बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
फिचर

प्रचण्डलाई रुवाउनेदेखि प्राज्ञ परिषद् सदस्यसम्म

बिहीबार, १८ फागुन २०७९, ०६ : ४०
बिहीबार, १८ फागुन २०७९

फेरि माओवादी नेताहरू एकै ठाउँमा भेटिएर रोलान् ? के त्यो सुन्दर दिन आउला ? इतिहास भइसक्यो भनौँ, एउटा यस्तो दिन आएको थियो– माओवादी नेता (प्रचण्ड, बाबुरामलगायत) एकै ठाउँमा भेटिएर आ–आफ्नै सुरमा रोएका थिए, भक्कानिएका थिए । उनीहरूको रुवाइमा पीडा र पश्चातापसँगै आफैँभित्रको शक्तिको अनुभूति पनि थियो, त्यो रुवाइको सौन्दर्य बेग्लै थियो । 

माओवादीले २०६२ असोजमा रुकुमको चुनबाङमा बैठक गरी संविधानसभा र गणतन्त्रलाई प्रमुख मुद्दा बनाएसँगै बाह्रबुँदे र शान्तिसम्झौता हुँदै शान्तिप्रक्रिया अघि बढ्यो । चुनबाङसम्म आइपुग्नु ठीकअघि माओवादीले टुटफुट र वैचारिक बेमेलको एउटा आँधी सामना गर्नुपरेको थियो । एकातिर जनमुक्ति सेनाहरू हत्केलामा प्राण राखेर लडिरहेका थिए, अर्कोतिर शीर्षस्थ नेता (प्रचण्ड पक्षधर र बाबुराम पक्षधर) आरोप–प्रत्यारोपको अस्त्र चलाउँदै थिए, अन्ततः उनीहरूको लडाइँ बाबुरामको कारबाहीसम्म पुगेको थियो । यस्ता गुटगत र वैचारिक बेमेलका कुराले कार्यकर्तालाई निराश तुल्याउँथ्यो । 

चुनबाङ बैठकमा नेताहरूलाई कलाकारहरूले सांगीतिक प्रस्तुतिमार्फत एउटा दर्दनाक दृश्य देखाइदिए । ‘युद्ध मैदानबाट फर्कंदा’ नाम दिइएको करिब एकघन्टे सांगीतिक प्रस्तुतिमा कलाकारले गीत–संगीत र अभिनयमार्फत युद्ध मैदानका कथाहरू पस्केका थिए । यो हेर्दै गर्दा सामन्तको किल्ला ढाल्ने युद्ध सजिलो थिएन र छैन भन्ने बोध नेताहरूलाई भयो सायद र उनीहरू धर्धरी रोए । मित्रहरू, सहयोद्धाहरू, महान् उद्देश्य बोकेका सहयात्रीहरू भेटिएर रुनुजतिको सौन्दर्य दुनियाँमा अर्को छैन । 

यही मेसोमा एउटा वैचारिक र दार्शनिक गीत प्रस्तुत गरिएको थियो–

टुटफुट खण्डित कुरा नगर, 

आत्मसमर्पणको कुरा नगर ।

एकढिक्का एकताको कुरा गर, 

वीरताको कुरा गर ।

यस गीतले नेताहरूको मस्तिष्क हल्लायो सायद, उनीहरूलाई यो आत्मबोध भयो– कत्रो लक्ष्य हासिल गर्न हिँडेका हामी झिनामसिना कुरामा फस्दै रहेछौँ । 

यस गीतको अन्तरा भन्छ :

दुनियाँ बदल्ने जिम्मा छ हाम्रो, 

संसार सजाउने अभिभारा हाम्रो ।

हामी नै हो इतिहास कोर्न सक्ने, 

पत्थरमा सुन्दर फूल फुलाउने ।

टुटफुट खण्डित कुरा नगर... 

बरु साहसको कुरा गर, 

गौरवको कुरा गर ।

यस गीतका गीतकार, संगीतकार र गायक हुन्, कर्णबहादुर गौतम ‘विद्रोही’, पार्टीमा उनी विद्रोही नामले चिनिन्छन् । यस गीत सुनेपछि उनलाई धेरै नेताले भनेका थिए– एउटा दार्शनिक गीत बनाउनुभयो, तपाईंलाई बधाई छ । यस्तै, सुन्दर सिर्जना गर्दै जानू । 

karna bahadur gautam (2)

विभिन्न कलाकारको स्वर, शब्द र संगीतका गीतहरूको प्रस्तुति रहेको त्यस प्रस्तुतिलाई खुसिराम पाख्रिनले निर्देशन गरेका थिए । कर्ण भन्छन्, ‘त्यति बेला प्रस्तुत भएका अधिकांश गीतमा मैले एरेन्जको काम गरेको थिएँ ।’ 

यतिबेला सरकारले उनलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यमा नियुक्त गरेको छ । 

क्रान्तिको रुझान र पृष्ठभूमि

कर्णको जन्म बाग्लुङ साबिकको मल्ल गाविस–६ मा भएको हो, चार दाजुभाइ र एक बहिनीमध्ये उनी साहिँला हुन् । उनको परिवारसँग ६–७ महिना खान पुग्ने जमिन थियो । 

उनका बुवा छमबहादुर दर्जी दुई कार्यकाल वडाध्यक्ष भएका थिए– पञ्चायत कालमा निर्विरोध र बहुदलपछिको पहिलो स्थानीय निर्वाचन (२०५१) मा राष्ट्रिय जनमोर्चा पार्टीबाट निर्वाचित । 

साधारण लेखपढ गर्न सक्ने कर्णका हजुरबुवा जितबहादुर दर्जी राम्रा कलाकार थिए– कोट–पाइन्ट, चोली, दौरासुरुवाल सिलाउने, पञ्चैबाजा बजाउने र गाउँ–समाजमा नाच्नमा कहलिएका । 

वडाध्यक्ष भएकाले पञ्चायतीकालमा छमबहादुरको घरमा कम्युनिस्ट नेता तथा कार्यकर्ता गोप्य रूपमा आइरहन्थे । त्यतिबेला उनी पातलो मसालमा आबद्ध थिए । यस पृष्ठभूमिले गर्दा कर्ण १२ वर्षको उमेरदेखि अखिल छैटौँमा संगठित भए । विद्यार्थी संगठनमा हुँदा उनीहरूले मसालनिकट रक्तिम सांस्कृतिक परिवारमा आबद्ध भई स्थानीय स्तरमा विभिन्न सांस्कृतिक कार्यक्रम गर्थे । त्यतिबेला बाग्लुङ लगायत देशका थुप्रै जिल्लामा मसालको प्रभाव थियो

२०५२ मा माओवादीले जनयुद्धको घोषणा गरेपछि स्थानीय नेताले जनयुद्धका विषयमा बहस गर्न थाले । उनीहरूले जनयुद्धलाई दुई किसिमले परिभाषित गर्थे– एउटा तप्काले माओवादीको हिंसात्मक तरिका सही होइन भन्थ्यो । अर्को तप्काले भन्थ्यो– जनयुद्ध ठीक छ, वर्ग संघर्ष नै यही हो । राज्यसत्ता बन्दुकको नालबाट जन्माउनका लागि जनयुद्ध अनिवार्य हुन्छ । कर्ण भन्छन्, ‘जनयुद्धको भावी कार्यदिशा के हो, यसले कस्तो परिणाम ल्याउँछ भनी बुझ्ने मेरो बौद्धिक क्षमता विकास भइसकेको थिएन, तर स्थानीय अग्रज नेता सबैको विचार सुन्दै जाँदा जनयुद्ध ठीक हो, यसले क्रान्ति गर्छ भन्ने पर्‍यो ।’

karna bahadur gautam (6)

विश्व कम्युनिस्ट आन्दोलनका मोटामोटी कुरा कर्णले आफ्ना बुवा र घरमा आउने कम्युनिस्ट नेताबाट सानैदेखि सुन्दै आएका थिए । यसमाथि क्रान्तिसँग सम्बन्धित नेपालीमा अनुवादित केही उपन्यास (आमा, अध्यक्ष माओसँग, झुन्ड्याउँदा झुन्ड्याउँदै, ती दश दिन जब दुनियाँ डगमगायो आदि) उनले घरमै पढ्ने अवसर पाएका थिए । यी पुस्तक र घरायसी वातावरणका कारण कम्युनिस्ट विचारधाराप्रति उनको विश्वास बढ्दै थियो ।

‘अध्यक्ष माओसँग’ उपन्यासले उनीमा लालसेनाको एक किसिमको छाप पारेको थियो । एक दिन उनको घरमा जनमुक्ति सेना आइपुग्यो । कमब्याटमा सजिएका, निधारमा तारासहितको टोपी लगाएका, काँधमा बन्दुक, पछाडि झोला— उपन्यासका पात्रहरू उनले आफ्नो आँगनमा अवतरित भएको पाए । उनी भन्छन्, ‘मलाई पनि त्यस उपन्यासका जस्तै लालसेना बन्ने रहर जाग्यो, अनि म जनयुद्धमा हिँडेँ ।’ 

यता प्रतिक्रियावादी कित्तासँग पातलो मसाल लडिरहेकै थियो । अझ सशक्त लडाइँ माओवादीबाट हुने विश्वास उनले गरेका थिए । जनयुद्धमा हिँडेपछि उनको भेट चन्द्रविक्रम चन्द ‘वीरजंग’सँग भयो, वीरजंग नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु हुन्, उनी त्यतिबेला बाग्लुङ जिल्लाको पार्टी सेक्रेटरी थिए । वीरजंगसँगको भेटपछि उनी दृढ भए कि क्रान्तिका लागि जनयुद्धको विकल्प छैन । 

3-22

समाजमा विद्यमान जातीय र वर्गीय विभेदको भुक्तभोगी रहेका उनी भन्छन्, ‘सबै खालका शोषण र दमनको अन्त्य, उत्पीडित जनताको मुक्ति, नेपाली जनताको जीवनशैलीमा आमूल परिवर्तन जनयुद्धले गर्छ भन्ने मलाई भयो । समाजमा दुई वर्ग रहन्छ– शोषक र शोषित । शोषित वर्गले श्रम र सामूहिकतामा विश्वास गर्छ । शोषित वर्गले शोषक वर्गलाई जितेपछि नै समतामूलक र सद्भावयुक्त समाज हुन्छ भन्ने मलाई पहिलेदेखि नै लागिरहन्थ्यो ।’ 

०५६ मा उनी नेकपा माओवादीमा संगठित भएका हुन्, ०५७ देखि पूर्णकालीन भई भूमिगत बने । 

प्रतिभा

कर्णले सानैदेखि मीठो स्वरमा गाउँथे । मादल, बाँसुरी, हार्मोनियम, गितार आदि बजाउने गर्थे । २०५४ सालतिर, बेन्जो बाजा उनको हातमा परेको थियो । यो बाजा उनका फुपूका छोराले विदेशबाट ल्याएका थिए । दाहिने हातले तार हान्ने र देब्रे हातका औँलाले धुन झिक्ने यो बाजा बजाउन सहज हुँदैन । तर, उनले अभ्यास गर्दागर्दै यो बाजामा धुन झिक्न सक्ने भए । यो बाजाले उनलाई सुर र तालको अभ्यास गरायो । 

karna bahadur gautam (4)

माओवादीमा सुरुमा उनी एरिया कमिटीमा संगठित भएका थिए । त्यसपछि उनलाई जनमुक्ति सेनाको तालिम दिइयो । गायन–वादनप्रतिको उनको रुचि र प्रतिभा देखेर पार्टीले उनलाई जिल्लाको ‘काली गण्डकी सांस्कृतिक परिवार’को अध्यक्ष बनायो । यस जिम्मेवारीमा रहँदा उनले गीत बनाउने, गाउने, साथीहरूलाई सिकाउने गर्थे । ग्रामीण भेगमा सांस्कृतिक कार्यक्रममा उनीहरूको सांगीतिक प्रस्तुति भइरहन्थ्यो । यस्ता सांस्कृतिक कार्यक्रममा जनमुक्ति सेना, कलाकार र संगठनका साथीहरू सहभागी हुन्थे । 

गण्डकी परिवारमा दुई वर्ष नेतृत्व गरेपछि उनलाई पार्टीले क्षत्रीय स्तरको ‘प्रतिरोध सांस्कृतिक परिवार’मा सदस्य बनाएर पठायो । सांगीतिक हिसाबले यहाँ पनि उनको नेतृत्वदायी भूमिका रह्यो । २०६२ मा ‘पश्चिम सामना परिवार’ बन्यो, जसको नेतृत्वमा खुसिराम पाख्रिन थिए । कर्ण यसमा सदस्य भएर सांगीतिक अभियानमा लागे । शान्ति प्रक्रियापछि माइला लामाको नेतृत्वमा केन्द्रीय सामना परिवार बन्यो, कर्ण २०६७ सम्म सामना परिवारमा सक्रिय रहे । यसपछि जनसांस्कृतिक महासंघको सदस्य रहँदै यसैको मगरात प्रदेशको अध्यक्ष रहे । 

2-11

यी सांस्कृतिक परिवारमा रहँदा उनले थुप्रै गीत लेखे, संगीत भरे र गाए । जनयुद्धमा लागेदेखि हालसम्म उनले डेढ सयजति गीत लेखेका छन् । उनका गीत उनकै यात्रा र अनुभवसँग सम्बन्धित छन् । उनको पहिलो गीत थियो ः 

हिँडे बैनी जनयुद्ध लड्नलाई ।

गरिबको सुदिन ल्याउनलाई । 

यस्तै, उनको अर्को गीत छ : 

देशको मुहार फेर्न सक्ने क्रान्तिको सिपाही हुँ म । 

तातोरातो आगो पोख्ने अजम्बरी झिल्का हुँ म ।

यी गीतमार्फत उनले आफ्नो यात्राप्रति, जनयुद्धप्रति आत्मविश्वास प्रकट गरेको बुझिन्छ । उनी भन्छन्, ‘हो, म जनयुद्ध लडेँ भने गरिबको सुदिन आउँछ, मैले देशको मुहार फेर्न सक्छु भन्ने मलाई आत्मविश्वास थियो ।’ 

‘देशको मुहार फेर्न सक्ने’ बोलको गीतमा एउटा अन्तरा छ–

ढुंगाको मुटु मेरो फलामे छ छाती,

बम–बारुदको गिदी मेरो राइफल हो साथी ।

त्यतिबेला कुन मुडामा यी शब्द कोरेँ भन्ने उनैलाई थाहा छैन, तर अहिले सम्झँदा उनी छक्क पर्छन् । ‘अहिले सम्झँदा लाग्छ, म त अस्त्रमा बदलिइसकेको रहेछु,’ उनी भन्छन्, ‘गाउँगाउँमा यो गीत प्रस्तुत गर्दा साथीहरू हामीप्रति आकर्षित हुन्थे । यो र यस्ता अरु साथीले लेखेका गीतले हामीलाई जनतासँग, जनताकै घर–खेतबारीमा रहेर क्रान्ति गर्न सहज बनायो ।’ 

उनीहरू घटनाजन्य, परिस्थितिजन्य गीतको पनि आशुरचना गर्थे । बाग्लुङ ताराखोलाका भीम घर्ती ‘दारुण’ले सहादत प्राप्त गरे । सेनासँगको मुठभेटमा विभत्स किसिमले उनको हत्या भएको थियो । विद्यार्थी नेता तथा गाउँ जनसरकार (गाजस) प्रमुख रहेका दारुण त्यस क्षेत्रका प्रिय नेता थिए । उनको सहादतले त्यस क्षेत्रमा एक खालको सन्नाटा र विक्षिप्तता छाएको थियो । स्थानीयहरू उनको सहादतप्रति गहिरो समवेदनाको भाव प्रकट गर्थे । 

दारुणकै गाउँको एउटा स्कुलमा श्रद्धाञ्जलीसभा गरिएको थियो । त्यतिबेला कर्णले एउटा अपेरा (गीतिनाटक) बनाएर प्रस्तुत गरे । त्यो हेरेर त्यहाँ उपस्थित कसैले आँसु थाम्न सकेनन् । 

बेनी आक्रमणपछि जनमुक्ति सेना फर्किएको थियो । ताराखोलाभन्दा माथि एउटा मपेस भन्ने गाउँ छ, त्यहाँ शाही सेनासँग मुठभेड हुँदा उनले आफ्ना साथी रोशन थापालाई गुमाए । सुरुमा उनीहरूले रोशनको शवलाई अलिअलि माटो खोस्रेर पुरेर हिँडेका थिए । पछि त्यहाँका स्थानीय एकजुट भएर पार्टी परम्परा अनुसार उनको दाहसंस्कार गरियो । यस्ता दर्दनाक अनुभूति उनीसँग थुप्रै छन् । यिनै अनुभूति र विचारको उत्कर्ष हो, उनको गीत– टुटफुट खण्डित कुरा नगर ।

जनयुद्धकालमा उनका गीत स्थानीय प्रविधिमा रेकर्ड भएर रेडियो जनगणतन्त्रबाट प्रसारण पनि हुन्थे । शान्तिप्रक्रियापछि उनीहरूले सामूहिक सिर्जना समेटेर एल्बम निकाल्न थाले– जनविद्रोह (२०६३), जनभाका–२०६४, विद्रोहको युग, परिवर्तित युगसँगै–०६५ ‘रक्तक्रान्तिका गीतहरू’, क्रान्ति, कमरेड (यसमा समेटिएका ६ वटै गीतमा कर्णको शब्द, संगीत र स्वर रहेको छ) आदि । 

विभिन्न एल्बममा गरी उनले आजसम्म डेढ सय जति गीतमा संगीत दिएका छन् भने चार दर्जनजति गीतमा स्वर । शिवजी लामिछाने निर्देशित ‘लालसलाम’ फिल्मको गीतमा पनि उनको संगीत रहेको छ । 

6-shapatha

यिनै काम, अनुभव र योगदानको मूल्यांकन गरेरै आज उनलाई पार्टीले संगीत तथा नाट्य प्रतिष्ठानमा पठाएको छ । यहाँ रहेर के गर्ने सोच छ त उनको ? यसको जवाफ दिनुअघि उनी अहिलेको संगीत बजारको विश्लेषण गर्छन्, ‘अहिले बजारमा आइरहेका गीत ठोस नभई तरल छन्, जसको उल्टो–सुल्टो दुवै अर्थ लाग्छ । एउटै गीतमा प्रेमको विम्ब छ, त्यसैमा छाडा अर्थ लाग्ने शब्द पनि छन्, राष्ट्रभावको अर्थ पनि आउँछन् । टुक्रे किसिमको, व्यक्तिका रुचि झल्काउने गीतले अचेल बजार लिएका छन् । ठोस शैलीका वैचारिक गीतको प्रवद्र्धनमा काम गर्न सकिन्छ कि भन्नेमा छौँ ।’ 

उनको बुझाइमा, अहिले मौलिक गीत–संगीतलाई मिश्रित (पाश्चात्य शैली मिलाउनु), विकृत र भ्रमित बनाइएको छ । यसले हाम्रो मौलिकतालाई मारिरहेको छ । यो प्रवृत्तिले मौलिक संगीत वा लय लोप हुँदै जाने र त्यसमै टेकेर बनाइएका नयाँ गीत भ्रष्टीकरण हुँदै जाने खतरा छ । ‘नेपालका मौलिक गीत अर्थात् लोकसंगीतलाई प्रवद्र्धनका लागि केही गर्न सकिन्छ भन्नेमा म छु, हेरौँ,’ उनी भन्छन्, ‘अहिले हामी कसरी के कति काम गर्न सकिन्छ भनेर छलफलमै छौँ । ऐन, कार्यविधिहरू हेर्दैछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप