सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

रूपकको गायन यात्रा

शनिबार, ०४ चैत २०७९, १३ : २६
शनिबार, ०४ चैत २०७९

एउटा गायकले गीत गाउन पाउनु नै श्वास फेर्न पाउनुजस्तै हो । गायक रूपक डोटेल यस्तै भाव व्यक्त गर्छन्, ‘मेरो लागि संगीत नै जीवन हो र जिउने आधार हो, संगीतले नै मेरो जीवन, घर–व्यवहार सबै चलिरहेको छ ।’

विगत झन्डै दुई दशकदेखि गीत–संगीतलाई पेसा बनाउँदै आएका रूपकको स्वरमा आजसम्म पाँच सयजति गीत रेकर्ड भएका छन् । यो संख्या सानो होइन । ‘अहिले आएर मलाई के लाग्दैछ भने धेरै गीत गर्न आवश्यक छैन,’ उनी भन्छन्, ‘वर्षमा तीन–चारवटा गुणस्तरीय गीत ल्याउन सके पुग्छ ।’

भर्खरै मात्र मनोज चौलागाईंको संगीत, सरिता सापकोटाका शब्द र रूपकको स्वर रहेको गीत भर्खरै युट्युबाट सार्वजनिक भएको छ– 

जाने भए जाऊ माया जाने भए जाऊ,

यादहरू लैजाऊ फर्केर नआऊ ।

रूपक यतिखेर यही गीतको प्रचारप्रसारमा छन् । छाडेर जान खोज्ने मायालुलाई घुर्की देखाउने भाव बोकेका यस गीतका शब्द रूपकको स्वरमा सुन्दा एक खालको दर्द र दरार अनुभूत हुन्छ । 

मैले सबै दिएँ तर तिमीले धोका दियौ, घात ग¥यौ भन्ने किसिमले प्रेमी वा प्रेमिकालाई आरोप लगाउने शब्द हामीकहाँ बढी चल्छन् । तर यस्तो लाग्छ– रूपकको यति खुलेको आवाजमा प्रेम, क्षमा, सद्भाव, समन्यायका शब्द सुहाउँछन् । 

उनका चलेका गीतमध्ये पर्छन्– ‘नुनढिकीको स्याउली’, ‘ए माइली लाहुरेले माया मा¥यो नभन’, ‘सपनी राम्रो देखिनँ’, ‘मेरो बोली सुन्दा तिम्रो मन दुख्छ भने’, ‘वनकी चरी के भन्छे के काफल खाम् भन्छे’ आदि थुप्रै छन् । 

रूपकलाई भने आफूले गाएकामध्ये बजारमा त्यति नचलेको ‘बग्दै जाँदा सुक्दै जाने खोला रैछ जिन्दगी यो’ बोलको गीत विशेष मन पर्छ । कुनै गीत बजारमा चल्दैनन्, तर गायकले त्यसलाई आत्म सन्तुष्टिका लागि पनि गाइरहन्छ । 

333539908_1502090373648606_1756477642041018198_n

रूपकको गायन यात्रा

स्याङ्जाको वालिङमा हुर्केका रूपकले स्कुल पढ्दा नेपाली र हिन्दी फिल्म निकै हेरे । त्यतिबेला वालिङको हलमा लाग्ने फिल्म सायद उनले छुटाएनन् । फिल्ममा गीतका दृश्य र गायकीले उनको ध्यान खिच्थ्यो । आफ्नो मनमा बसेका गीत उनले साथीहरूको माझमा गुनगुनाउथे । साथीहरू भन्थे– कस्तो दुरुस्तै यार ! साथीहरूको प्रशंसाले पनि गायनप्रति उनको मोह बढ्दै गयो ।  

स्कुलमा हाफ छुट्टीमा वा कहिलेकाहीँ शिक्षक नआएर पढाइ नभएका बेला उनलाई साथीहरूले गाउनका लागि हौस्याउँथे । यसले गर्दा उनले नयाँ–पुराना गीत अभ्यास गरिरहनुपथ्र्यो । नारायणगोपाल, भक्तराज आचार्य लगायत पुराना गायकका स्वर उनले सुन्दै गए । 

वालिङको पायोनियर्स स्कुलमा ६–७ कक्षा पढ्दै गर्दा उनलाई गाउन सक्छु जस्तो लागेको थियो र स्कुलमा हुने सांगीतिक कार्यक्रममा गाउन थाले । एकपटक सरस्वती पूजाको अवसरमा स्कुलमा सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो । विद्यार्थीसँगै वरपरका थुप्रै मान्छे कार्यक्रम हेर्न जम्मा भएका थिए । त्यतिबेला रूपकले रामकृष्ण ढकालको स्वर रहेको ‘हिरा काट्ने हिरैमा राखेर’ बोलको गीत गाए, ट्र्याकमा । यो गीत भर्खर मात्रै बजारमा आएको थियो, क्यासेटको पछाडितिर ‘हिरा काट्ने’को ट्र्याक पनि थियो । 

‘हाम्रो स्कुलको कार्यक्रममा गाउन जो–कोहीले पाउँदैनथे । त्यहाँ कहिलेकाहीँ पोखराबाट ब्यान्ड नै गएर गाउँथे,’ रूपक भन्छन्, ‘रामकृष्णदाइको हिरा काट्ने बोलको गीत गाएपछि म वालिङ र वरपरको क्षेत्रमा चर्चितजस्तै भएँ, गायक नै हुँजस्तो फिल पनि भयो मलाई ।’ 

स्कुलका प्रिन्सिपल (जलेश्वर पाण्डे)को उनलाई सुझाव थियो– एसएसलीपछि तिमी म्युजिक पढ । तर, एसएलसीको रिजल्ट आउनु ठीकअघि उनका बुवा खसे, उनले सजाएको रंगीन सपनाको संसारमा कालो छाया प¥यो, उनी मानसिक रूपमा केही विक्षिप्त हुन पुगे । पढेर डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्ने समाजको मनोविज्ञानले उनलाई साइन्स पढ्न प्रेरित ग¥यो । ‘काठमाडौं आएर नेपाल साइन्स कलेज’मा भर्ना भएँ । तर पहिलो वर्षको परीक्षा दिँदादिँदै मलाई लाग्यो– यो मेरो बाटो होइन, मैले त संगीत पढ्नुपर्छ,’ रूपक भन्छन्, ‘त्यसपछि आरआर क्याम्पसमा संगीत लिएर पढ्न थालेँ ।’ 

त्यतिबेला एफएम रेडियोले स्टुडियोमै गायन प्रतिस्पर्धा राखेका हुन्थे, रूपकले त्यस्ता प्रतिस्पर्धामा भाग लिन थाले । आइए पहिलो वर्षमा पढ्दै गर्दा इमेज एफएममा गाएर उनले पुरस्कार स्वरूप ‘मधुरिमा कला केन्द्र’मा ६ महिना संगीत सिक्ने अवसर पाए । त्यहाँ सरगम सिक्दै गर्दा उनलाई लाग्यो– सरकारी कलेजमा मात्रै पढेर नपुग्ने रहेछ । आफ्नो स्वरलाई थप माझ्न उनले मधुरिमामा दुई वर्ष संगीत पढे । 

कलेज र कला केन्द्रमा गरिरहेको स्वराभ्यासले उनको स्वर माझिँदै थियो, अझ सशक्त ढंगले संगीत सिक्ने रहर जागेर उनी बम्बई पुगे । बम्बईको एक इन्स्टिच्युटमा एक महिना पढेपछि उनी बिरामी परे, आराम गर्नका लागि काठमाडौं फर्कंदा आरआर क्याम्पसमा भर्ना भए, बम्बईको पढाइ रोकियो । 

०६१ सालमा नेपाल टेलिभिजनले पहिलो ‘नेपाली तारा’ प्रतियोगिता ल्यायो । त्यसमा भाग लिएर तेस्रो भएपछि उनको सांगीतिक डुंगा यसरी अगाडि बढ्यो, अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन । नेपाली तारामा टप टेनमा पर्नेहरूको एल्बम आयो, सामूहिक रूपमा त्यो उनको पहिलो एल्बम थियो । त्यसको लगत्तै (२०६२) मा उनले गुराँस एल्बम ल्याए । आठवटा गीत रहेको यस एल्बमका दुई गीत (नुनढिकीको स्याउली र ए माइली लाहुरेले माया मा¥यो नभन)लाई श्रोताले मन पराए । यसपछि उनले ‘उमंग’, ‘उल्लास’, ‘सानू’ र ‘लभ गुरु’ एल्बम बजारमा ल्याए । फिल्म र फुटकर गरी हालसम्म उनले पाँच सय गीतमा स्वर दिइसकेका छन् । 

नेपाली संगीतप्रेमीले रूपकलाई रुचाएका छन् । ‘सुरुदेखि नै एल्बम निकाल्न पनि मैले त्यति लगानी गर्नुपरेन, संयोगवश मलाई अफर नै आउँथ्यो,’ उनी भन्छन्, ‘सुरुवाती समयदेखि दर्शक–श्रोताको मायामा कुनै कमी छैन । वश, चाहना यही छ– गीत गाइरहन पाऊँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप