सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

सरकार पुनर्गठनमा केन्द्रको निर्देशन कुर्दै मुख्यमन्त्री यादव

शनिबार, ११ चैत २०७९, १० : ३९
शनिबार, ११ चैत २०७९

जनकपुरधाम । सङ्घीय सरकारको समीकरण बदलिएपछि त्यसको असर अन्य प्रदेशमा देखिए पनि मधेस प्रदेश सरकारमा हालसम्म देखिएको छैन ।

जसपाको नेतृत्व रहेको मधेस प्रदेश सरकार पनि पुनर्गठन हुने सम्भावना प्रबल भए पनि सङ्घमा सत्ता गठबन्धनले सत्ता समीकरणबारे ठोस् निष्कर्षमा पुग्न नसकेपछि प्रदेश सरकार केन्द्रको निर्देशन कुरेर बसिरहेको छ ।

'सरकार फेरबदल सङ्घमा सत्ता गठबन्धनले जे गर्छ त्यही अनुसार हुने हो' मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव भन्छन्,–‘सरकार पुनर्गठनबारे अहिलेसम्म केही निर्देशन आएको छैन । पहिले पनि सङ्घमा सत्ता गठबन्धनले गरेको निर्णय अनुसारै प्रदेशमा सरकार बनेको छ । अहिले पनि त्यही हुन्छ ।’

पुस १० मा माओवादी एमालेको गठबन्धन हुँदा प्रदेशमा पाँच वर्ष जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने गरी सहमति भएको थियो । तर, राष्ट्रपतिको निर्वाचनमा कांग्रेस माओवादीको गठबन्धन बनेपछि प्रदेशमा कांग्रेसले नेतृत्व दाबी गरिरहेको छ ।

१० दल सहभागी मधेस प्रदेशमा कांग्रेस २२ सांसदसहित दोस्रो ठुलो दल रहेको छ ।  

'सङ्घमा कांग्रेस–माओवादीसहित बनेको नयाँ १० दलीय गठबन्धनबाट मधेस प्रदेशको नेतृत्व नेपाली कांग्रेसले पाउनुपर्छ' नेपाली काँग्रेस मधेस प्रदेशका दलका नेता कृष्णप्रसाद यादवले भने,–‘नयाँ गठबन्धन बनेसँगै प्रदेशमा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस रहेको हुँदा सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्छ ।’

'एमाले माओवादीसहितको गठबन्धनमा भएको सहमति अनुसार जनता समाजवादी पार्टी(जसपा) नेपालले नेतृत्व पाएको थियो' उनले भने,–‘सोही सहमतिले यस गठबन्धनमा पनि निरन्तरता पाउँछ भन्ने छैन ।’

मधेस प्रदेशमा एक दुई दिनमै सरकार पुनर्गठन हुने उनले बताए । केन्द्रबाट ठोस निर्णय नआउँदा प्रदेश सरकार पुनर्गठन हुन नसकेको बताए ।

प्रदेशमा कांग्रेसले नेतृत्व पाउनुपर्ने दाबी गर्दा जसपाले एमालेलाई सरकारबाट बाहिरिन रोकिरहेको छ ।

'मुख्यमन्त्री ज्यूसँग नियमित भेटघाट भइरहेकै छ, छलफल पनि हुन्छ नै, बुधबार नै राजीनामा दिन्छु भनेर उहाँलाई भनेको थिएँ तर, उहाँले राजीनामा त दिनु नै छ, दुई चार दिन बस्नुस् न भन्नुभयो' भौतिक विकास पूर्वाधार मन्त्रीसमेत रहेका एमाले दलका नेता सरोजकुमार यादव भन्छन्,–‘नेपाली काँग्रेसले प्रदेशमा मुख्यमन्त्री दाबी गर्दा जसपालाई पनि अप्ठ्यारो भएको छ ।’

प्रदेशमा सभामुख एमालेको छ । त्यसै गरी सरकारमा एमालेको चार मन्त्री र एक राज्यमन्त्री छन् ।

एमालेका मन्त्रीहरूले समर्थन फिर्ता लिँदै बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकमा मुख्यमन्त्रीलाई राजीनामा बुझाउने योजना बनाएका थिए । तर, मुख्यमन्त्री यादवले नै उनीहरूलाई राजीनामा बुझाउन रोकेपछि सरकारमा एमाले हालसम्म कायम रहेको छ ।

यता माओवादी केन्द्र मधेस प्रदेश दलका नेता भरतप्रसाद साहले सङ्घमा भएकै सहमति प्रदेशमा कार्यान्वयन हुने बताए । 

मधेसमा १३ सांसदसहित सरकारमा सहभागी जनमतले मधेस प्रदेश सरकारको दाेश्रो कार्यकालको नेतृत्व गर्ने पर्खाइमा छन् । अहिलेको गठबन्धनमा जनमतले पनि दाबी गरिरहेको छ । १० दलीय गठबन्धनमा जनमत तेस्रो ठुलो दल छ ।

'शीर्ष नेतृत्वहरू यस विषयमा के गरिरहनुभएको छ त्यो थाहा भएन, औपचारिक रूपमा केही आएको वा सुनिएको छैन' कृषि राज्यमन्त्री समेत रहेका जनमत सांसद सञ्जय कुमार यादवले भने,–‘तर अबको नयाँ गठबन्धनमा सरकारको नेतृत्व जनमतले गर्नुपर्ने हाम्रो माग छ ।’

'यहाँ विश्वासको वातावरण छैन', राज्यमन्त्री यादवले भने,–‘दलका नेताहरूसँगको छलफलमा काँग्रेसलाई पनि भनेको छु अब सरकारको नेतृत्व जनमतले पाउनुपर्छ । त्यतिखेर कांग्रेस पनि सकारात्मक थियो । पहिलो चरणमा जनमतलाई दिऔँ भनेको थियो । तर अहिले कांग्रेसले पनि दाबी गर्दैछ भन्ने सुनेको छु ।’

यस प्रदेशमा एमालेको २४, काँग्रेसको २२, जसपाको १९, जनतम १३, लोसपा ९, माओवादी ९, नेकपा एकीकृत समाजवादी सात, नागरिक उन्मुक्ति र राप्रपाको एक÷एक तथा स्वतन्त्र सांसद एकजना छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप