बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मर्जरको मुख्य उद्देश्य पुँजी वृद्धि र सबलीकरण नै हो : अध्यक्ष सिलवाल

बिहीबार, ०९ चैत २०७९, १९ : २७
बिहीबार, ०९ चैत २०७९

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा आम सर्वसाधारणको विश्वास बढाउनकै लागि मर्जरको नीति लिनुपरेको बताएका छन् । बिहीबार काठमाडौँ आयोजित सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबारको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । 

अध्यक्ष सिलवालले भने, 'नेपाली बीमा क्षेत्र विश्वासिलो छैन । सक्षम र सबल पनि छैन । हो,  यसै कारण हामीले मर्जरको नीति लिनुपरेको हो ।'

तर, मर्जर नै समस्याको समाधान नभएको बताउँदै अध्यक्ष सिलवालले पहिला पुँजी बढाएर बीमा कम्पनी र समग्र बीमा क्षेत्रकै क्षमता वृद्धि गर्न प्राधिकरण निरन्तर लागि रहेको बताए  ।

यस्तै धितोपत्र बजारको नियामक धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले मर्जरले सेवाग्राहीको लागत घट्नुपर्ने बताए ।

'पुँजी वृद्धि, क्षमता वृद्धिको कुरा त छँदैछ महत्त्वपूर्ण कुरा मर्जरले सेवाग्राहीको लागत घटाउनुपर्‍यो । जतिसक्दो कम मूल्यमा बढी लाभ पाउनुपर्‍यो' हमालले भने । 

पछिल्लो समय वित्तीय क्षेत्रमा समस्या आएको बारे चासो राख्दै अध्यक्ष हमालले कोभिडपछि वित्त कम्पनीहरूले लगानी गर्न नपाउँदा थुप्रिएको तरलता एकैपटक अन्धाधुन्ध लगानी गर्दा अझ बढी समस्या आएको बताए । 

बिहीबारदेखि सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स ओैपचारिक रूपमै एकीकृत कारोबारमा गएका छन् । विगत ९ महिनादेखि मर्जरका लागि गृहकार्य गरिरहेका दुई कम्पनीबीच अन्ततः मर्जर सफल भएको हो । योसँगै मर्जरपछिको बीमा कम्पनीको नाम सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स भएको । कम्पनीलाई आजै प्राधिकरणले मर्जरको लाइसेन्स प्रदान गरेको छ । 

मर्जरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड पुगेको छ भने जीवन बीमा कोष ८ अर्ब ३४ करोड पुगेको छ ।

यस्तै कम्पनीको रिजर्भ कोष ७८ करोड, सेयर पुँजी ४ अर्ब ९६ करोड पुगेको छ भने कम्पनीको कूल लगानी १३ अर्ब ५० करोड पुगेको छ । मर्जरपछि कम्पनीको बीमा प्रिमियम १७ अर्ब ५५ करोड रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप