शुक्रबार, १८ फागुन २०८०
ताजा लोकप्रिय
स्वास्थ्य

शिशुको शल्यक्रियाबारे भ्रम र यथार्थ

मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । गर्भावस्था अनि जन्मिसकेपछि शिशुको स्वास्थ्यमा विभिन्न खालका समस्या देखा पर्छन् । त्यस्ता नवजात शिशु तथा बालबालिकालाई कतिपय अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुन्छ । तर अभिभावकहरु साना बालबालिकाको शल्यक्रिया गर्न डराउने गर्दछन् ।

कस्तो अवस्थामा नवजात शिशु, बालबालिकाको शल्यक्रिया गर्नुपर्छ ? बच्चाको शल्यक्रिया गर्नु कति चुनौतीपूर्ण हुन्छ ? यिनै सन्दर्भमा कान्ति बाल अस्पतालका पूर्व निर्देशक तथा इसान बाल तथा महिला अस्पतालका कार्यकारी निर्देशक बाल शल्य चिकित्सक डाक्टर रामानन्दप्रसाद चौधरीसँग रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ ।

प्रस्तुत छ, डा. चौधरीसँग रातोपाटीकर्मी माया श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश–

बाल चिकित्सकले कति वर्षसम्मका बालबालिकालाई हेर्छन् ?

बाल चिकित्सा विभाग एकदमै जटिल खालको विषय हो । नवजात शिशुदेखि लिएर १८ वर्षसम्मका उमेरमा गर्नुपर्ने शल्यक्रिया बाल शल्य चिकित्सक विभागले हेर्छ । जन्मभन्दा पहिला नै ‘प्रिन्याटल डाइग्नोसिस ट्रिटमेन्ट’ पनि यही विभागभित्र पर्छ ।

अभिभावक किन बालबालिकाको शल्यक्रिया गर्न डराउँछन् ?

भर्खर जन्मेको बच्चा दुईदेखि तीन/चार केजीको हुन्छ । ती बच्चाको शल्यक्रिया गर्नुपर्दा कसरी गर्ने भनेर यसलाई चुनौतीको रुपमा लिइन्छ । त्यसैले अन्य उमेर समूहमा गरिने शल्यक्रियाभन्दा नवजात शिशु, बालबालिकाको सन्दर्भमा अभिभावक त्रसित हुने गर्छन् । कतै बच्चा तलमाथि हुने त होइन भनेर डराउने गर्छन् ।

बालबालिकाको लागि शल्यक्रिया गर्न राम्रो शल्य चिकित्सक भएरमात्रै हुँदैन, राम्रो टिमवर्क हुनुपर्छ । त्यसका लागि नर्सिङ पेडियाट्रिक समूह पनि आवश्यक पर्छ । त्यस्तै, बच्चालाई सर्जरी गर्नुभन्दा पहिला वा सर्जरी गरिसकेपछि सघन उपचार कक्ष एनआइसीयू, अलि ठूलो बच्चालाई राख्ने पेडियाट्रिक इन्टेन्सिप केयर यूनिट (पिआइसीयू)को समेत व्यवस्था हुनपर्छ । त्यस्तो व्यवस्था गर्न बच्चासम्बन्धी अनुभव भएको डाक्टर हुनुपर्छ । त्यस्तो अवस्थामा नवजात शिशु, शिशु, बालबालिकाको शल्यक्रिया अनुभवको आधारमा गरिन्छ । यद्यपि बच्चाको अप्रेशन गर्नु धेरै चुनौतीपूर्ण नै मानिन्छ ।

शिशु तथा बालबालिकाको शल्यक्रिया खतरापूर्ण हुन्छ ?

अभिभावकहरू नवजात शिशुदेखि लिएर अन्य बालबालिकालाई सर्जरी गर्न डराउने गर्छन् । शिशुको अवस्था हेरेर शल्यक्रिया गर्नुपर्ने छ तर, अभिभावकहरू डराउने गर्छन् । यद्यपि बाल शल्य चिकित्सक अनुभवी र सोही अनुसारको शिक्षा आर्जन गरेका हुन्छन् । वयस्कभन्दा बाल सर्जरी फरक तरिकाले गरिन्छ । बालबालिकाको शारीरिक, मानसिक बनावट र उनीहरूको शरीर भित्रको विभिन्न कुरा फरक हुन्छ । ‘चिल्ड्रेन आर नट मिनी  एडल्ट्स’ । त्यसैले धेरै चुनौतीपूर्ण हो ।

नवजात शिशुको सर्जरी गर्न चिकित्सकले सुझाव दिँदा अभिभावकले शिशु अलि ठूलो भएपछि अप्रेशन गर्ने भनेर जिद्दी गरेर बसेको पाइन्छ । यस्तो गर्दा भविष्यमा समस्या हुँदैन ? ढिला सर्जरी गर्दा के हुन्छ ?

नवजात शिशुलाई अप्रेशन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुँदा पनि अभिभावकहरू हत्तपत्त तयार हुँदैनन् । सानो शिशुको अप्रेशन भनेपछि अभिभावकहरू डराउँछन् । यति सानो बच्चालाई कसरी शल्यक्रिया गर्ने भनेर प्रश्न गर्छन् । शिशुलाई शल्यक्रिया नगरी हुँदैन । त्यस्तो अवस्थामा अभिभावकहरूलाई लामो समयसम्म परामर्श गरेपछि बल्ल अप्रेशन गर्न तयार हुन्छन् ।

शल्यक्रियाका विषयमा पोख्त भइ अनुभव हासिल गरेको टिम शल्य चिकित्सकसँग हुन्छ । एउटाले मात्रै होइन, टिमले काम गर्ने हो । नवजात शिशुको वा अलि ठूलो बच्चाको सर्जरी गर्दा  सूक्ष्म रुपमा ध्यान दिएर काम गर्नुपर्छ ।

नवजात शिशुको शल्यक्रिया तत्काल गर्नुपर्छ । कसैको आन्द्रा जोडिएको, श्वास नली जोडिएको हुन्छ । दिसा गर्ने प्वाल नभएको, पिसाव गर्ने ठाउँ राम्रोसँग नबनेको, अलि ठूलो बच्चाको पेटमा ट्यूमर पनि हुन्छ । बच्चाको मिर्गौलामा पानी जम्ने, पत्थरी पर्ने, अपेन्डिस ठूलो उमेर समूहलाई मात्रै हुन्छ भनिन्छ । तर, साना बच्चाहरूलाई पनि हुने गर्छ । बच्चामा हुने एपेन्डिससाइटिस पत्ता लगाउन गाह्रो हुन्छ । एपेन्डिससाटिस कहिलेकाहीँ फुटेको अवस्थामा पनि बच्चालाई अस्पताल लिएर आउने गर्छन् । अप्रेशनभन्दा अघि सबैकुरा राम्रोसँग बुझाइएको छ भने अभिभावकले त्यस कुरालाई झेल्न सक्छन् । अप्रेशन पश्चात बालबालिकालाई राम्रोसँग ख्याल पनि गर्छन् । 

गर्भावस्थामै शिशुको स्वास्थ्य समस्याबारे थाहा पाउन सकिँदैन ?

गर्भावस्थाको बीस हप्तापछि अल्ट्रासाउन्ड गरेको खण्डमा भावी दिनमा हुन सक्ने सम्भावनाहरू पहिला नै थाहा पाउन सकिन्छ । त्यो अवस्थामा पहिल्यै बच्चाको अवस्थाबारे जानकारी भएका अभिभावक मानसिक रुपमा तयारी अवस्थामा रहन्छन् । जस्तै, गर्भावस्थामा आमाको पेटभित्र बच्चाको आन्द्रामा प्वाल रहेको थाहा हुनासाथ त्यस अवस्थामा आमा र बच्चाको ख्याल गर्न सकिन्छ ।

गर्भावस्थामै शिशुमा स्वास्थ्य समस्या देखिएमा अप्रेशन अनिवार्य  गर्नुपर्छ ?

गर्भावस्थामा शिशुमा देखिएका सबै समस्यामा सर्जरी नै गर्नुपर्छ भन्ने जरुरी हुँदैन । गर्भावस्थामा देखिएका कुनै समस्या बच्चा जन्मिएपछि आफै पनि निको हुन्छ । कुनै बच्चा जन्मिसकेपछि विकलाङ्ग हुने अवस्था भएमा पहिल्यै बच्चाको बारेमा जानकारी दिइन्छ । त्यस्तो अवस्था गर्भावस्थालाई निरन्तरता दिने कि नदिने भन्नेबारे अभिभावकहरूलाई निर्णय लिन सहज हुन्छ ।

शिशु जन्मेपछि कस्ता लक्षण देखिएमा अप्रेशन गर्नुपर्ने अवस्था हो भनेर थाहा पाउन सकिन्छ ? 

कतिपय कुरा गर्भावस्थाको समयमा अल्ट्रासाउड गरेर थाहा पाउने अवस्था नहुन सक्छ । कहिलेकाहीँ मेडिकली रुपमा डिटेक्ट नभएर थाहा नहुन सक्छ । जस्तै जन्मिसकेपछि खाने नली र श्वास नली जोडिँदा तत्काल थाहा हुँदैन । तर, दुध खाने बेलामा शिशुले दुध खान सक्दैन, सर्किन्छ ।

बच्चा जन्मिएको २४ घण्टासम्म दिसा गरेन, हरियो दिसा गरेमा, शिशुको शरीरमा कुनै डल्ला, गाँठो देखिएमा, पेटको कुनै भागमा सारो भाग देखिएमा, कसैको हातखुट्टा, आँैला जोडिएमा, हातखुट्टाको औँला ६ वटा भएमा, कसैको पिसाव नभएमा विभिन्न समस्या छ भनेर बुझ्न सकिन्छ ।

गर्भावस्थादेखि नै नियमित रुपमा जाँच गराउनुपर्छ । गर्भावस्थामै शिशुमा समस्या भएको खण्डमा आमासँगै बच्चाको स्याहार र उपचारमा विशेष ख्याल गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया