बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा माओवादी संसदीय दलका पदाधिकारी छान्न सकस

शुक्रबार, १० चैत २०७९, १४ : ४५
शुक्रबार, १० चैत २०७९

बुटवल । लुम्बिनी प्रदेशमा माओवादीभित्रको विवादले संसदीय समितिका पदाधिकारी छनौट गर्न सकस देखिएको छ । अहिले प्रदेशसभामा माओवादी संसदीय दलको नेता जोखबहादुर महरा छन् । आन्तरिक विवादकै कारण माओवादी संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक चयन हुन सकेको छैन । माओवादी भित्रको विवादले कारणले कृष्णा केसी (नमुना)ले मन्त्रीको शपथ ग्रहण गरे पनि अझैसम्म मन्त्रालय आएर कार्यभार सम्हालेकी छैनन् । उनले आफूलाई उपयुक्त मन्त्रालय प्रदान गर्न पार्टी नेतृत्व चुकेको भन्दै असन्तुष्टि जनाउँदै आएकी छन् ।

यस्तै माओवादी संसदीय दलका नेता जोखबहादुर महराको कार्यशैलीप्रति प्रश्न उठाउँदै बहुमत सांसदले संसदीय दलको नेताबाट हटाउन मागसहित पार्टीको प्रदेश अध्यक्ष र केन्द्रीय समितिमा हालै पत्र पठाएका छन् । महराले भने यसबारे सामान्य छलफल मात्रै भएको बताए । लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल गर्न बिहीबार संसदीय दलको बैठक बोलाए पनि कुनै निर्णयमा पुग्न सकेन । माओवादीको निर्णय कुरेर बसेका साना दलहरू पनि माओवादीभित्रको विवादले ठोस निर्णय नआउँदा अलमलमा परेका छन् ।

लुम्बिनी प्रदेशसभामा १० जना सांसद् रहेको माओवादी केन्द्रमा हालै स्वतन्त्र रूपमा चुनाव जितेका रुकुमका सरुल पुन समेत प्रवेश गरेका छन् । तर प्रदेशसभामा त्यो विवरण अद्यावधिक नभएका कारण माओवादी केन्द्रको सांसदमा उनी समावेश भइसकेका छैनन् । माओवादी संसदीय दलका नेता महराले सरकारका विषयमा केन्द्रबाट टुङ्गिएपछि मात्रै लुम्बिनी प्रदेशमा समर्थन लिने विषयमा निर्णय गर्ने बताए ।

माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक लगायत संसदीय समितिका पदाधिकारी पनि प्याकेजमा टुङ्ग्याउने तयारी भएकाले केही ढिला भएको बताए । माओवादी केन्द्रका संसदीय दलको नेता महराको पक्षमा चार सांसदमात्र रहेको बताइन्छ । बहुमत सांसद उनीप्रति असन्तुष्ट देखिएपछि पार्टी संसदीय दलको बैठकले समेत ठोस निर्णय गर्न नसकेको स्रोत बताउँछ ।

माओवादी केन्द्रका केही सांसदले वर्तमान सरकारलाई नै निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् भने केहीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अडान लिएका छन् । पार्टीभित्रको विवादकै कारण महराले ठोस निर्णय लिन नसकेको अन्य दलहरुको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप