवान–सगरमाथा’ प्रदेश नामाकरण गर्नुपर्ने भन्दै अर्को प्रस्ताव दर्ता भएको छ । नेकपा (एकीकृत समाजवादी) का सांसद तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको हो । 
आजको प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव पेश भई निर्णय गर्ने कार्यसूची तय भएको छ । बिहान ११ बजेका लागि तय गरिएको बैठक दलहरुबीचको छलफल र सहमतिको प्रयासले केही समय पछि धकेलिएको भन्दै दिउँसो १ः ३० बजेका लागि सारिएको छ । यद्यपि अझै प्रदेशसभा बैठक सुरु भएको छैन । आजै प्रदेशको नामाकरणको विषयको टुंगो लगाउने दलहरुको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप